जयपृथ्वीबहादुर सिंहको १४२ औँ जन्मजयन्ती
जयपृथ्वीबहादुर सिंहलाई नेपाली राष्ट्रिय शिक्षा पद्धतिका जनक एवम् नेपाली बालसाहित्यका सूत्रधारका रूपमा लिइन्छ । यिनले लेखेका अक्षराङ्क शिक्षा नामको पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । योसहित यिनले १८ ओटा पुस्तक लेखेका थिए । स्कुल स्थापना गरेर जनजनलाई शिक्षित तुल्याउनु पर्छ भनेर राणा प्रधानमन्त्री देवशमशेरलाई यिनले नै झक्झाएका थिए । यिनी शैक्षिक जागरण र विश्व एकतालाई आत्मसात गरेर अगाडि बढ्थे । संयुक्त राष्ट्रसङ्घ स्थापना हुनुमा यिनको प्रभाव पनि छ भनेर विस्वास गरिन्छ । यिनको जन्म १९३४ भाद्र ७ गते भएको हो मृत्यु १९९७ असोज १ गते भएको थियो ।
नेपाल बालसाहित्य सामाजले २०७५ भाद्र ७ गतेका दिन एक भव्य समारोह आयोजना गरी नेपाली बालसाहित्यका अगुवा तथा शिक्षासेवी जयपृथ्वीबहादुर सिंहको १४२ औँ जन्मजयन्ती मनायो । उतm अवसरमा नेबासासका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रा.डा. चूडामणि बन्धुलाई ‘नेबासास जयपृथ्वी सम्मान’ अर्पण गरियो । सोही अवसरमा डा. ऋषिराम शर्माले ‘नेपाली बालसाहित्यमा जयपृथ्वीबहादुर सिंहको योगदान’ शीर्षकमा कार्यपत्र प्र्रस्तुत गर्नुभएको थियो । साथै, धादिङका स्रष्टा केशव दुवाडीद्वारा लिखित ‘जुँगे झाँक्रीको भूत’ बालकथा सङ्ग्रहको लोकार्पण पनि गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आथित्यतामा आयोजना भएको समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले नेबासासले महान् व्यक्तित्व जयपृथ्वीबहादुर सिंहको स्मृतिमा सम्मान स्थापना गरी जन्मजयन्ती मनाउने कार्यको थालनी गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । सम्मानित व्यक्तित्व डा. बन्धु, साहित्यकार डा. तुलसी भट्टराईले जयपृथ्वीबहादुर सिंहको योगदानलाई सम्झँदै तथा नेबासासका प्रशंसनीय कार्यको बारेमा मन्तव्य राख्नुभएको थियो ।
नेबासासका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष प्रमोद प्रधान, सदस्यहरू डा. विष्णुकुमार खत्री, शशी थापा पण्डित, लेखक केशव दुवाडीले समेत मन्तव्य प्रकट गर्नुभएको थियो ।