महासचिवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन
नेपाल बालसाहित्य समाजको २५ औँ साधारण सभा–२०७९ मा
महासचिवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन
यस गरिमामय सभाका अध्यक्षज्यू !
मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू एवम्
उपस्थित आदरणीय सदस्य महानुभावहरू,
सबैमा हार्दिक अभिवादन ।
२०४४ सालको भाद्र महिनाको पहिलो हप्तामा युनेस्कोको आर्थिक सहयोगमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.डा. श्री चूडामणि बन्धुको संयोजकत्वमा सम्पन्न ‘नेपाल बालपुस्तक र पठन गोष्ठी’ का सहभागीहरूबाट बालसाहित्यको सर्वाङ्गीण विकासका लागि संगठित भई संस्थागत प्रयासको खाँचो अनुभूत गरिएअनुरूप यसको करिब एक महिनापछि घटस्थापनाका दिन विधिवत् रूपमा नेपाल बालसाहित्य समाजको स्थापना भएको हो । स्थापनाको ३५ वर्ष पूरा गरेको विशुद्ध गैरनाफामुखी तथा गैरसरकारी यस समाजको यो २५ औँ वार्षिक साधारण सभा हो भने १० औँ कार्यसमितिको महासचिवका रूपमा प्रतिवदेन प्रस्तुत गर्दै गर्दा मलगायत हामी सबै संस्थाको ऐतिहासिक निरन्तरताप्रति गौरावान्वित भएका छौँ ।
२०७७ साल साउनदेखि २०७९ असार मसान्तसम्मको समयावधि समेटिनु पर्ने यस प्रतिवेदनमा यस समाजको साधारणसभा २०७९ कार्तिकमा हुँदै गरेको हुनाले यस प्रतिवेदनमा पनि आजका मितिसम्मका समाजद्वारा गरिका प्रगति विवरणहरुलाई समेटिएको छ । २०७६ सालमा भौतिक रूपमा उपस्थित भई साधारणसभा सम्पन्न भएपश्चात विश्वव्यापी महामारी कोरोनाका कारण यसरी साधारणसभा हुन नसकेको कुरा हामी सबैलाई अवगत नै छ । तत्पश्चात पनि विश्वव्यापी महामारी कोरोनाका कारण नेबासासले धेरै कामहरु गर्न सकेनन् । अत विगतमा जे जति काम हुन सक्यो, त्यसको सङ्केत गर्दै आ.व. २०७७÷०७८ र ०७९ मा भए गरेका कार्यप्रगतिसहित नेबासासका भावी योजनालाई यहाँ समेट्ने जमर्को गरेको छु ।
१) सात शब्दविहीन चित्रकथाको पुस्तक प्रकाशन
इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आइबिबिवाइ) को नेपाल सेक्सन र नेपाल बालसाहित्य समाजको तत्त्वावधानमा शब्दविहीन चित्रकथा लेखनको दुई दिने कार्यशाला आयोजना गरिएको थियो । २०७४ भाद्र २२ र २३ गते संचालित उक्त कार्यशालामा नेपालका वरिष्ठ चित्रकार एवं बालसाहित्य सर्जकहरूका साथै नवोदित चित्रकारहरूको सहभागिता रहेको थियो । समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रा.डा. चूडामणि बन्धु, वरिष्ठ चित्रकार श्री के.के. कर्माचार्य एवं समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठको अगुवाइमा उक्त कार्यशाला सम्पन्न भएको थियो । उक्त कार्यशालामा वरिष्ठ चित्रकार अशोकमान सिंह एवं एकाराम सिंले चित्राङ्कनका पक्षमा सहभागीहरूलाई प्रशिक्षित गर्नुभएको थियो भने समाजका कार्यसमिति सदस्य डा. ध्रुवकुमार घिमिरे, सचिव श्री यशु श्रेष्ठले शब्दविहीन चित्रकथा लेखनका अनुभव र प्रकृयाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यशालामा नेबासासका सल्लाहकार प्रा. रामकुमार पाँडे, उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, कोषाध्यक्ष राजेन्द्रभक्त जोशी, कार्यसमिति सदस्य श्री विजयराज आचार्यसमेतको सक्रिय सहभागिता रहेको थियो ।
सहभागीहरूबाट तयार पारिएका करिब एक दर्जन शब्दविहीन चित्रकथाका पुस्तकहरू आवश्यक परिमार्जन र साजसज्जासहित २०७४ साल माघ महिनाभित्र प्रकाशन गरिसक्ने योजना रहेको थियो । तर, यसको प्रकृया अघि बढ्न सकिरहेको थिएन । विविध कारणले अघि बढ्न नसकेको यस परियोजनालाई पूरा गर्दै समाजले २०७७ पुस महिनामा सातवटा शब्दविहीन चित्रकथा प्रकाशनमा ल्याएको थियो । यी पुस्तकहरूमा शब्द छैनन् । सम्पूर्ण कथालाई चित्रका माध्यमबाट भनिएको छ । जुनसुकै भाषाभाषीका बालबालिका/शिक्षक/अभिभावकहरूले पनि यसलाई आफ्नै भाषामा बुझ्न, अर्थ लगाउन, कथा भन्न सक्दछन् । नेपाली बालसाहित्यमा शब्दविहीन चित्रकथाका पुस्तकहरू कमै छापिएका छन् । यही कमीलाई दृष्टिगत गरी नेबासासले प्रकाशनमा ल्याएका सात चित्रपुस्तकका चित्रकार, सर्जक र सम्पादकहरू यसप्रकार रहेका छन् :
क्र.सं. | पुस्तकको नाम | चित्रकार | सर्जक | सम्पादक |
१. | खुसी खरायो | ध्रुव प्रजापति | जयप्रसाद लम्साल | यशु श्रेष्ठ |
२. | चङ्गा | रमेश डंगोल | तेजप्रकाश श्रेष्ठ | डा. शैलेन्दुप्रकाश नेपाल |
३. | टायर | अनामिका गौतम | यशु श्रेष्ठ | तेजप्रकाश श्रेष्ठ |
४. | नेपाल र यती | देव कोइमी | रामकुमार पाँडे | प्रा.डा. ध्रुवकुमार घिमिरे |
५. | माया सबैमा | एकाराम सिं | एकाराम सिं | डा. शैलेन्दुप्रकाश नेपाल |
६. | मास्क | देव कोइमी | प्रा.डा. ध्रुवकुमार घिमिरे | प्रमोद प्रधान |
७. | मेलामा मिलन | विनिता बुद्धाचार्य | राजेन्द्रभक्त जोशी | यशु श्रेष्ठ |
यस पुस्तकहरूको बजारमा माग भएकाले २०७९ सालमा नै माया सबैलाईबाहेक सबै पुस्तकलाई पुन:मुद्रणसमेत गरिसकिएको छ ।
२) बालविश्वकोश प्रतिलिपि अधिकार लिई प्रकाशनका लागि प्रयास
युनेस्कोको आर्थिक सहयोगमा २०६० सालमा नेपाल बालसाहित्य समाजबाट प्रकाशित ‘नेपाली बालविश्व कोश’ को संशोधित सस्ंकरण तयारीका लागि नेपाल प्रज्ञाप्रतिष्ठान समेतको सहयोग लिई समाजले युनेस्कोमा अनुरोध गरेअनुरूप २०७७ सालमा नै प्रस्ताव स्वीकृत भई परिमार्जन, लेखन तथा सम्पादन कार्य भएको थियो । यसका प्रधान सम्पादक प्रा.डा. चूडामणि बन्धु तथा सम्पादक श्री विनय कसजूसहित श्री तेजप्रकाश श्रेष्ठ तथा प्रा. डा. ध्रुवकुमार घिमिरेको विशेष सक्रियतामा ‘नेपाली बालविश्वकोश भाग १ र २’ तयार गरी युनेस्कोमा बुझाउने कार्य भएको थियो । युनेस्कोबाटै उक्त विश्वकोश प्रकाशनका लागि अनुरोध गरिए तापनि युनेस्को यसका लागि तयार नभएकाले यसको प्रतिलिपि अधिकार नेबासासमा रहने गरी नेबासासले प्रकाशन गर्ने प्रयास गरिरहेको छ । तर हालसम्म पनि यसमा सफलता प्राप्त गर्न सकिरहेको छैन ।
३ नयाँ कार्यसमिति गठन
नेपाल बालसाहित्य समाजको २०७७–७९ का लागि नयाँ कार्यसमिति प्रा. डा.ध्रुवकुमार घिमिरेको नेतृत्वमा गठन भएको छ । २०७७ माघ ३ गते भएको नेबासासको निर्वाचनबाट कार्यसमितिका नयाँ पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका हुन् । कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी भने निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा श्री प्रमोद प्रधान, महासचिवमा श्री यशु श्रेष्ठ, सचिवमा डा. यादेवी ढकाल र कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी तथा सदस्यहरूमा श्री उद्धव प्याकुरेल, श्री एकाराम सिं, श्री मञ्जु ज्ञवाली, श्री शान्ति सापकोटा, श्री सजनी नौबागे र श्री सुशीला प्रधानाङ्ग रहेका छन् ।
नेबासासको विधान–२०४४(संशोधनसहित) अनुसार कार्यसमिति निर्वाचनका लागि श्री मातृका पोखरेलको संयोजकत्वमा श्री कार्तिकेय घिमिरे तथा श्री प्रभा भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । स्मरणीय छ उक्त कार्यसमितिके निर्वाचनमा अध्यक्ष पदका लागि श्री केदार श्रेष्ठ, उपाध्यक्षमा श्री कृष्णदीप सिग्देल, महासचिवमा श्री विजयराज आचार्य, सचिवमा श्री सूर्य वि.सि. तथा सदस्यहरूमा श्री कृष्णराज सर्वहारी, श्री लालबहादुर भुजेल र श्री समन श्रेष्ठको उमेदवारी रहेको थियो । निर्वाचित सदस्यहरूमा श्री उद्धव प्याकुरेल, श्री मञ्जु ज्ञवाली, श्री शान्ति सापकोटा, श्री सजनी नौबागे र श्री सुशीला प्रधानाङ्क नयाँ अनुहार हुन् भने अन्य पदाधिकारी तथा एक जना सदस्य यस अघिका कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।
४. नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम
नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले नवनिर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।
बागबजारस्थित पद्म कन्या क्याम्पसको सभाकक्षमा २०७७ माघ २४ गते निवर्तमान कार्यसमिति अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेबासासका आजीवन सदस्य तथा निर्वाचन समिति सदस्य श्री प्रभा भट्टराईले शुभकामना मन्तव्यसहित बालकविता वाचन गर्नुभएको थियो । यसै गरी आजीवन सदस्य श्री रामबहादुर पहाडीले बालगजल गाउनुभएको थियो । वर्तमान कार्यसमितिमा निर्विरोध निर्वाचित कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीले संस्थाको आर्थिक अवस्था बारेमा प्रतिवेदन पेश गर्नुभएको थियो । अघिल्लो कार्यसमितिमा पनि उहाँ नै कोषाध्यक्ष हुनुहुन्थ्यो । यसपछि निवर्तमान महासचिव प्रा.डा. ध्रुवकुमार घिमिरेले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै वर्तमान महासचिव श्री यशु श्रेष्ठलाई संस्थाको माइन्युट हस्तान्तर गर्नुभयो । निवर्तमान अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले आफ्नो नेतृत्वको कार्यकालमा कार्यसमितिले सम्पन्न तथा सञ्चालन गरिरहेका महत्वपूर्ण कार्यक्रमहरुको जानकारी गराउँदै शुभेच्छा र शुभकामनासहित नवगठित कार्यसमितिका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेलाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा नव निर्वाचित कार्यसमितिका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, उपाध्यक्ष श्री प्रमोद प्रधान, महासचिव श्री यशु श्रेष्ठ, सचिव डा. यादेवी ढकाल, कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशी, सदस्यहरु श्री उद्धव प्याकुरेल, श्री एकाराम सिं, श्री मन्जु ज्ञवाली, श्री शान्ति सापकोटा, श्री सजनी नौबागे र श्री सुशीला प्रधानाङ् सहितको कार्यसमितिलाई स्वागत गर्दै वरिष्ठ बालसाहित्य सर्जक तथा समाजका मानार्थ सदस्य शान्तदास मानन्धरज्यूले टीका तथा कार्यक्रमका सभापति डा. शैलेन्दुप्रकाश नेपालज्यूले माला लगाइदिनु भएको थियो । बालसाहित्य सर्जक, पूर्वअध्यक्ष तथा समाजका सल्लाहकार श्री तेजप्रकाश श्रेष्ठले नोटबुक र कलम तथा निर्वाचन संयोजक श्री मातृका पोखरेलज्यूले प्रमाणपत्र दिनुभएको थियो । उहाँहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै नेबासासले बालसाहित्यको विकासमा जोड दिँदै सम्पूर्ण बालसाहित्यका सर्जकहरुलाई समेटेर लैजाने विश्वास व्यक्त गर्नुभएको थियो । निर्वाचिन अध्यक्ष प्रा.डा. घिमिरेले निष्पक्ष निर्वाचनका लागि निर्वाचन समितिलाई धन्यवाद दिँदै सबै सदस्यहरूलाई समान रूपमा समेटेर लाने दृढता व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा सौहर्द वातावरणमा निर्वाचन सम्पन्न गर्नुहुने निर्वाचन समितिका संयोजक श्री मातृका पोखरेल तथा सदस्य श्री प्रभा भट्टराई श्री कार्तिकेय घिमिरेलाई कदरपत्र प्रदान गरिएको थियो । यसपटक अनलाइनमार्फत पनि मतदान गर्ने व्यवस्था गरिएको थियो । नेबासासको निर्वाचनमा पहिलोपल्ट अनलाइन भोटिङको व्यवस्था गर्ने प्राविधिक समितिका संयोजक श्री शाश्वत पराजुली तथा सदस्य श्री साहित्यप्रकाश नेपाललाई पनि कदरपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा समाजका आजीवन सदस्य एवं प्राज्ञ डा. श्री देवी नेपाल, सल्लाहकार श्री भिक्टर प्रधानसहितले शुभकामना मन्तव्य राख्दै आगामी दिनमा नेबासासले गर्नुपर्ने कार्यबारे प्रकाश पार्नु भएको थियो ।
५. “नेबासास भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम
