Check Mail Feedback

अन्तर्क्रिया कार्यक्रम

अन्तर्क्रिया कार्यक्रम

काठमाडौँ – नेपाल बालसाहित्य समाज, काठमाडौँ, नेपालको आयोजनामा बालसाहित्य प्रकाशन ः अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । असोज १ गते पद्मकन्या कलेज, काठमाडौँको सगरमाथाहलमा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले आफूले पढेको पहिलो पुस्तकका बारेमा सुनाएर उद्घाटन गर्नु भएको थियो ।

बालसाहित्य अपरिहार्य कुरा हो । बालसाहित्य बिना बालबालिकाहरुको सुनाइ, बोलाइ, पढाइ तथा लेखाइ सिपको समग्र विकास हुन सक्दैन । यसैले बालसाहित्यको ठुलो महत्व छ र यस क्षेत्रमा ठुलो अवसर पनि छ । तर नेपालको अवस्थामा भने अवसरहरुका साथसाथै चुनौतीहरु धेरै छन् । एक त राम्रा लेखकहरुकै खाँचो छ भने प्रकाशक, चित्रकार, डिजाइनर, वितरक आदिको पनि ठुलो खड्को छ । बालसाहित्यको राम्रो वितरक छैनन् । बालसाहित्यलाई वितरकहरुले महत्वका साथ हेर्दैनन् । बालसाहित्यको विकासका लागि लेखक, चित्रकार, डिजाइनर, वितरक जस्ता सबै पक्षको एकमुष्ट प्रयासको खाँचो रहेको छ । पाठक समक्ष बालसाहित्य पु¥याउनै सकिएको छैन भन्ने विविध विषयमा छलफल भएको थियो ।

बालसाहित्य सर्जक डा. ध्रुव घिमिरेले सरकारले पनि बालसाहित्यलाई पाखा लगाएको, अझ बालसाहित्य आफ्नो स्वार्थमात्र पुरा गर्न खोजेको आरोप लगाए । समाजका पूर्व अध्यक्ष भिक्टर प्रधानले बालसाहित्यका विविध पक्षमाथि गहिरो अध्ययन अनुशन्धान गरेर कहाँनेर के खाडल परेको छ वा कहाँ चाहिँ समतल छ भन्ने कुरा पहिचान गरी खाडल पुर्न हतारो भइसकेको कुरा गर्नु भयो । सर्जक डा. सुष्मा आचार्यले बालसाहित्य खाली बालबालिकाले मात्र पढ्ने होइन । आफ्ना बालबालिकाका आनीबानी व्यवहारको सही पहिचान र उनीहरुप्रति गरिनु पर्ने व्यवहारका लागि, कस्तो बालसाहित्य दिने, कस्तो चाहिँ नदिने भन्ने कुरा जान्नका लागि अभिभावकले समेत बालसाहित्य पढ्नु भन्नु धारण व्यक्त गर्नुभयो ।

सर्जक तथा प्रकाशक दिपेन्द्र भट्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उनले बालसाहित्यमा सम्पादनको भूमिका पनि खड्किरहेको कुरा उठाउनु भएको थियो । परिचय प्रकाशनका गोविन्द आचार्यले बालसाहित्यमा मानक र मापदण्ड नभएको कुरालाई उठाउनु भयो । नेबासासका सचिव तथा कार्यक्रमका संयोजक बालसाहित्य सर्जक यशु श्रेष्ठले जतिसुकै अन्तर्क्रिया गरे पनि, छलफल गरे पनि हामी निचोडमा पुग्न नसकेको, सधैँ बिरालो बाँध्ने काम मात्र भएको र बिरालो घाँटीमा घण्टी बाँध्ने कुरा मात्र गरिरहने भएकाले यसतर्फ ठोस पहल हुन जरुरी भएको भनाइ राख्नुभयो ।