Check Mail Feedback

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्तीमा विभिन्न कार्यक्रम

काठमाण्डौं ८ भदौं । मानववादी विश्वदर्शनका प्रवर्तक जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्ती विभिन्न  कार्यक्रमहरू गरी मनाइएको छ । बझाङी राजा जयपृथ्वीबहादुर सिंह विश्वविख्यात नेपाली सपुत हुन् । उनी बाँचुन्जेल राणाशाही र राजशाही सत्ताको कोपभाजनमा परिरहे । जयपृथ्वी नेपालमा  सक्रिय  राजतन्त्रको अन्त्य भएको साढे तीन दशक लामो समयसम्म पनि उनी ओझेलमा पारिएका थिए । यही २०७९ असारमा बल्ल नेपाल सरकारले जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । अन्तर्राष्ट्रिय विभूति बनिसक्नुपर्ने जयपृथ्वीलाई ढिलै भए पनि नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ । तिनै मानववादी दर्शनका प्रवर्तक जयपृथ्वीको जन्म जयन्तीका सन्दर्भमा २०७९ भदौ ७ गते विभिन्न कार्यक्रम गरी उनलाई सम्झिइएको हो । आमनागरिकका लागि शिक्षाको व्यवस्था गरिनुपर्छ भन्ने उद्देश्यका साथ सत्यवादी पाठशालाका संस्थापक, गोरखापत्रका प्रथम व्यवस्थापक जयपृथ्वी जनवादी राजा हुन् भन्दा पनि अत्युक्ति हुँदैन ।

नेपाल बालसाहित्य समाजको आयोजना एवं मानववादी समाज, नेपाल (सोच नेपाल) र ह्युमजिन्म एन्ड जयपृथ्वी फाउन्डेसनको संयुक्त सहआयोजनामा विभिन्न  कार्यक्रम साथ जयन्ती मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न  कार्यक्रममा मानववादी दर्शनका जानकार, अभियन्ता, साहित्य तथा बालसाहित्य सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो । विगत ४ वर्षदेखि जयपृथ्वीको सम्मानमा  कार्यक्रम गर्दै आएको नेपाल बालसाहित्य समाजले यस वर्ष पनि   कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कार्यक्रममा बालसाहित्यका वरिष्ठ सर्जकहरू शान्तदास मानन्धरलाई वि. सं. २०७७ को र भिक्टर प्रधानलाई वि. सं. २०७८ सालको ‘नेबासास–जयपृथ्वी सम्मान’ प्रदान गरिएको थियो । बालप्रतिभाहरू आँचल श्रेष्ठलाई वि. सं. २०७७ सालको तथा सोइना दाहाललाई वि. सं. २०७८ सालको बालसाहित्यतर्फ र मानवी आचार्यलाई वि. सं. २०७७ र आश्विनी मानन्धरलाई वि. सं. २०७८ सालको कलातर्फको रु ५०००/५०००।– हजार राशिसहितको ‘नेबासास–जयपृथ्वी बालप्रतिभा पुरस्कार’’बाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा मानववादी अभियानका अभियन्तासमेत रहेका बालसाहित्यकार रामदेव पाण्डेले अवधारणापत्र प्रस्तुत गरेका थिए । “राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र वर्तमान विश्वपरिवेशमा विश्व आस्था मैत्री सङ्घको महत्त्व” विषयक अवधारणापत्रमाथि विभिन्न व्यक्तिहरूले टिप्पणी गरेका थिए । यसै  कार्यक्रममा ह्युमनिज्म एन्ड जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मिनबहादुर सिंहले सङ्कलन गरेको सामग्रीलाई रामदेव पाण्डेले सम्पादन गरी प्रकाशित ‘जयपृथ्वीबहादुर सिंहको जीवनी’ पुस्तकको लोकार्पणसमेत गरिएको थियो । अन्तर्राष्ट्रिय मानववादी सङ्गठनका अन्तर्राष्ट्रिय सदस्य एवं सोच नेपालका संस्थापक उत्तम निरौलाले पुस्तकमाथि समीक्षा गरेका थिए । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन  नेबासासका उपाध्यक्ष बालसाहित्यकार प्रमोद प्रधानले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ रहनुभएको थियो । अतिथिहरूलाई नेबासास कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले स्वागत गर्नुभएको थियो भने सम्मानित स्रष्टाका बारेमा नेबासासका कार्यसमिति सदस्य उद्धव प्याकुरेलले र पुरस्कृत बालप्रतिभाका बारेमा नेबासासका सचिव डा. यादेवी ढकालले प्रकाश पार्नुभएको थियो ।

यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शन विभागले पनि एक कार्यव्रmम गरी जयपृथ्वी जयन्ती मनाएको छ । विभागका प्रमुख प्रा.डा जगत उपाध्यायको अध्यक्षतामा सम्पन्न अन्तर्क्रियात्मक  कार्यक्रममा दर्शन शास्त्रका अध्येता प्रेमबहादुर धामीले कार्यपत्र प्रस्तुत गरेका थिए । ‘जयपृथ्वीबहादुर सिंह र मानववाद” विषयक कार्यपत्रमाथि विभिन्न विद्वानहरूले टिप्पणी गरेका थिए । यसरी नै जयपृथ्वीको जन्म जिल्ला बझाङमा पनि विभिन्न   कार्यक्रमका साथ जयपृथ्वी जयन्ती मनाइयो।