नेपाल बालसाहित्य समाजद्वारा श्रीपञ्चमीका दिन मनाइने सस्वर पठन दिवस तथा राष्ट्रिय बालपुस्तक दिवसको अवसर पारेर “नेबासासको भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम भर्चुअलमाध्यमद्वारा आयोजना गरियो । उक्त कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले आफ्ना कार्यकालको योजनाहरू प्रस्तुत गर्दै ती योजनाहरूमा छलफल, थपघट तथा सल्लाहसुझाव आदानप्रदान गरेको थियो । कार्यक्रमभन्दा केही दिन अगावै सुझावका लागि आफ्ना सदस्यहरूलाई कार्यसमितिले चार महले फारमसमेत वितरण गरेको थियो । समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेको सभाअध्यक्षतामा २०७७ फागुन ०४ आयोजना भएको कार्यक्रम, सभाअध्यक्षद्वारा विषय प्रवेश गरेसँगै समाजका महासचिव श्री यशु श्रेष्ठले कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो । संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुको गरिमामय उपस्थितिमा समाजका कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीले समाजको संक्षिप्त आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदनमाथि छोटो छलफलतत्पश्चात महासचिव श्रेष्ठले समाजका भावी योजना र कार्यदिशालाई प्रस्तुत गर्नुभएको थियो ।
नेबासासका सदस्यहरूले योजनाहरूमाथि छलफल गर्दै आफ्ना विविध विचार पनि राख्नुभएको थियो । संस्थापक अध्यक्ष प्रा.डा. बन्धुले बालसाहित्य समाजले गरिराखेका विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै प्राथमिकताका आधारमा महत्वपूर्ण योजनालाई अघि बढाउने, स्रोत जुटाउने कुरमा चेष्टा गर्नुपर्ने, राम्रा कृतिको सूचि तयार पार्नुपर्ने सुझाव दिनुभएको थियो । आजीवन सदस्य श्री अनन्त वाग्लेले सबै सदस्यको योग्यता, दक्षता र पहुँचलाई उपयोग गर्नुपर्ने, विद्यालयको लागि राम्रा बालपुस्तकको सूची तयार गनुपर्ने, बालसाहित्यको सुदृढिकरणको लागि नेपाल सरकारसँग पहल गरी नयाँ ढँगले कार्यक्रम गर्नुपर्नेलगायत रुम टु रिडजस्ता संस्थाहरू सधैँ सहकार्य गर्न तयार रहेको कुरा अवगत गराउनुभयो । आजीवन सदस्य श्री आईपी अधिकारीले नेपाल सरकारले विद्यालयमा दिइरहेको अनुदान बजेटको दुरूपयोग भएकोले समाजले पुस्तक नीतिबारे पहल गर्नुपर्ने, पुस्तकालय व्यवस्थापनका लागि पहल गर्न सुझाव दिनुभयो । साधारण सदस्य श्री गिता सापकोटाले नेबासासलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि पहल गर्नुपर्ने, विधागत रूपमा कृति प्रकाशन गर्नुपर्ने, नयाँ प्रतिभालाई उजागर गर्न विभिन्न कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । आजीवन सदस्य श्री विजयराज न्यौपानेले अग्रजहरूको सल्लाहका साथै सबै बालसाहित्यकारहरूलाई डो¥याउनको लागि विधागत कार्याशाला र गोष्ठी गर्नुपर्ने, स्थानीय सरकारसँग सहकार्य गरेर हरेक विद्यालयमा चेतनामूलक कार्यक्रम गर्न चिठी लेखेरै नै अनुरोध गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो । आजीवन सदस्य श्री विजयराजआचार्यले बालसाहित्यको प्रवद्र्धन र विकासका निम्ति एकले अर्कोलाई गिराएर होइन, सहकार्य गरेर अघि बढ्न सल्लाह दिँदै जर्नलहरू प्रकाशन गर्दा स्तरीयतालाई ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो भने सल्लाहकार श्री रामकुमार पाँडेले संस्थाको व्यवस्थापन पक्षलाई चुस्त बनाउन विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँड गर्नुपर्ने तथा वृहत सेमिनार गरेर पञ्चवर्षीय गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिनुभएको थियो । समाजका उपाध्यक्ष श्री प्रमोद प्रधानले सम्पूर्ण सदस्यहरूमा धन्यवाद ज्ञापन गर्दै आफ्ना भनाइ राख्नुभएको थियो । कार्यसमिति सदस्य श्री मञ्जु ज्ञवालीले कार्यक्रमको प्रतिवेदनलाई प्रस्तुत गरेपछि समाज तथा य सभाका अध्यक्ष प्रा.डा. घिमिरेले कार्यसमितिले तयार पारेका अल्पकालीन र दीर्घकालीन योजनालाई अघि बढाउन सबै जनाको साथ र सहयोगको अपेक्षा रहेको तथा यसको कार्यान्वयनमा दत्तचित्त भएर लाग्ने बताउनु हुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
छलफल कार्यक्रमपछि कार्यसमितिमा छलफल\निर्णय भई तयार पारिएको भावी योजना र कार्यदिशा यस्ता रहेका छन् :
आदरणीय सदस्य महानुभावहरू,
नयाँ कार्यसमितिको दोस्रो बैठकले गरेको निर्णयानुसार, २०७७ माघ ४ गते नेबासासका भावी योजना र कार्यदिशा विषयक वेभिनार भेलामा यहाँहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा समेत यस कार्यसमितिले आफ्ना नियमित र केही महत्वाकांक्षी कार्ययोजनाहरू यसरी अघि सारेको छ । यी योजनाहरूको क्रमिक कार्यान्वयनबाट एकातिर नेबासासको संस्थागत उद्देश्य परिपूर्तिमा सघाउ पुग्ने छ भने अर्कातर्फ बालबालिकामा पठन सिपको विकासका अतिरिक्त पठन संस्कृतिको निर्माणसँगै सिर्जनात्मक विकासमा मदत पुग्ने छ भन्ने आशा लिएका छौँ । यी योजनाहरूको निष्पक्ष तथा पारदर्शी क्रियान्वयनमा यहाँहरूको साथ र सहयोग लिँदै हामी अघि बढ्ने छौँ ।
नेबासासका भावी योजना र कार्यदिशा
- तत्काल गरिने योजनाहरू
१. बालसाहित्यका आख्यानात्मक तथा आख्यानरहित विभिन्न विधाहरूको सिर्जना तथा तिनको प्रस्तुतिगत सिप विकासका लागि स्वदेश तथा विदेशमा रहेका सर्जक, समीक्षक, बालसाहित्य समाजका सदस्यहरूका अतिरिक्त बालबालिकाका बिचमा छलफल एवं प्रशिक्षणमूलक वेभिनार कम्तीमा महिनाको एउटा सम्पन्न गर्ने ।
२. बालबालिकाका अतिरिक्त शिक्षक एवं अभिभावकले समेत बालसाहित्य अध्ययनको आवश्यकता तथा औचित्यका बारेमा तथा कक्षाकोठाको कुनो पुस्तकालयमा मात्र नभई प्रत्येक विद्यालय र सामुदायिक पुस्तकालयका साथै प्रत्येक घरमा के कस्ता किसिमका बालपुस्तकको आवश्यकता किन छ र यसको व्यवस्थापन कसरी गर्ने जस्ता विषयहरूमा प्रकाशक, अभिभावक, बालमनोविज्ञानवेत्ता, शिक्षाविद तथा नीतिनिर्माताका बिच वेभिनारबाट विचारविमर्श चलाउने ।
३. ‘पाठक तथा समीक्षक क्लब’मा कम्तीमा महिनाको एकपटक बालपुस्तकका बारेमा छलफल गरिने ।
४. बालपुस्तक प्रकाशक, वितरक तथा यससँग सम्बन्धित निकायहरूसँग छलफल र सहकार्य गर्दै यस्ता संस्थासमेतको प्रतिनिधित्व हुने गरी गठित उपसमितिमार्फत वर्ष बालपुस्तक सूची प्रकाशन गर्ने ।
५. नेपालबाट प्रकाशित राष्ट्रभाषाका तथा विदेशबाट नेपाली भाषामा छापिएका बालसिर्जनात्मक एवं समीक्षात्मक पुस्तकहरू अध्ययन, अनुसन्धान तथा बालपुस्तकालयीय प्रयोजनार्थ माग एवं खरिद गरी सोको अभिलेखीकरण गर्ने र यसका लागि दाताहरूसँग सहयोगका निम्ति गठित उपसमितिमार्फत अनुरोध गर्ने ।
६. सातै प्रदेशका बालसाहित्य प्रकाशनका विवरणसहितको अनुसन्धनात्मक लेखका लागि अनुरोध गर्ने ।
७. वित्तीय शिक्षा, प्रकृति संरक्षण, बालअधिकार, सहसिर्जनालगायतका बालोपयोगी अन्य विषयहरूसमेत समावेश गरी बालबालिकामाझ प्रशिक्षणात्मक कार्यशाला गर्ने ।
८. युनेस्कोको आर्थिक सहयोगमा नेबासासबाट सम्पादन गरी बुझाइएको ‘बालविश्वकोश भाग १ र २’ प्रकाशनार्थ पहल गर्ने ।
९. कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा बालबालिकाका आफ्ना अनुभव तथा शिक्षक एवं अभिभावकहरूका बालबालिका केन्द्रित अनुभवहरूसमेत सम्बद्ध ठाउँमै पुगी सङ्कलन गर्ने र बालपुस्तकका रूपमा यसको प्रकाशन गर्ने ।
१०. भाद्र २९ गते बालदिवसको अवसरमा “राष्ट्रिय बालसाहित्य महोत्सव” को आयोजना गर्ने । यसका लागि नेपाल प्रज्ञाप्रतिष्ठानसहित अन्य निकायहरूसँग सहकार्यका लागि अनुरोध गर्ने ।
११. सातै प्रदेशमा नेबासासका सदस्यमध्येबाट संयोजक, सहसंयोजक तय गरी उहाँहरूमार्फत प्रदेश एवं स्थानीय निकायसम्म बालसाहित्यिक कार्यक्रम विस्तार गर्ने ।
१२. ‘नेबासास सदस्य परिचयात्मक कोश ’ प्रकाशन गर्ने ।
१३. विभिन्न भाषाभाषी समुदायमा पुगी बालसाहित्यका विविध कार्यक्रम गर्ने तथा यस्ता समुदायमा रहेका बाललोककथा सङ्कलन र प्रकाशनका कार्य गर्ने ।
१४. दृष्टिविहीन, बहिरा आदि फरक क्षमताका बालबालिकालाई बालसाहित्यिक आस्वादन गराउने गरी सम्बद्ध संस्थाहरूसँग सहकार्य गर्ने ।
१५. बालसाहित्यको गुणात्मक एवं सङ्ख्यात्मक विकासका लागि प्रतिवर्ष कार्यशालालगायतका प्रक्रियाबाट क्रमिक रूपमा अगि बढ्ने गरी यस क्षेत्रमा लामो समयदेखि लागिपरेका रुम टु रिड जस्ता संस्थाहरूसँग सहकार्य गर्ने ।
१६. अघिल्लो कार्यसमितिले गर्न नभ्याएका उपयोगी कार्यक्रमलाई निरन्तरता दिँदै राष्ट्रिय बालसाहित्य सम्मेलन, वार्षिक साधारणसभा जस्ता नेबासासका नियमित कार्यक्रमहरू गर्ने ।
१७. बालसाहित्यिक अभिवृद्धि एवं बालअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू विशेष कार्यक्रमका साथ मनाउने ।
ख) दीर्घकालीन योजनाहरू :
गन्तव्य जति टाढा भए तापनि यहाँ पुग्न पहिलो पाइला चाल्नै पर्ने हुन्छ । यही तथ्यलाई मनन गर्दै वर्तमान कार्यसमितिले नेपाल बालसाहित्य समाजको संस्थागत सुदृढीकरण एवं उन्नयनका लागि निम्नानुसारका कार्यक्रमहरू प्रारम्भ गर्ने सोचसहित यसका लागि तत्काल पहलकदमी थाल्ने लक्ष्य लिएको छ :
- नेबासास बालसाहित्य सर्जक राहत कोशको स्थापना : दैवी या अन्य आकस्मिक दुर्घटनामा पर्दा नेबासासका सदस्यहरूलाई केही आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ यस कोशको स्थापना गरिएको हो । यस कोशमा नेबासासको यस कार्यसमितिको कार्यकालमा बनेका र अब बन्ने आजीवन सदस्यका पचास प्रतिशत रकमका साथै पुराना सदस्य तथा अन्य शुभेच्छुकबाट प्राप्त चन्दास्वरूपको आर्थिक सहयोग जम्मा हुनेछ । यी रकमहरू आर्थिक वर्षका अन्त्यमा अक्षय कोशका रूपमा ब्याङ्कमा जम्मा गरिनेछ र सोको ब्याज रकमबाट मात्र खर्च गरिनेछ । यसमा सहयोग उपलब्ध गराउने, खर्च गरिने विधिलगायतका अन्य आवश्यक सन्दर्भलाई नियमावली बनाई व्यवस्थित गरिनेछ । कार्यसमितिले यस्तो निर्णय गरेलगत्तै यस कोशमा क्रमश रू. दशहजार (१०,०००) र पाँचहजार (५०००) सहयोग गर्नु हुने अध्यक्ष प्रा. डा. ध्रुव घिमिरे तथा सदस्य शान्ति सापकोटाप्रति धन्यवाद ज्ञापन गर्दै यसैगरी आर्थिक सहयोग गर्न सदस्य महानुभावमा अनुरोध गरिन्छ । प्राप्त सहयोगको अभिलेखीकरणका अतिरिक्त समाजको सञ्जालमा राखी भावी साधारणसभामा सार्वजनिकीकरण गरिनुका साथै दातालाई प्रमाणपत्रसहित सम्मान गरिने छ ।
यस कोशका सहयोगी दाताहरूले नेबासासको कार्यलयमा स्वयं उपस्थित भएर वा नेपाल बालासाहित्य समाजको कृषि विकास बैँक, रत्नपार्क शाखा, बचत खाता नम्बर (नेपाल बालसाहित्य समाज, बचत खाता नम्बर ०२०९५ ००१५५१७४ ०२१) लाई प्रयोग गर्न सक्नुहुने छ ।
२. नेबासास अक्षय कोशको पुनर्स्थापना :आफ्नो स्थापनाकालदेखि नै विभिन्न महानुभावहरूबाट चन्दा संकलनसमेत गरी स्थापना गरिएको नेबासास अक्षय कोशको सम्पूर्ण रकम केही वर्ष पहिले नै आर्थिक कठिनाइका कारण पछि सोधभर्ना गर्ने गरी खर्च भइसकेको तर हालसम्म पनि यसको सोधभर्ना नभएकाले वर्तमान कार्यसमितिले उक्त कोश पुनर्स्थापना गर्ने निर्णय गरेको छ । यसमा यस कार्यसमितिको कार्यकालमा बनेका तथा अब बन्ने आजीवन सदस्यतावापत्को पचास प्रतिशत रकमका साथै शुभचिन्तकहरूबाट चन्दास्वरूप प्राप्त रकम जम्मा हुने छ । यसको ब्याजबाट मात्र कार्यालयीय खर्च गर्ने गरी यसलाई नियमावलीबाट व्यवस्थित गरिने छ । यस कोशका लागि सहयोग गरिदिनुहुन कार्यसमिति सम्पूर्ण सदस्य एवं शुभेच्छुक महानुभावहरूमा अपिल गर्दछ । प्राप्त सहयोगको अभिलेखीकरणका साथै समाजको सामाजिक सञ्जालका अतिरिक्त भावी साधारणसभामा यसको सार्वजनिकीकरण गरिने छ र सहयोगी महानुभावलाई प्रमाणपत्रसहित सम्मान गरिने छ ।
३. नेबासास सामुदायिक बालपुस्तकालय स्थापनाका लागि पहल :
नेबासासले आफ्नो स्थापनाकालदेखि नै बालपुस्तकालय सञ्चालनको लक्ष्य लिए तापनि हालसम्म यसले पूर्णता नपाएकाले वर्तमान कार्यसमितिले हाललाई काठमाडौँ उपत्यकाभित्र सुविधा सम्पन्न नेबासास सामुदायिक बालपुस्तकालय स्थापनाको लक्ष्य लिएको छ । यसका लागि आवश्यक जग्गा उपलब्ध गराइदिनका निम्ति संघीय, प्रादेशिक एवं स्थानीय सरकारसँग पहल गर्ने र भवन निर्माणका लागि नेपाल सरकारका विभिन्न निकायका अतररिक्त स्वदेशी तथा विदेशी दातृसंस्थासँग अनुरोध गर्ने निर्णय गरेको छ । यस पुनित कार्यमा आ–आफ्ना स्थानबाट पहलकदमी गर्न यो कार्यसमिति नेबासासका सदस्यका अतिरिक्त सम्बद्ध महानुभावमा हार्दिक अपिल गर्दछ ।
४. वार्षिक अनुदान व्यवस्थापनका लागि पहल :नेबासास गैरनाफामुखी सामाजिक संस्था भएकाले स्थापनाकालदेखि नै यसले आर्थिक संकट भोग्दै आएको छ । २०५० को दशकको अन्त्यतिर यसले सरकारी तहबाट वार्षिक रु. तीन लाख (३०००००) अनुदान प्राप्त गरे तापनि राजनीतिक परिवर्तन पछि यस क्रमलाई हालसम्म पनि जोड्न सकिएको छैन । अतः यसकार्य समितिले राज्यका तीनवटै अङ्गमा बालसाहित्यको अभिवृद्धिका लागि वार्षिक अनुदानको व्यवस्था गर्न पत्राचार प्रतिनिधि मण्डलद्वारा भेटघाट जस्ता प्रक्रियाहरूबाट पहल गर्ने योजना बनाएको छ । यसका लागि आआफ्ना क्षेत्रबाट सहयोग गरिदिन हुन सम्पूर्ण सदस्य महानुभावहरूमा हार्दिक अनुरोध गर्दछ ।
५. विभिन्न सरकारी नीतिमा बालसाहित्यको समावेशनका लागि पहल
नेपाल सरकारसँग विचाराधिन रहेको पुस्तक नीति एवं पुस्तकालय गुरुयोजनामा बालसाहित्यलाई यथोचित समावेशन र सम्बोधन गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गर्नुका साथै नेपाल सरकारबाट विभिन्न विद्यालयमा बालपुस्तक खरिदका लागिसमेत उपलब्ध गराइँदै आएको अनुदानमा कक्षागत स्तरीय बालसाहित्यक पुस्तकहरूको समावेशनका लागि सम्बन्धित निकायमा पहल कदमी गर्ने योजना राखेको छ ।
६. कार्यक्रम विस्तार – देश संघीयतामा गइसकेकाले अबका दिनमा नेबासासले पनि आपूmलाई सोहीअनुरूप ढाल्नुपर्ने हुन्छ । त्यसका लागि नेबासासको विधानमा संशोधन आवश्यक हुन आउँछ । साधारणसभाबाट पारित गरी तदनुकुलको विधान नबनुन्जेलका लागि कार्यसमितिले सातैवटा प्रदेशमा संयोजक चयन गर्दै उहाँहरूका माध्यमबाट प्रदेश तथा स्थानीय निकायसँग समन्वय गरी बालसाहित्यि गतिविधि विस्तार गर्ने योजना रहेको छ । यसैगरी नेपाल सरकारका केन्द्र, प्रदेश र स्थानीय निकायका अतिरिक्त नेपालमा कार्यरत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा विभिन्न देशमा रहेका बालसाहित्यिक संस्थाहरूसँग सम्बन्ध विस्तार गरी बालसाहित्यको प्रवद्र्धनका लागि सहकार्य गर्ने योजना रहको छ ।
ग) नीति :
१. नेबासासका निर्धारित कार्यहरू सम्पन्न गर्ने गरी आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने र विषयअनुसारका ती उपसमितिहरूमा रही काम गर्ने गरी क्षमता, विज्ञता र अनुभवका आधारमा नेबासासका सदस्यमहानुभावलाई जिम्मेवारी दिने । २. नेबासासले प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू वर्तमान कार्यसमितिका पदाधिकारी तथासदस्यलेयसको कार्यावधि रहेसम्म नलिने तर प्रमाणपत्रहरू लिन भने बाधा नपर्ने । ३. नेबासासका हाल रहेका पुरस्कारहरूबाहेक अन्य बालसाहित्यिक पुरस्कार थप गर्न चाहेमा सोका लागि अक्षयकोशमा आवश्यक रकम जम्मा गरेपछि सम्बन्धित व्यक्ति÷संस्थासमेतको नाममा पुरस्कार स्थापना गर्न प्रोत्साहित गर्ने ।
४. योजना तथा आर्थिकलगायत अन्य गतिविधिकाबारे नेबासासका म्यासेन्जर समूह एवंइमेलबाट सदस्य महानुभवलाई नियमित रूपमा अवगत गराउने ।
६. अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाल बालसाहित्य समाज, मेलुङ फाउन्डेसन तथा सिर्जनशील लेखन समाजको संयुक्त आयोजनामा “पाश्चात्य बालसाहित्यमा ‘बाल’ चित्रण” विषयक अन्तर्कि्रया कार्यक्रम भर्चुअलमाध्यमद्वारा सम्पन्न भयो । ०७७ फागुन ०८ गते भएको उक्त अन्तर्कि्रयाका प्रस्तोता डा. हरिराम अधिकारी हुनुहुन्थ्यो, जो अमेरिकी विश्वविद्यालयबाट बालसाहित्य विधामा विद्यावारिधि उपाधी प्राप्त विज्ञ हुनुहुन्छ ।
अनौपचारिक रूपमा संचालन भएको उक्त कार्यक्रममा नेबासासका तर्फबाट अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, मेलुङ फाउन्डेसनका तर्फबाट अध्यक्ष प्रा.डा. भूपप्रसाद धमला र सिर्जनशील लेखन समाजका तर्फबाट राजनप्रसाद पोखरेलको उपस्थिति रहेको थियो । मोलुङका अध्यक्ष प्रा.डा. धमलाले कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रम अगाडि बढाउनु भएको थियो । तोकिएको समयभन्दा निकै ढिलो सुरु भएको कार्यक्रममा सुरुमा नै यसका नियमहरु नबनाइएकोले हुनसक्छ, कार्यक्रम संचालनमा केही गढबढी देखापरिरहेको थियो । सुन्दर ढङ्गबाट तयार पारिएको, गहकिला सामग्रीको प्रस्तुतिले सहभागीहरुको ध्यान भने तान्न सफल भइरहेको थियो । यसैले होला कि समय सीमालाई ध्यान दिन भने निकै हम्मेहम्मे परिरहेको थियो ।
कार्यक्रममा नेबाससका उपाध्यक्ष प्रमोद प्रधान, पूर्व अध्यक्ष तेजप्रकाश श्रेष्ठ, महासचिव यशु श्रेष्ठ, कार्यसमिति सदस्य शान्ति सापकोटा, आजीवन सदस्यहरू प्रा.डा. कपिल लामिछाने, प्रभा भट्टराई, गङ्गा कर्माचार्य, ललिता दोषी, विजयराज आचार्य, जयन्ती रुपाखेती, विजयराज न्यौपाने, इन्द्रप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो । उहाँहरूले विविध जिज्ञासासमेत राख्नुभएको थियो ।
७. नयाँ कार्यसमितिलाई स्वागत
नेपाल बालसाहित्य समाजका नवकार्यसमितिलाई बालवाङ्मय तथा अनुसन्धान केन्द्रले स्वागत गरेको छ । केन्द्रले आफ्नो स्थापनाकालदेखि नै नेबासासका हरेक नयाँ कार्यसमितिलाई स्वागत गर्ने परम्परालाई निरन्तरता दिँदै यसपटक पनि यो कार्यक्रम आयोजना गरिएको हो । केन्द्रले माघ ०७७ फागुन ८ गते धापाखोल स्थित श्री जुगल मा.वि.मा यस कार्यक्रम आयोजना गरको थियो । कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, उपध्यक्ष प्रमोद प्रधान, सचिव डा. यादेवी ढकाल, कोषाध्यक्ष्य राजेन्द्रभक्त जोशी, सदस्यहरु एकाराम सिं, मन्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे तथा सुशीला प्रधानाङ्गको उपस्थिति रहेको थियो । प्रमोद प्रधान यस केन्द्रका अध्यक्ष पनि हुन् भने सिं, ज्ञवाली र सापकोटा केन्द्रका कार्यसमिति सदस्य हुन् । समाजका नवनिर्वाचित कार्यसमितिलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले टीका लगाएर तथा केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा केन्द्रका उपाध्यक्ष आचार्यले समाजले मातृसंस्थाको भूमिका निभाउन सक्नुपर्ने उल्लेख गर्दै नबाझिने खालका कार्यक्रममा सहकार्य गर्न तयार रहेको वचन दिए । यसै गरी केन्द्रका सदस्य अनन्त वाग्लेले दुवै संस्थासहित अन्य संस्थाहरुसँग पनि सहकार्य गरेर काम गर्न सकिने कुरा बताउनुभएको थियो । सम्मानपछि समाजका अध्यक्ष घिमिरेले आफूहरु केन्द्रसँग सहकार्य गर्न सदैव तयार रहेको बताए। समाजले जिल्लाजिल्लामा कार्य विस्तार गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसमा केन्द्रको पनि सहयोगको जरुरी हुने बताए ।
८. बालबालिका र कथावाचन कार्यक्रम
विश्व कथावाचन दिवस २०२१ को अवसरमा नेपाल बालसाहित्य समाजले ‘बालबालिका र कथावाचन’ कार्यक्रम आयोजना गरको छ । मार्च २० लाई ‘विश्व कथावाचन दिवस’ भनेर विश्वभर मनाउने गरिन्छ । यसै दिवसमा ‘कथावाचक समाज र रुम टु रिड (पढ्नका लागि कोठा)’सहितको आयोजना तथा नवसर्जक साहित्य चौतारी र नेपाल आदर्श मा.वि.को सहकार्यमा यो कार्यक्रम भएको हो । २०७७ चैत्र ७ मा भर्चुअल रूपमा सम्पन्न यस कार्यक्रममा नेपालका विशिष्ट कथावाचकहरूसहित विभिन्न विद्यालयका बालबालिकाहरूले कथावाचन गरेका थिए । सङ्गीतसहितको कथावाचनबाट नेबासासका महासचिव यशु श्रेष्ठले कार्यक्रम सुरुवात गरेका थिए । सानो बाबू सुविज्ञ शर्माको कथावाचनपछि कथावाचन कार्यक्रम अगाडि बढेको थियो । कथावाचक समाजका उपाध्यक्ष कृष्णदीप सिग्देलले ‘कथावाचन, कथावाचन दिवस र यसको महत्व’का बारेमा प्रकाश पारेका थिए । उनले स्वीडेनबाट सुरु भएको यो दिवस र यसका विषयहरूका बारेमा बोल्दै यसको इतिहासलाई कोट्याएका थिए । रुम टु रिडका प्रतिनिधि अनन्त वाग्ले, पुराना कथावाचक नुपूर भट्टाचार्य, बालसाहित्य सर्जक शाश्वत पराजुली, वसुश्री पाण्डे, अनुराधा शर्मा, केदार श्रेष्ठले विभिन्न कथाहरू कथावाचन गरेका थिए । यसै गरी बालबालिकाहरू हिमांसु विष्ट, बसन्ती कुँवर, रौनक शाह, सोफिया भण्डारी, स्मृति के सी र रचना भण्डारीले पनि कथावाचन गरेका थिए । नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रशन्ना चौलागाई, नेपाल आदर्श मा.वि.का सहायक प्रधानाध्यापक करुणा प्रधान, सिएलएफएनका कार्तिकेय घिमिरेसहित सात दर्जनभन्दा बढी विशिष्ट व्यक्तित्वहरूको उपस्थितिसहित भव्यताका साथ संचालन भएको कार्यक्रमलाई नेबासासका कार्यसमिति सदस्य सजनी नाैबागेले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रम नेबासासका अध्यक्ष प्रा डा ध्रवकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
९. विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा“नेपालमा बालपुस्तक” वेभिनार सम्पन्न
नेपाल बालसहित्य समाजको आयोजना, बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सहआयोजना तथा रुम टु रिड, द एसिया फाउन्डेशन र नेपाल पुस्तकालय संघसँगको सहकार्यमा २०७७ चैत्र १२ मा “नेपालमा बालपुस्तक” विषयक एक वेभिनार सम्पन्न भएको छ ।
अप्रिल २३ लाई विश्वभर “विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवस”का रूपमा मनाइन्छ । पढ्ने बानीको विकास तथा सर्जकको मौलिक हकको रक्षा गर्ने उद्देश्यले सन् १९९५ मा फ्रान्सको राजधानी पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोको महासभाले यस दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस”का रूपमा मनाउने घोषणा गरेको हो । सोहीअनुसार हरेक वर्ष यही दिनमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष “आदिवासी भाषा”लाई जोड दिएर विश्वभर यो दिवस मनाइदै छ ।
विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम शेक्सपियर र गार्सिलाको पी ला वेगाको महाप्रस्थानको सम्झनामा पनि यो दिवस मनाइन्छ ।
नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ कार्यान्वयनमा छ । मौलिक रचनात्मक शुकार्यको मौलिक हक संरक्षणका लागि २०६१ सालमा प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको स्थापनापश्चात यो दिवस अझ प्रभावकारी र निरन्तर रूपमा मनाउँदै आइएको छ ।
यसै दिवसका अवसरमा सम्पन्न यस वेभिनार नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । नेबासासका महासचिव यशु श्रेष्ठले “विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवस”का बारेमा बोल्दै कार्यक्रम सुरुवात गरेका थिए । नेबासासका महासचिव यशु श्रेष्ठले सञ्चालन गरेको यस कार्यक्रममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले उपस्थित अतिथि महानुभावहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बालसाहित्यका इतिहासकार, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष एवं नेबासासका उपाध्यक्ष प्रमोद प्रधानले ‘नेपालमा बालपुस्तक’ विषयमा बोल्दै बालसाहित्यको इतिहास र विकासव्रmमलाई चरणवद्ध चर्चा गरेका थिए । उनले हाल नेपाली बालसहित्यको अवस्थालाई चर्चा गर्दै वि सं २०६० यता धेरै बालसर्जकहरू बालसहित्यप्रति आकर्षित भएको र बालसाहित्यको तिव्र विकास भएको कुरा बताएका थिए । यसैगरी पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं नेपाल सरकार शिक्षा मन्त्रालयका उपसचिव गणेशप्रसाद भट्टराईले पाठ्यक्रम विकास केन्द्रले मातृभाषा पठन पाठनका लागि गरेको व्यवस्था, मातृभाषा विकासका लागि गरेका प्रयास र अभ्यासको चर्चा गर्नुका साथै स्तरीय पाठ्यपुस्तकका लागि बालसाहित्यको महत्व अपरिहार्य रहेको कुरा बताएका थिए । कार्यक्रममा कृष्णराज सर्वहारीले थारु भाषामा बालसाहित्यको हालको अवस्था र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।
रुम टु रिड नेपालका प्रतिनिधि नेत्र दाहालले बालपुस्तक प्रकाशन र पठन संस्कृति विकासमा रुम टु रिडले गरेका प्रयासको चर्चा गरेका थिए । उनले मातृभाषामा बालपुस्तक लेखनको जति आवश्यकता, त्यति चुनौती रहेको कुरासमेत बताएका थिए । तामाङ भाषाका विषय विशेषज्ञ अमृत योञ्जन–तामाङले तामाङ भाषाका बालपुस्तकको अवस्था बारे चर्चा गरेका थिए । उनले तामाङ भाषामा बालपुस्तक जन्मेको तर बामे सर्न नसकेको कुरा औल्याउँदै नेपाल सरकार, नगरपालिका, गाउँपालिका र तामाङ घेदुङ संघले तामाङ भाषामा बालपुस्तक लेखनका लागि गरेका प्रयासका बारेमा पनि बताएका थिए । नेबासासका पूर्वअध्यक्ष तेजप्रकाश श्रेष्ठले नेपाल भाषाका बालसहित्य इतिहास र हालको अवस्था चर्चा गरेका थिए । द एसिया फाउन्डेसनकी प्रतिनिधि समिरा श्रेष्ठले इ लाइबेरीको आवश्यकता र महत्वको चर्चा गर्दै एशिया फाउन्डेसनले “इ लाइबेरी सञ्चालन, नेपाली र मातृभाषामा बालसाहित्य सङ्कलन÷प्रकाशनमा द एसिया फाउन्डेसनले गरेका प्रयासका बारेमा पनि चर्चा गरेकी थिइन् । सर्जक नवराज रिजालले भोजपुरी भाषाका बालसाहित्यको हालको अवस्था चर्चा गरेका थिए । नेपाल पुस्तकालय संघकी प्रतिनिधि तथा डिल्लिरमण–कल्याणी रेग्मी पुस्तकालयकी अध्यक्ष इन्दिरा दलीले नेपालमा पुस्तकालय र बालपुस्तकालयको विगतदेखि वर्तमानसम्मको अवस्था, पुस्तकालय र अझ बालपुस्तकालयको आवश्यकता, महत्व र अपरिहार्यलाई दर्शाउँदै आफ्नो विचार राखेकी थिइन् । नेपाल बालसहित्य समाज कार्यसमिति सदस्य उद्धवप्रसाद प्याकुरेलले समग्र कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको अन्तमा अध्यक्ष प्रा.डा.धु्रवकुमार घिमिरेले स्तरीय बालपुस्तक लेखन र प्रकाशन विकासमा नेपाल बालसाहित्य समाजको भूमिकाको चर्चा गर्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा विषय विशेषज्ञलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
१० विश्व बालपुस्तक दिवसको अवसरमा ‘बालपुस्तकका पाठकहरू’ अन्तरक्रिया कार्यक्रम
विश्व बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजना तथा श्री जनविकास मा.वि.सँगको सहकार्यमा ‘बालपुस्तकका पाठकहरू’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यतामा साथ सम्पन्न भएको छ । २०७८ वैशाख ३ गते श्री जनविकास मा.वि. बल्खु, काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरणको कार्यक्रममा ‘पाठक तथा समीक्षक क्लब’अन्तर्गत बालसाहित्यकार शान्ति सापकोटाद्वारा लिखित “टलक्क आँखा” बालकथा सङ्ग्रहको पाण्डुलिपिमाथि समीक्षा भएको थियो । ‘पाठक तथा समीक्षक क्लब’ नेपाल बालसाहित्य समाजले विगत केही वर्षदेखि निरन्तर रूपमा संचालन गर्दै आइरहेको कार्यक्रम हो । यस क्लबले बालपुस्तक तथा पाण्डुलिपिमाथि चर्चा/समीक्षा गर्ने गर्दछ । नेपाल बालसाहित्य समाजका अक्ष्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा भएको यस चरणको कार्यक्रममा उक्त बालकथा सङ्ग्रह भित्र रहेका ५ ओटा बालकथामाथि बालबालिका तथा प्रौढ समीक्षकहरुले समीक्षा गरेका थिए । बालबालिकाहरू सम्झना चौधरी (कक्षा ८), सङ्गीता कालिकोटे (कक्षा ८), समीक्षा भण्डारी (कक्षा ७), मनिषा पुलामी (कक्षा ७) र गौरी धामी (कक्षा ७) तथा बालसाहित्य सर्जक ध्रुव घिमिरेले पाण्डुलिपिमाथि समीक्षा गर्दै महत्वपूर्ण सुझाव दिएका थिए । लेखिका शान्ति सापकोटाले महत्वपूर्ण सुझावहरुप्रति खुसी व्यक्त गर्नुभएको थियो । समीक्षक बालबालिकालाई पुरस्कार स्वरूप बालपुस्तक प्रदान गरिएको थियो । यस चरणको कार्यक्रम समापन गर्दै सभाध्यक्षले बालबालिकाका लागि लेखिने बालसाहित्य सामग्री बालबालिकालाई नै समीक्षा गराउनुको उद्देश्य, महत्वमाथि प्रकाश पार्नु भएको थियो ।
दोस्रो चरणको अन्तरक्रिया कार्यक्रम नेबासासका उपाध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा शुभारम्भ भएको थियो । ‘बालपुस्तकका पाठकहरू’ विषयमा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा आठसम्मका उपस्थित सम्पूर्ण बालबालिकालाई बालपुस्तक वितरण गरिएको थियो । उक्त कार्यक्रममा नेबासासका कार्यसमिति सदस्य सजनी नौबागेले बालपुस्तक पठनका बारेमा आफ्ना अनुभव बताउनुभएको थियो । नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले विद्यालयमा बालपुस्तकालय र कक्षाकोठामा बालपुस्तकको आवश्यकतामाथि प्रकाश पर्नुभएको थियो । नेबासासका महासचिव यशु श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुका साथै बालबालिका, शिक्षक तथा अभिभावकका लागि बालपुस्तकको महत्व, आवश्यकताको चर्चा गर्नुभएको थियो । कार्यक्रममा केही विद्यार्थीहरूले बालपुस्तक पढेर भएको फाइदा र सिकेका कुराहरू आदानप्रदान गरेका थिए । विद्यालयका प्र.अ. सीतादेवी ढकालले कार्यक्रम भव्य र प्रभावकारी भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमआयोजना गरी बालबालिकाहरूलाई उत्प्रेरित गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेबासास कार्यसमिति सदस्य मञ्जु ज्ञवाली, आजीवन सदस्य लालबहादुर भुजेललगायत शिक्षक/शिक्षकाहरूको उपस्थिति रहेको थियो ।बालपुस्तकले आफूलाई कसरी सकारात्मक परिवर्तन ग¥यो ? पठन संस्कृतिको विकास कसरी हुन्छ र किन आवश्यक छ ? बालपुस्तकको अपरिहार्यता किन र कस्तो रहेको छ भन्ने आफ्ना अनुभवसहितको मन्तव्य राख्दै यस सत्रका अध्यक्ष प्रमोद प्रदानले कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।
११. डिल्लिरमण रेग्मी जीवनी लेखन
डिल्लिरमण रेग्मीको जीवनी लेखनका लागि ‘डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयबाट हाम्रो प्रस्तावलाई स्वीकार गरी पुस्तकालयले केही आर्थिक सहयोग यस समाजलाई गरेकाले अग्रणी व्यक्तित्व डिल्लिरमण रेग्मीको जीवनी लेखन कार्य यस समाजले गरेको छ । यस लेखनको जिम्मेवारी सुशीला प्रधानाङ्गले गर्नुभएको छ भने यसको सम्पादन प्रा. डा. ध्रुवकुमार घिमिरेले गर्नुभएको छ ।
१२. कर्मचारीको नियुक्ति
यस समाजको नियमित रूपमा कार्यालय संचालन गर्नका लागि एक कर्मचारी नियुक्ति गरिएको छ । कार्यालय विहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म खुल्ने गरी सरिता मोक्तान नामको कर्मचारीलाई नेबासासले नियुक्त गरेको हो । एक हप्ताको परीक्षणपश्चात उनलाई यस समाजले नियुक्ति दिएको हो ।
१३. २०७६/७७ सालमा प्रकाशित बालपुस्तकको खरिद
नेबासासको योजनाअनुरूप २०७६ तथा ०७७ सालमा प्रकाशित भएका बालपुस्तकहरू नेपालभित्रका सबै भाषाभाषीका (अनुवादबाहेक) तथा नेपाल बाहिरबाट नेपाली भाषाका बालपुस्तकहरू नेबासासले खरिद गरेको छ । अभिलेखीकरण, उत्कृष्टता छनौटलगायतका कार्यका लागि नेबासासले यी बालपुस्तकहरू खरिद गरेको हो । यो कार्य अब उप्रान्त हरेक वर्ष गरिनेसमेत निर्णय गरिएको छ । यो कार्यमा सहयोग सङ्कलन गर्न सक्रिय भूमिका निर्वाह गर्ने कार्यसमिति सदस्य सजनी नौबागेलाई धेरै धन्यवाद ।
१४. आबिबिवाई नवीकरण
आबिबिवाईको सदस्य रहेको यस समाजले हरेक वर्ष आबिबिवाईमा सदस्यता नवीकरण गर्नुपर्ने भएकोले २०२१ का लागि पनि सदस्यता नवीकरण गरिएको छ ।
१५. १०० बालपुस्तक अनुवाद
नेपाल बालसाहित्य समाजले युनेस्को तथा Global Digital Library को सहयोग तथा रिड ग्लोबलको संयोजनमा Global Digital Library मा रहेका बालपुस्तकहरूमध्ये १०० वटा बालपुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने कार्य सम्पन्न गरेको छ । Global Digital Library मा ६००० भन्दा बढी बालपुस्तकहरू रहेका छन् भने ७० भन्दा बढी भाषामा बालपुस्तकहरू अनुवाद भएका छन् । यिनै पुस्तकहरूमध्ये १०० बालपुस्तकहरूलाई नेपाल बालसाहित्य समाजले रिड नेपाल तथा अपाङ्गताका अधिकार र विकासका लागि क्रियाशील नेपाल (एड्राड्)सँगको सहकार्यमा यस कार्य सम्पन्न गरेको हो । अनुवादित बालपुस्तकहरू नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त भएपछि दृष्टविहीन बालबालिकाका लागि पहुँचयोग्य पुस्तक जस्तै ब्रेल एचटिएमल, मल्टिमिडिया जस्ता विधाहरूमा निर्माण भएका छन् । पहुँचयोग्य पुस्तक बनाउने सम्पूर्ण जिम्मेवारी लिई एड्राड् नेपालले अनुकरणीय कार्य गरेको छ ।
नेपाल बालसाहित्य समाजका तर्फबाट समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, रिड नेपालका अध्यक्ष तथा समाजका आजीवन सदस्य श्री भोला श्रेष्ठ, समाजका महासचिव श्री यशु श्रेष्ठ तथा समाजका आजीवन सदस्य श्री इन्दिरा दलीसहितको एक सहजीकरण समिति गठन गरी यस परियोजनालाई अगाडि बढाउने कार्य गरेको थियो । सहजीकरण समितिले युनेस्को, Global Digital Library, रिड ग्लोबल, रिड नेपाल तथा एड्राड्लगायतका साझेदारी संस्थाहरूसँग विभिन्न चरणमा बैठक बस्दै परियोजनालाई एउटा मूर्त रूपमा ल्याउन सफल भएको थियो । समाजका आजीवन सदस्य भोला श्रेष्ठको सहयोग बिर्सिनसक्नु रहेको छ । उहाँलाई हार्दिक धन्यवाद ।
Global Digital Library ले दिएको ३७८ बालपुस्तकहरूबाट आवश्यक १०० पुस्तक चयन सहजीकरण समितिमार्फत गरियो । पुस्तक चयनपश्चात अनुवादका लागि आवश्यक जनशक्तिको खोजी गर्दै नेबासासले एउटा सूचना जारी गर्यो । अनुवाद गर्न इच्छा देखाएका अनुवादकहरूलाई वैशाख २४ गते समाजका महासचिव यशु श्रेष्ठद्वारा जुममार्फत तालिम दिलाई अनुवादको कार्य अघि बढाइएको थियो । अनुवाद कार्य डिजिटल पृष्ठमै गर्नुपर्ने भएकोले केही प्राविधिक जानकारी आवश्यक रहेकाले २०७८ वैशाख २६ गते जुममार्फत नै सम्पादक समूहलाई पनि यशु श्रेष्ठद्वारा नै तालिम दिइएको थियो । तालिमपश्चात अनुवादकहरूले आआफ्ना सम्पादकसँगको सहकार्यमा अनुवाद कार्य सम्पन्न गरी GDL को page मा अनुवादित पुस्तकको लिङ्क अपलोड गरेका थिए । अपलोड भएका लिङ्कहरूलाई सहजीकरण समितिले पुन:सम्पादन गर्दै UNESCO, GDL, READ GLOBAL, READ NEPAL र ADRAD मा बुझाएको थियो । साझेदार संस्थाहरूको सुझावपश्चात कथाहरूलाई पुन: परिमार्जन गरेर अन्तिम स्वरूप दिई दृष्टिविहीन बालबालिकाका लागि उपयोगी हुन्छ वा हुँदैन भनेर ADRAD सँग छलफल भएको थियो । ४ दिनसम्मको लगातार छलफल र सुझावअनुसारको परिमार्जनपछि अनुवाद कार्य सम्पन्न भएको थियो ।
समाजका अध्यक्ष प्रा.डा. घिमिरेको संयोजकत्वमा अगाडि बढाइएको यस अनुवाद परियोजनामा १९ जना अनुवादकले १३ जना सम्पादकहरूसँग सहकार्य गरेको थिए । GDL को page मा भएका १०० पुस्तकमध्ये नेपाली लेखकका २८ वटा पुस्तक सम्भव भएसम्म स्वयं लेखकमार्फत् पुस्तकलाई अनलाइन संस्करणमा अपलोड गरिएको थियो । दृष्टिविहीन बालबालिकाका लागि पुस्तक निर्माण गर्नुपर्ने हुँदा, पुस्तकमा भएका चित्रहरू उनीहरूका लागि पुहुँचयोग्य नहुने भएकाले चित्रका समेत वर्णन गरेर अङ्ग्रेजीमा भएका सबै अनलाइन पुस्तकलाई नेपालीकरण गरिएको हो । १०० पुस्तकमध्ये ३५ पुस्तक तह १, ३५ पुस्तक तह २, २० पुस्तक तह ३ र १० पुस्तकहरू तह ४ का लागि अनुवाद भएका हुन् । यीमध्ये पनि ५ पुस्तकलाई ५ वटा मातृभाषा (नेपाल भाषा, मैथली, अवधि, गुरुङ र तमु)मा ५ मातृभाषीहरूद्वारा नै अनुवाद गरी पहुँचयोग्य पुस्तक बनाइएका छन् । अनलाइन अनुवाद प्राय: सबैजसो अनुवादक तथा सम्पादकहरूलाई नौलो विषय भएकाले अनुवाद तथा सम्पादनभन्दा पनि प्रविधिमा निकै मेहनत गर्नुपरेको कुरा अनुभव गरिएको थियो । प्रविधिका कुरा बुझाउन सहजीकरण समितिले निकै समय र खर्चनु परेको थियो भने अनुवादक/सम्पादकले यसमा निकै मिहिनेत गर्नुपरेको थियो । कोरोनाका करण भएको बन्दाबन्दी तथा कतिपय यही समूहका साथीहरूसमेत कोरोना सङ्क्रमित हुनुभएकाले केही रूपमा चुनौती भने खेप्नु परेको कुरा सहजीकरण समितका सदस्यहरूले बताउनुभयो । अनुवादित १०० पुस्तकलाई सम्पादन गरी यसको अन्तिम स्वरूपलाई कथावाचनको रेकर्डिङ गरिएको थियो । यसरी लक्षित वर्गका लागि पहुँचयोग्य पुस्तक बनाउनु एउटा स्वागत योग्य कदम हो ।
