Check Mail Feedback

बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रम

रिड नेपालका लागि नेपाल बालसाहित्य समाजले संयोजन गरेको “बाजेबज्यैको कथा, मेरो चित्र” कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । तीन जिल्ला अर्थात सोलुखुम्बुको जुनबेसी, सुनसरीको धरान र स्याङ्जाको बिर्घास्थित रिड नेपालको सहयोगमा संचालन भइरहेका पुस्तकालयसँगको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । २०७९ कार्तिक २५ देखि ३० गतेसम्म जुनबेसीको जुनबेसी सामुदायिक पुस्तकलय, मंसिर ६ देखि १० गतेसम्म धरानको सुनौलो सामुदायिक पुस्तकालय र मंसिर ११ देखि १५ सम्म बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयमा कार्यक्रम संचालन भएको थियो । सामुदायिक पुस्तकालय रहेको स्थान र यसका आसपासका बाजेबज्यैले बालबालिकाका लागि विशेषगरी किंवदन्ती कथाहरू सुनाउनु भएको थियो भने बालबालिकाले सुनेका कथालाई टिपोट गरी लेख्ने कार्य गरेका थिए । कथाअनुसारका चित्र बनाउन सिक्दै बालबालिकाले नै कथालाई सुहाउने चित्रसमेत बनाएका थिए ।

बाजेबज्यैहरूसँग रहेका कथाहरू उनीहरूको शेषपश्चात उनीहरूसँगै हराएर जाने भएकाले पाकाहरूसँग रहेका पुराना अनुभव, किंवदन्तीहरूलाई बालबालिकामाझ प्रस्तुत गर्न लगाउने, बालबालिकालाई कथा टिपोटको तरिका सिकाउँदै कथाहरू लेख्न लगाउने, उनीहरूलाई चित्र बनाउन सिकाउँदै बालबालिकाद्वारा नै लेखिएको कथामा चित्र बनाउन लगाउने तथा यसका विषय विशेषज्ञहरूबाट सम्पादन गर्दै एक सचित्र पुस्तक प्रकाशन गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । हाल समाजमा एकल परिवार रहने चलन विकास भएका कारण बाजेबज्यैसँग नातिनातिनाहरू प्रायः साथमा नुहुने प्रचलन बढ्दो छ । यसले गर्दा नातिनातिनाले बाजेबज्यैका अनुभवहरू सुन्न नपाउने, बाजेबज्यै र नातिनातिनाको सम्बन्ध प्रगाढ हुन नपाउने जस्ता पुस्ता पुस्ताबिचको खाडलाई केही रूपमा भए पनि पुर्ने काम यस कार्यक्रमले गर्छ भन्ने विश्वासका साथ यो कार्यक्रम संचालन भएको हो । शान्ति भोलेन्टियर एसोसिसनको सहयोगमा संचालित यस कार्यक्रम संचालनका लागि नेपाल बालसाहित्य समाजका तर्फबाट प्रा. डा. ध्रुवकुमार घिमिरे, यशु श्रेष्ठ, राजकुमार प्रजापति र सुशीला प्रधानाङ्गको टोली कार्यक्षेत्रमा खटिएको थियो । कार्यक्षेत्रमा पाकाहरूसँगको अन्तरक्रिया गर्दै, बालबालिकाहरूलाई कथा लेखन र चित्राङ्कन सिकाउँदै तथा आवश्यकतानुसार कार्यक्षेत्रको भ्रमण गर्दै कार्यक्रमको उद्देश्यअनुरूप यससँग सम्बन्धित विभिन्न क्रियाकलापहरू संचालन भएका थिए ।

एक्प्रेसिप आर्टलाई पनि जोडेर अगाडि बढेको यो कार्यक्रममा सहभागी हुन पाउँदा बाजेबज्यै तथा बालबालिकाहरू असाध्यै खुसी देखिन्थे । जुनबेसीका बाजे दोमे लामाले खुसी हुँदै भन्नुभयो, “आफ्ना नातिनातिनालाई आपूmले जानेसुनेको कुरा, आफ्नो गाउँ र आसपासका कथाहरू सुनाउन पाउँदा असाध्यै खुसी लागेको छ । आफूलाई ताजा भएको महसुस भएको छ ।”

बालबालिकाले बनाएका चित्र प्रदर्शनीमा रमाउँदै जुनबेसी सामुदायिक पुस्तकालयका अध्ययक्ष चुङ्बाछिरिङ लामाले भन्नुभयो, “यस्ता कार्यक्रम त हरेक वडा वडामा हुनुपर्छ हगि !”

“मलाई कथा लेख्न, चित्र बनाउन असाध्यै मनपर्छ तर कतै मौका नै पाइन्न । अवसरको खोजीमा थिएँ । आज केही केही भए पनि सिक्न पाएँ ।” स्याङ्जाकी विद्यार्थी प्रियाङ्का दमैले कार्यक्रमलाई धन्यवाद दिनुभयो ।

“आफ्नै गाउँठाउँ बारेमा आफैँलाई थाहा थिएन । आफ्नै गाउँठाउँमा आफैँ अपरिचित जस्तो थिएँ । यस कार्यक्रमले हामीलाई जोडिदियो । बालबालिका, शिक्षक, अभिभावक र पुस्तकालयलाई जोड्दै आफ्नै गाउँठाउँको बारेमा सिङ्गो पुस्तक प्रकाशन हुने थाहा पाउँदा हर्षले गदगद छु ।” सुनौलो सामुदायिक पुस्तकालयका अध्यक्ष चक्रबहादुर खड्काले खुसी हुँदै सुनाउनुभयो ।

तीनै स्थानबाट संकलन भएका कथाहरूलाई तीनवटा छुट्टा छुट्टै पुस्तकका रूपमा प्रकाशन गरिएको छ । जुनबेसीको कथा, धरानको कथा र कालीगण्डकीको कथा शीर्षकमा तीनवटा पुस्तकहरू नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन भएका छन् । नेपाली भाषामा लेखिएको कथालाई अनुराधाले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो ।