नेपाल बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य
नेपाल बालसाहित्य समाजको २०८१ चैत ९ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट बालसाहित्य सर्जक विजयराज आचार्य अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनसँगै आचार्यको अध्यक्षतामा समाजको ०८२-८३ को कार्यकालका लागि नयाँ कार्यसमिति गठन भएको छ ।
आचार्य यसअघि समाजमा महासचिव रहेका थिए । आजैको निर्वाचनबाट उपाध्यक्षमा विजयराज न्यौपाने, कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थी र खुला सदस्यमा समन श्रेष्ठ र क्रान्ति पाण्डे चुनिएका छन् ।
महासचिवमा डा. विष्णुबहादुर केसी, सचिवमा भानु भट्टराई र सदस्यमा अर्पिता शाक्य (चित्रकार), यशोदा अधिकारी (महिला) र अनिरुद्र अर्याल (शिक्षक) यसअघि नै निर्विरोध भएका थिए ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई समाजका पूर्वअध्यक्ष एवं बालसाहित्य इतिहासकार प्रमोद प्रधानले बधाई दिनुका साथै आगामी कार्यकालमा पहिलेको भन्दा धेरै र नयाँ कामहरु होऊन् भन्दै शुभकामना समेत दिएका छन् ।
२०४४ साल असोज ८ गते स्थापना भएको नेपाल बाल साहित्य समाज नेपाली बालसाहित्य र सर्जकहरुको अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्दै आएको गैरनाफामूलक संस्था हो ।