१०० पुस्तकको कथावाचनका लागि ADRAD ले प्रविधिक रूपमा सम्पूर्ण जिम्मेवारी लिएको थियो । ADRAD ले साझेदार संस्थाकै फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालमा रहेका कथावाचनका भिडियो वा नेबासासले उपलब्ध गराएका जनशक्तिको भिडियो/अडियो सुनेर त्यसमध्येबाट जनशक्ति छनौट गरी उनीहरुको स्वर परीक्षण गरेर कथावाचकको छनौट गरेको थियो । यसखाले प्रविधिमा दृष्टिविहीन बालबालिकाका लागि पुस्तक निर्माण नेपालमै पहिलो पहिलो पटक भएको र यस्तो सफ्टवेयर पनि ADRAD ले नै संयोजन गरेको थियो ।
नेपाल बालसाहित्य समाज तथा सिङ्गो नेपाली र नेपालका अन्य भाषाका बालसाहित्यको क्षेत्रमा यसलाई एउटा उल्लेख्य उपलब्धिका रूपमा लिन सकिन्छ । GDL मा uploding भएपछि विश्वका जुनसुकै कुनामा रहेका दृष्टि क्षमता कम भएका र अन्य सबल नेपाली भाषीसहित नेपालका अन्य पाँच भाषाका बालबालिकाहरू समेत यसबाट लाभान्वित हुने छन् ।
अनुवादक | सम्पादक | |||||||||
क्र. सं | नाम | क्र.सं. | नाम | क्र.सं. | नाम | |||||
१. | अनन्त वाग्ले | १४. | राजेन्द्रभक्त जोशी | १. | प्रा.डा. ऋषिराम शर्मा | |||||
२. | अनुराधा | १५. | रामदेव पाण्डे | २. | प्रा. डा.कपिलदेव लामिछाने | |||||
३. | उद्धव प्याकुरेल | १६. | शान्ती सापकोटा | ३. | श्री गणेशप्रसाद भट्टराई | |||||
४. | कविता सापकोटा | १७. | शाश्वत पराजुली | ४. | प्रा. डा. चूडामणि बन्धु | |||||
५. | कृष्णदीप सिग्देल | १८. | सजनी नौबागे | ५. | श्री जयन्ती स्पन्दन | |||||
६. | जयप्रसाद लम्साल | १९. | सुशीला प्रधानाङ्ग | ६. | प्रा. डा. जीवेन्द्रदेव गिरी | |||||
७. | तेजप्रकाश श्रेष्ठ | ७. | प्रा. डा. ध्रुवकुमार घिमिरे | |||||||
८. | ध्रुवकुमार घिमिरे | ८. | श्री भिक्टर प्रधान | |||||||
९. | प्रमोद प्रधान | ९. | श्री महेश पौडेल | |||||||
१०. | मञ्जु ज्ञवाली | १०. | डा. यादेवी ढकाल | |||||||
११. | मुकेश चालिसे | ११. | श्री रमेशचन्द्र घिमिरे | |||||||
१२. | यशु श्रेष्ठ | १२. | डा. शैलुन्दुप्रकाश नेपाल | |||||||
१३. | यादवचन्द्र निरौला | १३. | श्री हरिप्रसाद भण्डारी | |||||||
पाँच भाषाका अनुवादकहरू | ||||||||||
क्र.सं. | अनुवादक | भाषा | ||||||||
१. | अनिता गुरुङ | गुरुङ | ||||||||
२. | अंशु झा | मैथली | ||||||||
३. | सन्चु ब्लोन | तामाङ | ||||||||
४. | तेजप्रकाश श्रेष्ठ | नेपाल भाषा | ||||||||
५. | विक्रममणि त्रिपाठी | अवधि | ||||||||
कथावाचकहरू | ||||||||||
क्र. सं. | कथावाचकको नामावली | |||||||||
१. | प्रा डा ध्रुवकुमार घिमिरे | |||||||||
२. | शाश्वत पराजुली | |||||||||
३. | कृष्णदीप सिग्देल | |||||||||
४. | बन्दना पोखरेल | |||||||||
५. | पूजा गच्छदार | |||||||||
६. | सजनी नौबागे | |||||||||
७. | सम्झना महर्जन | |||||||||
८. | यशु श्रेष्ठ | |||||||||
९. | सञ्चु ब्लोन | |||||||||
१०. | अनिता गुरुङ | |||||||||
११. | अंशु झा | |||||||||
१२. | विक्रममणि त्रिपाठी | |||||||||
१३. | विरेन्द्र पोखरेल | |||||||||
१६. घर घरमा बालसाहित्य कार्यक्रम
नेपाल बालसाहित्य समाजको आयोजनामा ‘घरघरमा बालसाहित्य’ अवधारणाको एक वेभिनार सम्पन्न भएको छ । बालबालिकाकै एक सक्रिय संस्था ‘नवसर्जक साहित्य चौतारी’, कथावाचन सुन्न सकिने युट्युव च्यानल ‘सहज सिकाइ’, डिजिटल पुस्तकालय ‘साझा शिक्षा ईपाटी’, द एसिया फाउन्डेसनको ‘लेट्स रिड’ तथा बालसाहित्य र शिक्षाको क्षेत्रमा विशेष भूमिका निर्वाह गरिरहेको संस्था रुम टु रिडसँगको सहकार्यमा २०७८ जेठ २९ गते यो कार्यक्रम सम्पन्न भएको हो । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा नवसर्जक साहित्य चौतारीका तर्फबाट उपाध्यक्ष विभूति अधिकारीले आफ्ना धारणा राख्नुभएको थियो । सहज सिकाइका तर्फबाट बालसाहित्य सर्जक शाश्वत पराजुलीले सहज सिकाइ युट्युव च्यानलमा कस्ताकस्ता सामग्रीहरू छन् र यसलाई कसरी बालबालिकालगायतले हेर्न, पढ्न र सुन्न सक्छन् भनेर प्रदर्शन गर्नुभएको थियो । कार्यक्रममा सहज सिकाइ च्यानलबाटै कथावाचन पनि प्रस्तुत गरिएको थियो । यो च्यानलको पहुँचमा पुग्नका लागि युट्युवमा Easy Learning Nepal भनेर खोजियो भने सजिलै प्राप्त गर्न सकिन्छ ।
साझा शिक्षा ईपाटी (OLE Nepal) अर्थात ई-लाइब्रेरीका तर्फबाट गणेश घिमिरेले साझा शिक्षा ईपाटी के हो र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा प्रदर्शन गर्नुभएको थियो । साझा शिक्षा ईपाटीमा विभिन्न उमेर समूहका लागि लेखिएका बालपुस्तकहरूदेखि पाठ्यपुस्तकसम्म र सुन्न अनि हेर्न सकिने अडियो/भिडियोहरूदेखि विभिन्न खेलहरूसम्म तथा विविध साहित्यिक पुस्तकहरूसमेत रहेका छन् भने यसलाई अनलाइन अनि अफलाइन पनि पढ्न सकिन्छ । pustakalaya.org भित्र यी सम्पूर्ण सामग्रीहरू प्राप्त गर्न सकिन्छ । यसैगरी लेट्स रिडका तर्फबाट द एसिया फाउन्डेसनकी कार्यक्रम अधिकृत समीरा श्रेष्ठले लेट्स रिडको विशेषता, यसको प्रयोग र उपयोगिताका बारेमा प्रस्तुत गर्नुभएको थियो । लेट्स रिड एप मोबाइल अनि डेस्कटप वा ल्यापटप सबैबाट प्राप्त गर्न सकिन्छ । ‘लेट्स रिड’ द एसिया फाउन्डेसनको एक प्रमुख परियोजना हो । यसभित्र विभिन्न देशका, विभिन्न भाषाका सिर्जनाहरू हेर्न\सुन्न\पढ्न सकिन्छ । नेपालका कतिपय जातजातिका लोककथाहरू पनि यस एपमा प्राप्त गर्न सकिन्छ । letsreadasia.org भनेर खोजियो भने यसलाई हामी प्राप्त गर्न सकिन्छ । कार्यक्रममा रुम टु रिडका तर्फबाट अनन्त वाग्ले तथा विपिन सोडारीले रुम टु रिडले सुरु गरेको literacycloud.org का विशेषता, प्रयोग, उपयोगिता र सामग्रीहरूका बारेमा प्रदर्शन गर्नुभएको थियो । www.literacycloud.org भित्र गएर हामीले विभिन्न बालकथाहरू पढ्न, सुन्न र हेर्न सक्छौँ । लोकप्रिय कथाहरूको सङ्गालोसहित बालबालिकाहरूका लागि विभिन्न सामग्रीहरू रहेको यस डिजिटल लाइब्रेरी अझै परिष्कृत हुँदैछ भन्ने जानकारीसमेत गराइएको थियो । कोरोनाका कारण भएको बन्दाबन्दीले बालबालिका/शिक्षक/अभिभावकहरू घरमै थुनिनु परेको र यस बेलामा पढ्नका लागि सामग्रीहरूको अभाव भइरहेको नेबासासले महसुस गरेर यो वेभिनार संचालन गरेको हो । घरमै बसी बसी कसरी पुस्तकहरूमा पहुँच पुर्याउँन सकिन्छ त ? यो बेलामा पठन सिप, संस्कार र संस्कृतिको विकासका लागि केही सहयोग गर्न सकिन्छ कि ! भनेर नै यो वेभिनार संचालन गरिएको थियो । वेभिनार यही जेठ २९ गते भएको हो । नेबासासका महासचिव यशु श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा श्रेष्ठले डिजिटल पुस्तक मात्रै होइन, यस्तो बेलामा कसरी छापा पुस्तकहरूसमेत लक्षित समूहमाझ पुर्याउँन सकिन्छ भनेर आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बालबालिका शीतल मगर, बसन्ती कुँवर, बालसाहित्य सर्जक गङ्गा कसजू, पुस्तकालय विज्ञ इन्दिरा दली, अभिभावक अन्जु लम्सालले विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो । नेबासासका कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रमोद प्रधानले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
१७. बालकविता प्रशिक्षण
आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । नेपाल बालसाहित्य समाजले पनि भानुभक्तको जन्मजयन्तीलाई “बालकविता प्रशिक्षण” कार्यकम गरेर मनाएको छ । बालबालिकाको संस्था ‘नवसर्जक साहित्य चौतारी’सँगको सहकार्यमा भर्चुअलमाध्यमबाट भएको यस प्रशिक्षण कार्यक्रमको सभापतित्व नेबासासका अध्यक्ष प्रा.डा. ध्रवकुमार घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सुन्दर संचालन संस्थाका महासचिव यशु श्रेष्ठले गर्नुभएको थियो । उहाँले अबको एक महिनापछि पुनः यस्तै कार्यक्रम गरी आज प्रशिक्षण गरिएका छन्दहरूबाट भाइबहिनीहरूले लेखेका कविताहरू सुन्ने/सुनाउने कार्यक्रम पनि गरिने छ भन्ने जानकारी पनि दिनुभएको थियो ।
सभाध्यक्षले आदिकवि भानुभक्तको रामायणलाई लोकले के कस्ता लयमा गाउने गरेका छन् भनी नमुना प्रस्तुत गर्दै सुरुवात गर्नुभएको यस कार्यक्रममा १०० जनाभन्दा बढी बालबालिका, शिक्षक, अभिभावक, बालसाहित्य सर्जक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । प्रशिक्षकहरूमा डा. देवी नेपाल, सीता सुवेदी पन्थी तथा शान्ति सापकोटा रहनुभएको थियो । डा. देवी नेपालले बालोरीलगायतका बाल लोकलय, सीता सुवेदी पन्थीले सेलो र शान्ति सापकोटाले झ्याउरे लयमा बालकविता लेखन प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा बालबालिकाहरूको सहभागिता रहर लाग्दो थियो । २०७८ असार २९ गते भएको यस कार्यक्रममा बालबालिकाहरू अत्यन्त रोचक र रमाइलो मान्दै सहभागी भएका थिए ।
नवसर्जक साहित्य चौतारीका अध्यक्ष प्रशन्ना अधिकारीले यस्तो सुन्दर कार्यक्रममा आफू पनि सहभागी हुन पाएको र बालबालिकाहरूलाई प्रशिक्षण दिएर उत्साह र हौसला प्रदान गरेकोमा कार्यक्रम आयोजकलाई बधाई दिँदै धन्यवाद ज्ञापनसमेत गर्नुभएको थियो । उहाँले साथी तथा भाइबहिनीहरूलगायत सबैलाई बालकविता लेखनमा निरन्तर लागिरहन सुझाव पनि दिनुभयो । त्यस्तै चौतारीका सदस्य आकृति भण्डारीले आफूले सवाई, झ्याउरे र बालोरी बाल लोकलयको सुत्रमा ढालेर कविता लेख्न/सिक्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै कार्यक्रम अत्यन्त फलदायी र प्रभावकारी रहेको बनाउनुभएको थियो ।
सर्जक सुशीला प्रधानाङ्गले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भानुभक्तका बारेमा लेखिएको कविता वाचन गर्नुभएको थियो भने कवि रमेशचन्द्र घिमिरेले भानुभक्त र घाँसी कविता वाचन गर्नुभएको थियो । कार्यक्रम भव्य र सभ्य भएकोमा सबैप्रति आभार र धन्यवाद व्यक्त गर्दै, सभापति ध्रुवकुमार घिमिरेले ‘भोलाको झोला’ कविता सुनाउँदै कार्यक्रमकलाई विट मार्नुभएको थियो ।
१८. ब्रेल पुस्तकको लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम
नेपाल नेत्रहीन संघसँगको सहकार्यमा नेपाल बालसाहित्य समाजले ‘मेरो गाउँको कथा’ शीर्षकको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन बालबालिकाहरूका ‘सुन्दर आशाहरू’का बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । २०७८ साउन ९ गते गुरुपूर्णिमाका अवसरमा आयोजित वेभिनारमा विशेषत: दृष्टिविहीन बालबालिकाका लागि तयार पारिएको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन र दृष्टियुक्तबिच एकअर्कामा कस्ता आशाहरू रहेका हुन्छन् ? उनीहरूले समाजलाई कसरी हेरेका हुन्छन् भन्ने विषयमा अन्तरक्रिया भएको थियो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बुको प्रमुख आथित्यमा सम्पन्न यस कार्यक्रममा विशेष व्यक्तित्वका रूपमा समाजका संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धु रहनुभएको थियो । समाजका कार्यसमिति सदस्य उद्धव प्याकुरेलले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यसमिति सदस्य सजनी नौबागेले लोकार्पित पुस्तकका बारेमा प्रकाश पार्नुभएको थियो । यशु श्रेष्ठले संयोजन तथा सम्पादन गरी नेबासासबाट प्रकाशित यस पुस्तकका प्रधान सम्पादक प्रा.डा. चूडामणि बन्धु तथा प्रा.डा. ध्रुवकुमार घिमिरे रहनुभएको छ भने ब्रेल लिपि सम्पादक नीरकुमार मगर रहनुभएको छ । यामदा परियोजनाअन्तर्गत प्रकाशित यस पुस्तकमा बाँके जिल्लाका चिडिमार, दोलखा जिल्लाका थामी र चितवन जिल्लाका चेपाङ जातिका लोककथा, लोकसंस्कार, लोकजीवन र आफ्ना कथाहरू रहेका छन् । प्रमुख अतिथि, सभाध्यक्ष तथा संस्थापक अध्यक्षले यस पुस्तकको लोकार्पण गर्नुभएपछि अन्तरक्रिया सुरु भएको थियो ।
