बालसहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला
योजना कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई बुझाइने
काठमाडौँ – नेपालमा बालसाहित्यको क्षेत्र प्राथमिकतामा नपर्दा पठन सिप, पठन संस्कार र पठन संस्कृतिको विकास नहुनुका साथै कल्पनाशील, चेतनशील र सिर्जनशील बालबालिकाको निर्माणमा पनि कठिनाइ देखिइरहेको छ । यसैले असल बालपुस्तकहरूमा नै बालबालिका रमाउँछन्, यसबाट असल बालबालिकाको कल्पना र देशको सकरात्मक परिवर्तनको आशा गर्न सकिन्छ भन्ने हेतु रहेको छ ।
यसका लागि बालसाहित्य कस्तो हुनुपर्छ र यसलाई सरोकारवालाहरुले कसरी हेर्नुपर्छ भन्ने उद्द्श्यकासाथ नेपाल बालसाहित्य समाज र रुम टु रिडको आयोजनामा ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ कार्यशाला आयोजना गरिएको छ ।
२०७८ मंसिर १५ गते बुधबार सम्पन्न कार्यशालामा लेखन, चित्राङ्कन, सम्पादन, प्रकाशन, पुस्तकालय, शिक्षा विशेषज्ञ, बजार व्यवस्थापक, अनुवादलगायतका विभिन्न क्षेत्रमा आवद्ध महानुभावहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बालबालिका नै मुलुकको भविष्य भएकाले बालबालिकाका लागि लेखिने बालसाहित्य, नीजि क्षेत्रको भूमिका र सरकारको भूमिकाका विषयमा छलफल गरी सुझाव सङ्कलन गरेका गरिएको थियो ।
बालसाहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशील क्षमताको विकास, बालपुस्तकको उपलब्धता, व्यवस्थापन र प्रयोग, बालसाहित्य र पाठ्यपुस्तकबिचको समन्वय, बालपुस्तकको वितरण र बजार, स्थानीय स्तरमा बालसाहित्यको प्रयोग र स्थानीय निकायको भूमिका, बालसाहित्य सिर्जना र सञ्चार माध्यममा बालसाहित्य गरी सात समूहमा विभाजित समूह विषेशज्ञले आवश्यक योजनाको खाका तयार पारेका थिए ।
योजना खाकामाथि पनि छलफल गर्दै त्यसलाई अन्तिम प्रतिवदेन बनाउने र प्रतिवेदनमाथि पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरिएको थियो । नेबासासका महासचिवले यशु श्रेष्ठले प्रस्तुत गर्नुभएको विषय उठान र योजना खाकामाथि विशेषज्ञ टोलीले घनिभूत छलफल गरी एक निष्कर्ष निकालिएको थियो ।
कार्यशाला गोष्ठीबाट तयार भएको पञ्चवर्षीय योजना खाकालाई चाँडै अन्तिम रूप दिएर अझै एकपटक विशेषज्ञ टोलीमा छलफल गराई सरोकारवाला पक्षहरूकै अपनत्व हुने गरी तत्तत् निकायमा बुझाइने छ ।