कृष्णप्रसाद पराजुली
कृष्णप्रसाद पराजुलीको जन्म पिता पशुपतिप्रसाद पराजुली र माता महादेवी पराजुलीको कोखबाट वि.सं. १९९२ असार २४ गते काभ्रे जिल्लाको भमरकोटमा भएको हो । अध्ययनका सिलसिलामा काठमाडौँ आउनु भएका पराजुली, देशले कहिले पनि बिर्सन नसक्ने गरी, नेपाल र नेपालीलाई गुन लगाउँदै वि.सं. २०७० चैत्र २० गते यस संसारलाई छोडेर जानु भयो । उहाँका भौतिक शरीर हामीमाझ नरहे पनि उहाँले हाम्रा लागि गर्नु भएको काम र योगदान सधैँ हामीमाझ नै रहिरहने छ । अध्यापन र साहित्यलाई सधैँ साथमा राख्दै उहाँले बालबालिका तथा प्रौढ सबैका लागि कविता, कथा, भाषाव्याकरण, गीत, लोकसाहित्य आदिका थुप्रै पुस्तक लेखन तथा सम्पादन गर्नु भयो । उहाँको जीवनी, व्यक्तित्व र कृतित्वलाई समेटिएको बृहत ग्रन्थ ‘कृष्ण प्र. पराजुली ः आस्थाका आयाम तथा कृष्णप्रसाद पराजुली ः साहित्य र साधना’ अनि आत्मकथा समेटिएको पुस्तक ‘शिखरयात्रा’ पनि प्रकाशित भएका छन् ।
दर्जनौँ बालसाहित्य, प्रौढ साहित्य तथा लोक साहित्यका सर्जक पराजुलीलाई सम्झनका लागि रमाइला नानी, बालकविता सङ्ग्रह (वि.सं. २०२२) र राम्रो रचना, मीठो नेपाल, व्याकरण (वि.सं. २०२३) नै काफी छन् । पन्ध्र तारा र नेपाली साहित्य (जीवनी सङ्ग्रह २०२४), नौबेली (कथा सङ्ग्रह २०२८), भाषाको माया (भाषिक अनुसन्धान, २०४४), पूर्व एक नम्बर (स्थान परिचय, २०२२), पूmलपात (निबन्ध सङ्ग्रह २०४४), सुनौला तीन कुरा (बालकथा सङ्ग्रह २०२७), नेपाली बृहत शब्दकोष (सम्पादक, २०४०) लगायत दर्जनौँ दर्जन कृतिका कृतिकार तथा सम्पादक कृष्णप्रसाद पराजुली जगदम्बाश्री पुरस्कार (वि.सं. २०४६), राष्ट्रिय बालकोष पुरस्कार (वि.सं. २०४४), बालहितकारी पुरस्कार (वि.सं. २०४५) लगायत दर्जनभन्दा बढी पुरस्कार र सम्मानले सम्मानित हुनुभएको थियो । उहाँका कुनैकुनै कृतिहरु त तीसौँ पटकसम्म रिप्रिन्ट भएका छन् ।
बालसाहित्य समाजका आजीवन सदस्य पराजुलीले बालसाहित्यमा धेरै नै योगदान गर्नु भएको छ । बाबुनानीहरुलाई बालसाहित्यका मिठामिठा खुराक पस्कने भएर उहाँलाई स्नेहका साथ ‘नानीका कवि’ पनि भन्ने गरिन्छ । उहाँका जेष्ठ सुपुत्र शाश्वत पराजुली पनि बाबुकै पदचापलाई पछ्याउँदै नेपाली बालसाहित्यमा विशिष्ट योगदान गरिरहनुभएको छ । उहाँले आफ्ना पिताका शेषपश्चात सम्झाना स्वरूप ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ समेत स्थापना गर्नुभएको छ ।
प्रस्तुतकर्ता ः यशु श्रेष्ठ