अन्तरक्रियामा आफ्नो धारणा राख्नु हुँदै अल्पदृष्टियुक्त किशोरी मुना भट्टराईले गाउँघरका कथा यसरी ब्रेलमा पढ्न पाउनु ठुलो अवसर भएको बताउनुभयो । उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “सानो छँदा कथाहरू पढ्न मन लाग्थ्यो तर अक्षर देखिँदैन थियो । यस्ता ब्रेल पुस्तक एकदमै सिमित थिए अनि कताबाट पढ्न पाउनु ! आज यसरी कथा नै ब्रेल लिपिमा प्रकाशन भएको देखेर असाध्यै खुसी लागेको छ । अझै धेरै यस्ता पुस्तकहरू प्रकाशन हुँदै जाओस् । अब आउने पिँढीहरूलाई सजिलो हुँदै जाने छ ।”
त्यसैगरी मोरङ नेत्रहीन संघका निवर्तमान अध्यक्ष सावित्रा कोइरालाले नेबासासबाट यस्तो सराहनीय कार्य भएको थाहा पाउँदा असाध्यै खुसी लागेको र आउँदा दिनमा अझै फरक कथाहरूको पनि यस्ता पुस्तकहरू प्रकाशन होस् भन्ने चाहना राख्नुभयो । दृष्टिविहीन बालिका साहित्यकार कुसुम घिमिरेले साहित्य के हो, कसरी लेखिन्छ, कसरी प्रकाशन हुन्छ भनेर ब्रेल लिपिमा अध्ययन गर्न नपाएकोमा दु:ख लागेको, हचुवाको भरमा अलिअलि साहित्य लेख्दै प्रकाशनका लागि कोसिस गर्नु परेको, प्रकाशन गर्ने व्यवस्था पनि कसरी हुन्छ थाहा नपाएको भन्दै यस्ता विविध विषयहरूमा पनि दृष्टिविहीनहरूले पढ्न सक्ने सामग्री बन्नु पर्यो, प्रकाशन गर्ने बाटो बताइदिनु पर्यो र समान अवसर दिनुपर्यो भन्ने धारणा राख्नुभयो ।
संस्थापक अध्यक्ष प्रा. डा. चूडामणि बन्धुले नेपालको संस्कृति र मिथकीय कथाहरू दृष्टिविहीन बालबालिकाहरूका लागि यसरी प्रकाशन हुनु अत्यन्त्यै महत्वपूर्ण र एउटा ऐतिहासिक काम भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा यसको निरन्तरताको शुभकामना दिनुभयो ।
प्रमुख अतिथि नरबहादुर लिम्बुले सरकारले दिने पाठ्यपुस्तक नै दृष्टिविहीन बालबालिकामा माझ पुग्न नसकेको, यसका लागि सङ्घर्ष गरिरहनु परेकोमा यसरी दुर्गम स्थान र विभिन्न जिल्लामै पुगेर स्थालगत अवलोकन गरी विभिन्न जातजातिका संस्कृति, लोकजीवनलाई कथा बनाई ब्रेल पुस्तक प्रकाशन हुनु असाध्यै सुखद पक्ष रहेको र यसले दृष्टिविहीन बालबालिकाहरू असाध्यै खुसी हुने कुरा बताउनुभयो । यस्ता सामग्रीहरूको असाध्यै खाँचो रहेको र यसतर्फ सबैले सोच्नु पर्ने कुरामा जोड दिनुभयो । नेबासासका महासचिव यशु श्रेष्ठले कार्यक्रम संचालन गर्दै भित्री मनले देख्नेहरूका लागि यस्ता धेरै कामहरू गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. कपिलदेव लामिछाने, ललिता दोषी, भुवन राईलगायतले आफ्ना धारणा राख्नुभएको थियो । समाजका कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो भने नेबासासले यस्ता योजनाहरू सोचिरहेको, ब्रेल र यसका विविध आयामहरूमा केही कामहरू पनि भइरहेको जानकारी दिँदै सभाध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले विसर्जन गर्नुभएको थियो ।
१९. प्रारम्भिक बालसाहित्य र राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह परिचर्चा
राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहलाई हामी राष्ट्रिय शिक्षाका जनक, शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व, शिक्षासेवी, बालसाहित्यका सूत्रधार, एक मानवतावादी व्यक्तिको रूपमा चिन्दछौँ । उनको योगदान नेपाली समाजका लागि अतुलनीय छ । बेलायतीहरू भन्दथे, ‘जयपृथ्वीबहादुर दोस्रा बुद्ध हुन् ।’ आफ्ना राजकाज छाडेर, सारा सम्पत्ती जनताका नाममा गरिदिई सम्पूर्ण जीवन नै मानवता र शिक्षाका लागि समर्पण गर्ने एक महान् मानव हुन् जयपृथ्वीबहादुर । बालबालिकाहरुलाई कसरी असल शिक्षा दिन सकिन्छ ? कसरी पाठशालाहरुको स्थापना गर्न सकिन्छ ? पाठशालाका लागि आवश्यक पुस्तकहरु कसरी लेख्न र प्रकाशनसमेत गर्न सकिन्छ भनेर सोच्ने मात्र होइन, कार्यान्वयन नै गर्ने एक दूरदर्शी शिक्षासेवी तथा बालपुस्तकहरुका सर्जक बझाङी राजा जयपृथ्वीबहादुरको १४५ औँ जन्मजयन्ती प्रारम्भिक बालसाहित्य र जयपृथ्वीबहादुर सिंह” परिचर्चा गरी मनाइएको छ ।
नेपाल बालसाहित्य समाजको आयोजनामा २०७८ भाद्र ०७ गते वेभिनारमार्फत भएको यस परिचर्चा कार्यक्रममा नेबासासका आजीवन सदस्य एवं सर्जक रामदेव पाण्डे तथा जयपृथ्वीबहादुर क्याम्पसमा प्राध्यापक लालबहादुर बोहोराले आआफ्नातर्फबाट परिचर्चा–पत्र प्रस्तुत गर्नुभएको थियो । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको सभाध्यक्षमा भएको यस परिचर्चा कार्यक्रममा जयपृथ्वीको योगदान र मूल्याङ्कनको चर्चा गर्दै नेबासासका महासचिव यशु श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । सचिव डा.यादेवी ढकालले संचालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि मानववाद तथा जयपृथ्वीबहादुर फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले ‘अझै पनि हामीले जयपृथ्वीबहादुर सिंहलाई न्याय गर्न सकिरहेका छैनौँ । राष्ट्रिय विभूति घोषणाका लागि प्रयत्न गर्यौँ । पाठ्यपुस्तकमा स्थान दिन अनुरोध गर्यौँ तर उचित पहलकदमी भएन’ भन्दै उनको योगदान बिर्सन नहुनेमा जोेड दिनुभयो । बझाङीले उनको नाममा क्याम्पसदेखि एफ.एम.सम्म र नगरपालिकाको नामदेखि राजमार्गको नामसम्म जोडेको कुरा पनि उहाँले स्मरण गर्नुभयो । नेबासासका संस्थापक सदस्य प्रा.डा.चूडामणि बन्धुले सिंहको योगदानका चर्चा गर्दै उनको योगदानलाई सम्पूर्ण नेपालीले सम्मान गर्नुपर्ने बताउनुभयो ।
उत्तम निरौला, विकास थापा, प्रविण चन्दा, खोलाघरे साइलालगायतले जयपृथ्वीको बहुआयामिक व्यक्तित्वलाई उचाल्ने गरी हामी नेपालीले उनलाई न्याय गर्नुपर्ने कुरा राख्नुभयो । जयपृथ्वी एफ.एम. ९६.३ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण भएको यस कार्यक्रममा योगदान दिने र उपस्थित सबैलाई नेबासासका उपाध्यक्ष प्रमोद प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
२०. बालदिवस २०७८ का अवसरमा बालकविताहरू वाचन कार्यक्रम
राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बालसाहित्य समाजले “बालकविता वाचन कार्यक्रम” आयोजना गरेको छ । नवसर्जक साहित्य चौतारी, नेपाल, नेपाल आदर्श मा. बि. काठमाडौँ र बकेना बालबाटिका स्कुल, चितवनसँगको सहकार्यमा यो कार्यक्रम भएको हो । लोकप्रिय बालसाहित्य सर्जक बूँद रानाको प्रमुख आतिथ्य, प्रभा भट्टराईको विशिष्ट आतिथ्य तथा प्रतिभावान् छात्रा इलिशा पराजुलीको विशेष आतिथ्यतामा भएको कार्यक्रमको संयोजन तथा सञ्चालन नेबासासका महासचिव यशु श्रेष्ठले गर्नुभएको थियो । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको सभापतित्वमा अगाडि बढेको यस कार्यक्रममा बालबालिकाहरूले असाध्यै उत्सुक भएर कविता वाचन गरेका थिए भने सँगसँगै पाका सर्जकहरूले पनि बालकविता वाचन गर्नुभएको थियो ।
बालदिवसको पूर्वसन्ध्याको अवसर पारी २०७८ भाद्र २६ गते आयोजित यस वेबिनारमा प्रा.डा. कपिलदेव लामिछाने, हरिप्रसाद भण्डारी, रमेशचन्द्र घिमिरे, रामविक्रम थापा, इन्द्रप्रसाद अधिकारीलगायतका बालप्रिय सर्जकहरूको उपस्थिति रहेको थियो । बालसाहित्य सर्जक ललिता दोषी, बिमला ढुङ्ना, सरस्वती श्रेष्ठ, पार्वती भट्ट तथा बालबालिकाहरू शोभा बरुवाल, बसन्ती कुँवर, विभूति अधिकारी, सोहन श्रेष्ठ, प्रभास घिमिरे, समर्पण न्यौपाने, सोहिना दाहाल, सिवांस यास्नालगायत धेरै भाइबहिनीहरूले बालकविता वाचन गर्नुभएको थियो । नेबासासको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको यस कार्यक्रमलाई रेडियो कैरन ९८.४ मेघाहर्ज, बाम्तीभणडार, रामेछापले पनि प्रशारण गरेको थियो ।
नेबासासकै आयोजनामा एक महिनाअगाडि बालकविता लेखन प्रशिक्षण भएको थियो । प्रशिक्षणमा प्रशिक्षित बालबालिकाले यसरी उत्साहित भएर कविता लेख्नु र वाचन गर्नुले बालसाहित्यिक क्षेत्रमा एक बूँद भए पनि उत्साह थपेको महसुस सहभागीहरूले गरेको थिए । “बालबालिकाबाट मैले धेरै कुरा सिकेको छु । आजको कार्यक्रममा पनि धेरै कुरा सिकेँ । हामी ठुलाले मात्र जानेका हुन्छौँ भन्ने होइन । साना नानीबाबुबाट धेरै कुरा सिक्न र जान्न सकिन्छ ।” भन्दै यसको उदारहणसहित मन्तव्य व्यक्तै गर्दै प्रमुख अतिथि बूँद रानाले आफ्ना बालरचनाहरू सुनाउनुभएको थियो । विशिष्ट अतिथि प्रभा भट्टराइ, विशेष अतिथि इलिसा पराजुली, अतिथि प्रसन्ना चौँलागाईँलगायतका अतिथिज्यूहरूले पनि मन्तव्यसहित बालकविता वाचन गर्नुभएको थियो ।
२१. कोरोना अनुभव सङ्कलन तथा पुस्तक प्रकाशन
नेपाल बालसाहित्य समाजले कोरोना महामारीका कारण विश्व त्राहिमाम् रहेको अवस्थामा हाम्रो देश नेपालका अभिभावक, शिक्षक र बालबालिकाहरूमा कोरोना महामारीको कस्तो प्रभाव रह्यो । कसरी उनीहरूले यसलाई भोगे र कसरी सुरक्षित रहन सके वा कसरी सुरक्षित रहन सकिने रहेछ वा सुरक्षित रहन नसकेको अवस्थामा केकस्तो परिस्थिति आयो र आउँदोरहेछ भन्ने अनुभव सङ्कलन गरी यसलाई पुस्तकको रूपमा प्रकाशन गर्ने लक्ष्य राखी कोरोना अनुभव सङ्कलन गर्ने कार्य गरेको छ । हिमाल, पहाड, तराई, गाउँ र सहरका पाँच स्थानमा गएर त्यस स्थानका बालबालिका, शिक्षक र अभिभावकका अनुभवहरू सङ्कलन गर्ने कार्य सम्पन्न गरेको छ ।
आइबिबिवाईको यामदापरियोजनाअन्तर्गत गरिएको यो कार्यक्रमबाट महामारीमा शिक्षक, अभिभावक र बालबालिकासमक्ष पुगेर उनीहरूका कुराहरू सुनिने, अनुभव सङ्कलन पनि हुने, सकेसम्मका सचेतनाका सुझावहरू पस्कन सकिने र सङ्कलित अनुभवलाई पुस्तकका रूपमा प्रकाशित गर्दा पछिल्लो पिँढीलाईसमेत उपयोगी हुने आशा राखिएको छ । महामारी केही हदसम्म कमी भएको अवसरलाई प्रयोग गरी नेबासासका प्रतिनिधिहरू कोरोनाबाट बच्न सकिने मास्क, स्यानिटाइजर, सरसरफाइ र भौतिक दुरी जस्ता सुरक्षाका उपायहरूलाई अवलम्बन गर्दै कार्यक्षेत्रमा जानुभएको थियो । यसरी जानु हुने प्रतिनिधिहरूलाई नेबासासले धन्यवादसमेत व्यक्त गरेको छ ।
हिमाली जिल्लाअन्तर्गत रसुवा, पहाडी जिल्लाअन्तर्गत काभ्रे, तरायली जिल्लाअन्तर्गत कञ्चनपुर र रुपन्देही (कपिलवस्तु पनि) तथा सहरी जिल्लाअन्गर्तग ललितपुर जिल्लाका बालबालिका, शिक्षक र अभिभावकहरूसँग भेटेर अनुभव सङ्कलन कार्य गरिएको हो ।
२०७८ असार ३० र ३१ गते रुपन्देही (कपिलवस्तु पनि) जिल्ला भ्रमण गरी मञ्जु ज्ञवालीले अनुभव सङ्कलन गर्नुभएको थियो भने साउन ११ र ३२ गते ललितपुर जिल्ला भ्रमण गरी यशु श्रेष्ठले अनुभव सङ्कलन गर्नुभएको थियो । यसैगरी भदौ ४ गते काभ्रे जिल्ला भ्रमण गरी उद्धव प्याकुरेल, सुशीला प्रधानाङ्ग र सरिता मोक्तानले अनुभव सङ्कलन गर्नुभएको थियो भने भदौ २५ गते यशु श्रेष्ठ, सुशीला प्रधानाङ्ग र सजनी नौबागेले रसुवा जिल्ला भ्रमण गरी तथा भदौ २९, ३० र ३१ गते कञ्चनपुर जिल्ला भ्रमण गरी प्रा. डा. ध्रुवकुमार घिमिरे र यशु श्रेष्ठले अनुभव सङ्कलन कार्य गर्नुभएको थियो । विभिन्न विद्यालय र अभिभावकहरूसमक्ष पुगेर नेबासासले तयार गरेको प्रश्नावलीलाई आधार बनाई यी अनुभवहरू सङ्कलन गरिएको हो ।
सङ्कलित अनुवभलाई समेटेर ‘सम्झनामा कोरोना’ शीर्षकको पुस्तक पनि प्रकाशन भइसकेको छ ।
२२. रसायन सुरक्षा, वातावरण र स्वास्थ्य विषयक अन्तरक्रिया
१४ औँ पुस्तकालय दिवसको अवसरमा डिल्लिरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको आयोजनमा रसायन सुरक्षा, वातावरण र स्वास्थ्य विषयक अन्तररक्रिया कार्यक्रम नेबासासको सहकार्यमा आयोजना भएको थियो । नेबासासका अध्यक्ष प्रा डा ध्रुवकुमार घिमिरेको सभापतित्वमा आयोजना भएको यस कार्यक्रममा प्रस्तुतिकर्ता रामचरित्र साह रहनुभएको थियो । २०७८ भाद्र १५ गते आयोजित यस कार्यक्रम रिड नेपाल, सामुदायिक बालविकास पुस्तकालय, जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रको सहकार्यमा भएको थियो ।
२३. बालबालिका, शिक्षक र अभिभावकका लागि पुस्तकालय र प्रयोग वेबिनार
राष्ट्रिय बालदिवसकै सन्दर्भमा नेपाल बालसाहित्य समाजले बालबालिका, शिक्षक तथा अभिभावकका लागि “पुस्तकालय र प्रयोग” कार्यक्रम आयोजना गरेको छ । डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, रुम टु रिड, रिड नेपाल, प्याब्सन सुदूर पश्चिम प्रदेश तथा एन प्याब्सन सुदूर पश्चिम प्रदेशसँगको सहकार्यमा यो कार्यक्रम भएको हो । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको सभापतित्व तथा प्रा.डा. चूडामणि बन्धुको प्रमुख आतिथ्यतामा अगाडि बढेको यस कार्यक्रमको संयोजन तथा सञ्चालन नेबासासका महासचिव यशु श्रेष्ठले गर्नुभएको थियो ।
२०७८ असोज ५ गते भएको यस वेबिनारमा पुस्तकालय बिज्ञ भोलाकुमार श्रेष्ठले पुस्तकालय, पुस्तकालयको अवस्था र यसको प्रयोगका बारेमा प्रस्तुत गर्नुभएको थियो । पुस्तकालयविद् इन्दिरा दलीले पुस्तकालयको गुरुयोजना, बालपुस्तकालय र यसको सञ्चालन बारेमा अवगत गराउनुभयो भने नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव यादवचन्द्र निरौलाले नेपाल सरकारको पुस्तकालय नीति तथा बालपुस्तकालयलाई हेर्ने दृष्टिकोणका बारेमा बताउनुभयो । यसै गरी पुस्तकालय विज्ञ इन्द्रप्रसाद अधिकारीले पुस्तकालय साङ्ठनिक योजना र यसमा बालपुस्तकालयको अवस्था तथा बालपुस्तक र पुस्तकालयलाई हेर्ने दृष्टिकोणका बारेमा प्रकाश पार्नुभयो भने अभियन्ता राजीवधर जोशीले विद्यालयमा बालपुस्तक, बालपुस्तकालयको अवस्था र यसको प्रयोगका बारेमा बोल्नुभएको थियो ।
फेसबुक लाइभमार्फत पनि प्रशारण भएको यस वेबिनारमा प्याब्सनका सुदूर पश्चिम प्रदेश सचिव डिल्लिराम बोहोराले विद्यालयमा बालपुस्तक र पुस्तकालयको अपरिहार्यता र अवस्थाका तथा यस्ता कार्यक्रमका आवश्यकता बारेमा बोल्नुभएको थियो ।
नेपालमा पठन संस्कृतिको विकास अझै हुन नसकेको, पुस्तक र पुस्तकालयको महत्त्व बुझ्न नसकेको, नेपाल सरकारले अझै पनि यो क्षेत्रलाई उपेक्षामा राखेको गुनासो सबैतिरबाट आएको थियो । देशको समृद्धिको एउटा मस्तिष्कका रूपमा रहेको पुस्तकालय यसरी उपेक्षित हुँदा व्यक्ति, परिवार, समाज, विद्यालय तथा देश नै त्यो चेतना र विकासको उज्यालोबाट बञ्चित भएकोले यस पाटोमा सबैले ध्यान पुर्याउनु पर्ने र यसमा सबै लाग्नु पर्ने साझा निष्कर्ष वेबिनारको छलफलबाट निस्केको थियो । चेतनाको दियो बाल्न सरोकारवाला निकायहरूलाई बिउँझाउनु पर्ने अवस्था रहेकाले यसमा सबै जना एक जुट भएर लाग्नुपर्ने विचार व्यक्त गर्दै सभापति घिमिरेले कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।
२४. बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना
नेपाल बालसाहित्य समाजले ‘नेपाली बालसाहित्यको प्रवर्धनका लागि पञ्चवर्षीय योजना’ निर्माण गर्दै विभिन्न तह र तप्काका सरोकारवाला संस्थाहरूसँग सहकार्य गर्दैअगाडि बढ्ने योजना बनाएको छ । यसकै सिलसिलामा हाल रुम टु रिडसँग सहकार्य गर्दै यसका लागि सरोकारवालाहरूसँग विभिन्न चरणमा कार्यक्रमहरू गर्दै वृहत् छलफल गर्न प्रा. डा. ध्रुवकुमार घिमिरे, यशु श्रेष्ठ र उद्धव प्याकुरेलसहितको एक समिति निर्माण गरिएको छ । यो समितिले पाँच वर्षसम्म ‘नेपाली बालसाहित्यको प्रवर्धनका लागि पञ्चवर्षीय योजना’का लागि विभिन्न उपाय र योजनाहरू निर्माण गर्दै रुम टु रिडसहितका संघससंस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरु गर्ने छ ।
२०७८ मंसिर १५ गते बुधबार नेपाल बालसाहित्य समाज र रुम टु रिडको आयोजनामा बालसाहित्य कस्तो हुनुपर्छ र यसलाई सरोकारवालाहरुले कसरी हेर्नुपर्छ भन्ने उद्द्श्यकासाथ ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ कार्यशाला आयोजना गरिएको थियो । एल्लो प्यागोडा होटल, जमल काठमाडौँमा भएके कार्यशालामा लेखन, चित्राङ्कन, सम्पादन, प्रकाशन, पुस्तकालय, शिक्षा विशेषज्ञ, बजार व्यवस्थापक, अनुवादलगायतका विभिन्न क्षेत्रमा आवद्ध महानुभावहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बालबालिका नै मुलुकको भविष्य भएकाले बालबालिकाका लागि लेखिने बालसाहित्य, नीजि क्षेत्रको भूमिका र सरकारको भूमिकाका विषयमा छलफल गरी सुझाव सङ्कलन गरेका थिए । बालसाहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशील क्षमताको विकास, बालपुस्तकको उपलब्धता, व्यवस्थापन र प्रयोग, बालसाहित्य र पाठ्यपुस्तकबिचको समन्वय, बालपुस्तकको वितरण र बजार, स्थानीय स्तरमा बालसाहित्यको प्रयोग र स्थानीय निकायको भूमिका, बालसाहित्य सिर्जना र सञ्चार माध्यममा बालसाहित्य गरी सात समूहमा विभाजित समूह विषेशज्ञले आवश्यक योजनाको खाका तयार पारेका थिए । नेबासासका महासचिवले यशु श्रेष्ठले प्रस्तुत गर्नुभएको विषय उठान र योजना खाकामाथि विशेषज्ञ टोलीले घनिभूत छलफल गरी एक निष्कर्ष निकालिएको थियो । योजना खाकामाथि पनि छलफल गर्दै त्यसलाई अन्तिम प्रतिवदेन बनाएर एक चरण छलफल भई यसलाई कार्यान्वयनमा ल्याउने कार्य भइरहेको छ ।
२५. लुइस ब्रेलको जन्मजयन्तीमा कार्यक्रम
ब्रेल लिपिका जन्मदाता लुइस ब्रेलको जन्मजयन्तीमा मनाइने ‘अन्तराष्ट्रिय ब्रेल दिवस’का अवसरमा ‘पहुँचयुक्त पुस्तक र लुइस ब्रेल’ कार्यक्रम आयोजना गरिएको थियो । भर्चुअल रूपमा भएको उक्त कार्यक्रमको अध्यक्षता रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन रिड नेपालकी सुस्मिता लामाले गर्नुभएको थियो । कार्यक्रममा रिड ग्लोबलको सहयोगमा रिड नेपाल, नेबासास र एड्राडको संयुक्त प्रयासमा तयार भएको ग्लोबल डिजिटल लाइब्रेरीमा भएका १०० पुस्तकको अनुवाद र सोही १०० पुस्तकबाट दृष्टिविहीन बालबालिकाका लागि तयार पारिएका पहुँचयुक्त पुस्तकका बारेमा छलफल पनि भएको थियो । यी पुस्तक कसरी तयार भए र कस्तो भयो भन्ने कुराको प्रदर्शनसमेत गरिएको थियो ।
कार्यक्रममा रिड ग्लोबलका सञ्जना श्रेष्ठ, नेपाल सरकार विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका सहसचिव यादवचन्द्र निरौला, पाठ्यक्रम विकास केन्द्रका अनिल मिश्र, युनेस्को बैङ्कक, राष्ट्रिय अपाङ्ग महासंघ, ग्लोबल डिजिटल लाइब्रेरी, एड्राडलगायताका संस्थाहरूको प्रतिनिधित्व रहेको थियो ।
रिड नेपाल, नेपाल बालसाहित्य समाज तथा एड्राडद्वारा २०७८ पुष २० गते भएको यस कार्यक्रममा नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले रिड नेपाल, नेबासास र एड्राडले तयार पारेका १०० पहुँचयुक्त पुस्तकसहित नेबासासका बारेमा मन्तव्य राख्नुभएको थियो ।
२६. किशोर पाठक र किशोर साहित्यका बारेमा अन्तरक्रिया
नेबासासले पनि “राष्ट्रिय बालपुस्तक दिवस”का अवसरमा वर्षेनी केही न केही कार्यक्रमहरू गर्दै आइरहेको छ । “राष्ट्रिय बालपुस्तक दिवस” २०७८ का अवसरमा नेबासासले “किशोर पाठक र किशोर साहित्य” विषयक एक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । नवसर्जक साहित्य चौतारी, बालवाङ्मय तथा अनुसन्धान केन्द्र तथा कथावाचक समाजसँगको सहकार्यमा २०७८ माघ २३ गते यस कार्यक्रम सम्पन्न भएको थियो । दुई किशोर पुस्तक “सेकुवा” र “फेक आइ डि” माथिका चर्चासहित किशोर साहित्य बारेमा चर्चापरिचर्चा भएको थियो । “सेकुवा” उपन्यसाका लेखक कृष्णदीप सग्देल र “फेक आइ डि” किशोर कथासङ्ग्रका लेखक मन्जु ज्ञवालीले आआफ्ना पुस्तकका लेखनी उद्देश्य, तरिका र रचनागर्भका बारेमा बताउनुका साथै किशोर साहित्यका बारेमा आफ्ना भनाइहरू राख्नुभएका थिए । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा भएको यस कार्यक्रमलाई कार्यसमिति सदस्य शान्ती सापकोटाले संचालन गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरूलाई नेबासासका कार्यसमिति सदस्य उद्धव प्याकुरेलले स्वागत गर्नुभएको थियो भने नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
२७. मेरो रातो : संसारको अस्तित्व कार्यक्रम
नेपाली कतिपय संकारमा महिनावारी हुनुलाई असाध्यै नराम्रो दृष्टिकोणबाट हेरिन्छ । नछुनी भएको, पर सरेको, पन्छेको भन्ने जस्ता शब्दहरूले नै यसलाई कसरी हेरिन्छ भन्ने कुरा प्रष्ट हुन्छ । अझ पहिलो पटक महिनावारी हुँदा त किशोरीहरूले अनेक तनाव बेहोर्नुपर्छ । यही विषयलाई उठान गर्दै नेपाल बालसाहित्य समाजले युनएडिपीको आर्थिक सहयोगमा सातै प्रदेशका किशोरीहरूलाई काठमाडौँमा आमन्त्रण गरेर एक कार्यशाला आयोजना गरेको थियो । एक प्रदेशबाट दुई जना किशोरीहरू समावेशीताको आधारमा एक जिल्लाबाट एक जना हुने गरी प्रतिनिधित्व गराइएको थियो ।
महिनावारी बारेमा जानकारी दिनु, सिर्जनशीलताको विकास गर्दै यसका लागि स्थानीय स्तरमा एक संवाहक प्रतिनिधि तयार गर्नु, समाजमा भएका कुरीतिहरू विरुद्ध बोल्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने किशोरी तयार गर्नु यस कार्यक्रमको मूख्य उद्देश्य थियो । यस उद्देश्यलाई पूरा गर्न प्रदेश १ बाट प्रमिला पुर्कुटी (उदयपुर) र विनिता सतार (मोरङ), मधेस प्रदेशबाट निशा जयसवाल (रौतहट) र विद्य झा (धनुषा), बाग्मती प्रदेशबाट आँचल श्रेष्ठ (ललितपुर) र निर्मला माझी (सिन्धुली), गण्डकी प्रदेशबाट तैवा बानु (स्याङ्जा) र इभान (कास्की), लुम्बिनी प्रदेशबाट सीता हरिजन (रुपन्देही) र सक्रुन निशा (कपिलवस्तु), कर्णाली प्रदेशबाट कामना शाही (हुम्ला) र पार्वती देवकोटा (कालिकोट) तथा सुदूर पश्चिम प्रदेशबाट बसन्ती कुँवर (दार्चुला) र (आयुष्मा पन्त) कन्चनपुरलाई प्रतिनिधिका रूपमा काठमाडौँ बोलाइएको थियो । काठमाडौँको एअरपोर्टस्थित एअरपोर्ट होटलमा मिति २०७८ फागुन १९ देखि २१ सम्म भएको यस कार्यशालामा ध्रुव घिमिरे, सुमनराज ताम्राकार, राधा पौडेल, सुधा घिमिरे, लक्ष्मी अर्याल, सुनिता मैनाली र कृष्णदीप सिग्देलले प्रशिक्षण दिनुभएको थियो । आवासीय यस कार्यशालामा १४ जना किशोरीहरूले पहिलो महिनावारीसँग सम्बन्धित रहेर १४ वटा संस्मराणात्मक कथा लेखेका थिए । नेबासासका महासचिव यशु श्रेष्ठको संयोजनमा भएको यस कार्यशालाको आर्थिक संयोजन नेबासासका कोषाध्यक्ष राजेन्द्रभक्त जोशीले गर्नुभएको थियो । यस परियोजनको प्रवन्धमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने समाजका कार्यसमिति सदस्य मञ्जु ज्ञवाली धन्यवादको पात्र हुनुहुन्छ ।
नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको नेबासासको स्थापना र उद्देश्यसहितको मन्तव्यबाट साधारण औपचारिक कार्यक्रमबाट प्रारम्भ भएको कार्यशालामा किशोरीहरूले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्दै अनुभवहरू आदानप्रदान गरेका थिए । उनीहरूले स्थानीय साधन र स्रोतबाट महिनावारी प्याड बनाउन सिक्नेदेखि महिनावारीले आफूमा आएका स्वास्थ्य समस्याहरूमाथि पनि छलफल गरेका थिए । समापन समारोहमा युनएडिपीका प्रतिनिधि इल्भिस लन्डवर्गले यस्तो समावेशीतासहितको उत्साहजनक कार्यक्रममा भाग लिन पाउँदा खुसी लागेको र आगामी दिनहरूमा सहयोग गर्न सधैँ तयार भएको कुरा राख्नुभएको थियो । कार्यक्रममा प्रमोद प्रधान, उद्दव प्याकुरेल, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे र सुशीला प्रधानाङ्गको पनि उपस्थिति रहेको थियो ।
यसै कार्यक्रममा १४ किशोरीहरूले लेखेका १४ वटा कथालाई सम्पादन गर्दै ‘पहिलो महिना’ पुस्तक प्रकाशन गरियो । प्रा. डा. ध्रुवकुमार घिमिरे तथा यशु श्रेष्ठको संयोजन/सम्पादन, प्रमोद प्रधानको भाषा सम्पादन, उद्दव प्याकुरेल, मञ्जु ज्ञवाली, शान्तिराजेन्द्रभक्त जोशी, सापकोटा, सजनी नौबागे र सुशीला प्रधानाङ्ग रहेको सम्पादन समूहको प्रयासमा ‘पहिलो महिना’ तयार भएको थियो । यी १४ वटा कथामा प्रज्वल थापा मगर, विनिता बुद्धाचार्य, सुनिता रोक्का, प्रकाश रञ्जित, सुनिल थापा, राजकुमार प्रजापति, रमिला महर्जन, रमेश डंगोल, उजेली सुनार, अनामिका गौतम, नम्रता सिं, देव महर्जन, ध्रुव प्रजापति र देव कोइमीले चित्र बनाउनुभएको थियो । यस पुस्तकलाई २०७९ जेठ १४ गते भर्चुअल रूपमा विमोचन गरिएको थियो ।
२८. किशोर साहित्य लेखन कार्यशाला
नेपाल बालसाहित्य समाजको आयोजना तथा डिल्लिरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सहआयोजनामा किशोर साहित्य लेखन कार्यशाला भएको थियो । २०७८ फागुन २८, २९ र ३० गते तीन दिन भएको उक्त कार्यशालामा नेबासासका सदस्यसहित नेबासासका सदस्यहरूले सिफारिस गरेका किशोर साहित्य लेखनमा रुचि राख्ने सर्जकहरूको सहभागिता रहेको थियो । नेबासासका अध्यक्षा प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुको प्रमुख आथित्यमा छोटो औपचारिक कार्यक्रम भएको थियो । डिल्लिरमण पुस्तकालयका सदस्य सचिव तथा नेबासासका आजीवन सदस्य भोला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । नेबासासका आजीवन सदस्य कृष्णदीप सिग्देलले सहजीकरण गर्नुभएको उक्त कार्यशालामा नेबासासका सदस्यहरू अनुराधा, उद्दव प्याकुरेल, कुमार भट्टराई, सजनी नौबागे, शान्ति सापकोटा, मञ्जु ज्ञवाली, विजयराज न्यौपाने, सिर्जना शर्मा, सविना सिन्धु तथा नेबासासले सिफारस गरेका सुमी, अमित, देवेन्द्र, राधा पौडेललगायतको सहभागिता रहेको थियो । डिल्लिरमण पुस्तकालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यशालाबाट सिर्जित सिर्जनाहरू कतिपय प्रकाशनका क्रममा रहेका छन् भने कतिपय लेखनीकै क्रममा रहेका छन् ।
यस कार्यक्रमकै निरन्तरता स्वरूप किशोर किशोरीको मनोभावना बुझ्ने र उनीहरूसँग अन्तरक्रिया गर्ने उद्देश्यले सिविन शान्ति गृहमा कार्यक्रम गरिएको थियो । ‘सिविन शान्ति गृहमा सर्जकहरू’ शीर्षकको कार्यक्रम नेबासास, सिविन तथा कथावाचक समाजको संयुक्त आयोजनामा भएको थियो । ०७९ चैत्र २५ गते भएको उक्त कार्यक्रममा सिविनले आफ्नो बालिका गृहका संरक्षण गरिराखेका विभिन्न तरिकाबाट पिडित भएका बालिका/किशोरीहरूमाझ विभिन्न विषयहरूमा छलफल भएको थियो । सिर्जना गर्ने, चित्र बनाउने, गीत गाउने, नाच्ने, कथावाचन गर्ने, किशोर अवस्थाका बारेमा बुझ्ने, उनीहरूको भावनात्मक आवश्यकतालाई मनन गर्दै कथा बनाउनेलगायतका क्रियाकलापहरू कार्यक्रममा भएको थियो । काभ्रे जिल्लाको पस्थलिमा भएको उक्त बालिका गृहमा विजयराज न्यौपाने, राधा पौडेल, मञ्जु ज्ञवाली, कृष्णदीप सिग्देल, सविना सिन्धु, सजनी नौबागे, मन्दिरा मधुश्री, देवेन्द्र, सुमन महर्जनलगायतका विभिन्न सर्जक, चित्रकार र अभियन्ताहरूको सहभागिता रहेको थियो ।
२९. पुस्तकसँग मित्रता कार्यक्रम
विश्वविख्यात बालसाहित्य सर्जक हान्सक्रिश्चियन एन्डरसनको २१८ औँ जन्मजयन्तीका अवसरमा विश्वका ८० भन्दा धेरै देशहरुले एकैसाथ मनाइरेको ५६ औँ अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाजको आयोजना , रूम टु रिड र सानेपास्थित टीका विद्याश्रम मा.बि.को सहआयोजनामा ‘पुस्तकसँग मित्रता’ कार्यक्रम गरिएको थियो । २०७८ चैत्र २२ गते ८० भन्दा बढी विद्यार्थी र टीका विद्याश्रमका शिक्षकहरूमाझ गरिएको यस कार्यक्रममा कविता/कथा वाचन, बालपुस्तक वितरण, नेबासासका सदस्य शान्ति सापकोटाद्वारा लिखित “मंकी माइन्ड” शीर्षकको किशोरकथा सङ्ग्रहको पाण्डुलिपीमाथि समीक्षा गरिएको थियो । कार्यक्रममा रूम टु रिडका तर्फबाट सर्जक अनन्त वाग्लेले बोल्नुभएको थियो भने सर्जक कृष्णदीप सिग्देलले बालकथा सुनाउनुभएको थियो ।
शिक्षक तथा समाजका सदस्य मन्जु ज्ञवालीले आफ्नो स्कुलमा कार्यक्रम गर्न पाएकोमा आयोजक र सहआयोजकहरूप्रति आभार प्रकट गर्नुभयो । स्कुलका प्रधानाध्यापक बिमलादेवी लामिछानेले पुस्तक पढ्ने बानीले जीवन परिवर्तन हुने कुराको चर्चा गर्दै पुस्तकको महत्व रहेको बताउनुभयो । उहाँले आयोजकहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरू गर्न अनुरोध गर्नुका साथै सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका समाजका अध्यक्ष ध्रुवकुमार घिमिरेले बालबालिकाको पढ्ने बानीको विकास गराउन बालबालिकालाई हप्ताको एक दिन पुस्तकालयमा लैजाने र बालपुस्तहरू पढ्ने वातावरण बनाउन विद्यालय व्यवस्थापनलाई आग्रह गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव यशु श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा समाजका कार्यसमिति सदस्यहरू उद्धव प्याकुरेल, शान्ति सापकोटा, सजनी नौवागे, कार्यलय सचिव सरिता मोक्तान तथा कथाकार मन्दिरा मधुश्रीको उपस्थिति रहेको थियो ।
३०. सम्झौतापत्र हस्ताक्षर कार्यक्रम
रुम टु रिड तथा नेपाल बालसाहित्य समाजको सहकार्यमा २०७८ मंसिर १५ गते काठमाडौँमा ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ शीर्षकमा एक दिवसीय कार्यशाला आयोजना गरिएको थियो । त्यही सहकार्यलाई मूर्तरूप दिदैं २०७९ असार ३ गतेका दिन नेपाल बालसाहित्य समाजका तर्फबाट अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र रुम टु रिडका तर्फबाट देशीय निर्देशक पुष्कर श्रेष्ठले नेबासास र रुम टु रिडका तर्फबाट गरिने पञ्चवर्षीय योजना सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा रुम टु रिडका तर्फबाट अनन्त वाग्लेले पञ्चवर्षीय योजना तयार भएको प्रतिवेदनलाई प्रस्तुत गर्नुभयो भने नेपाल बालसाहित्य समाजका महासचिव यशु श्रेष्ठले बृहत् रूपमा बालसाहित्य महोत्सव मनाउनका लागि कार्ययोजनाहरू प्रस्तुत गर्नुभयो । साथै, रुम टु रिडका दिनेश सञ्जेलले बालपुस्तक प्रकाशन शैली एवं स्तरीकरणको खाका प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा रुम टु रिडका तर्फबाट नेत्र दाहाल, पवन सिं कार्की, विपिन सोडारी, हरि पोखरेल तथा नेबासासका तर्फबाट उपाध्यक्ष प्रमोद प्रधान, सचिव यादेवी ढकाल, कोषाध्यक्ष राजेन्द्रभक्त जोशी, कार्यसमिति सदस्य मन्जु ज्ञवाली, शान्ति सापकोटा तथा सजनी नौबागेको उपस्थिति रहेको थियो ।
३१. शब्द र चित्र कार्यशाला
नेपाल बालसाहित्य समाज तथा नेदरल्याण्डको संस्था “थाङ फाउन्डेसन”को संयुक्त आयोजनामा काभ्रेको धुलिखेल स्थित धुलिखेल भिलेज रिसोर्टमा “शब्द र चित्र” कार्यशाला सम्पन्न भयो । २०७९ असार १४ र १५ गते बालचित्र पुस्तकका सर्जक÷सम्पादक तथा चित्रकारहरूका लागि यो दुईदिने कार्यशाला आयोजना भएको थियो । उक्त कार्यक्रममा थाङ फाउण्डेसनकी प्रमुख मार्लिन फिसरको पनि उपस्थिति रहेको थियो भने प्रशिक्षकको रूपमा नेदरल्याण्डका सर्जक÷चित्रकार मार्क जेन्सनले प्रमुख भूमिका निर्वाह गरेका थिए । थाङ फाउन्डेसनकी राजदुत अनुराधा शर्मासमेतको सहजीकरणमा चित्रपुस्तक सम्पादन तथा नेबासासका बारेमा नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले प्रकाश पार्नुभएको थियो । नेबासासका महासचिव यशु श्रेष्ठ तथा आजीवन सदस्य अनन्त वाग्लेले चित्रपुस्तक सम्पादन र चित्रकारितका बारेमा आफ्ना विचार राख्नुभएको थियो ।
चित्रकारका तर्फबाट एलिना छन्तेलले साधरणतया चित्र कसरी बन्छ ? चित्रसम्पादनका के कुरा ध्यान दिन सकिन्छ भनेर सहजीकरण गर्नुभएको थियो भने चित्रकार बन्दना तुलाचन र विनिता बुद्धाचार्यले चित्रकारिताका बारेमा आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रममा चित्रकारहरू निभा बज्राचार्य, भावना तुलाचन, शुभ जोशी, पल्पसा मानन्धर, अर्पिता शाक्य र पूर्णिमा राईको उपस्थिति रहेको थियो भने सर्जक÷सम्पादनहरू सुधा ओझा, प्रा.डा. कपिलदेव लामिछाने, तेज प्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, नवराज रिजाल, डा. यादेवी ढकाल, सुशीला प्रधानाङ्ग, शान्ति सापकोटा र सजनी नौबागेको उपस्थिति रहेको थियो । कार्यक्रममा चित्रकारले कथाका बारेमा तथा सर्जक÷सम्पादकले चित्रका बारेमा अभ्याससमेत गरेका थिए । यस कार्यशाला तर्जुमा गर्नमा सहयोग गर्नुहुने समाजका आजीवन सदस्य अनुराधालाई धेरै धेरै धन्यवाद ।
यसै कार्यक्रमको समीक्षा तथा भावी योजनाका बारेमा छलफल गर्न २०७९ असार २० गते नेबासास कार्यसमिति र थाङ फाउन्डेसनबिच छलफल भएको थियो । “शब्द र चित्र” कार्यशाला एकदमै सफल रूपमा सम्पन्न भएकोमा आगामी दिनहरूमा पनि थाङले नेबासाससँग मिलेर थुप्रै कार्यक्रमहरू गर्न सक्ने विषयमा पनि छलफल भएको थियो ।
३२. राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्ती
मानववादी विश्वदर्शनका प्रवर्तक जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्ती नेपाल बालसाहित्य समाजको आयोजना एवं मानववादी समाज, नेपाल (सोच नेपाल) र ह्युमजिन्म एन्ड जयपृथ्वी फाउन्डेसनको संयुक्त सहआयोजनामा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । २०७९ भाद्र ७ गते उहाँको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न कार्यक्रममा मानववादी दर्शनका जानकार, अभियन्ता, साहित्य तथा बालसाहित्य सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो । विगत ४ वर्षदेखि जयपृथ्वीको सम्मानमा कार्यक्रम गर्दै आएको नेपाल बालसाहित्य समाजले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो ।
कार्यक्रममा बालसाहित्यका वरिष्ठ सर्जकहरू शान्तदास मानन्धर (२०७७) र भिक्टर प्रधानलाई (२०७८) ‘नेबासास–जयपृथ्वी सम्मान’ प्रदान गरिएको थियो भने दुई बालिका आँचल श्रेष्ठ र मानवी आचार्यलाई बालसाहित्य/कलातर्फको नेबासास–जयपृथ्वी बालप्रतिभा पुरस्कार २०७७ र दुई बालिका सोइना दाहाल र आश्विनी मानन्धरलाई बालसाहित्य/कलातर्फको ‘नेबासास–जयपृथ्वी बालप्रतिभा पुरस्कार २०७८ ’बाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा मानववादी अभियानका अभियन्तासमेत रहेका बालसाहित्यकार रामदेव पाण्डेले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । “राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र वर्तमान विश्वपरिवेशमा विश्व आस्था मैत्री सङ्घको महत्त्व” विषयक अवधारणापत्रमाथि विभिन्न व्यक्तिहरूले टिप्पणी गरेका थिए । यसै कार्यक्रममा ह्युमनिज्म एन्ड जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मिनबहादुर सिंहले सङ्कलन गरेको सामग्रीलाई रामदेव पाण्डेले सम्पादन गरी प्रकाशित जयपृथ्वीबहादुर सिंहको जीवनी पुस्तकको लोकार्पण गरिएको थियो । अन्तर्राष्ट्रिय मानववादी सङ्गठनका अन्तर्राष्ट्रिय सदस्य एवं सोच नेपालका संस्थापक उत्तम निरौलाले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो । नेपाल बालसाहित्य समाजका उपाध्यक्ष बालसाहित्यकार प्रमोद प्रधानको सञ्चालन तथा अध्यक्ष प्रा.डा. ध्रुव घिमिरेको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ रहनुभएको थियो । अतिथिहरूलाई नेबासास कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले स्वागत गर्नुभएको थियो भने सम्मानित स्रष्टा बारेमा समाजका कार्यसमिति सदस्य उद्धव प्याकुरेल तथा पुरस्कृत बालप्रतिभाका बारेमा समाजका सचिव डा. यादेवी ढकालले प्रकाश पार्नुभएको थियो ।
३३. ‘नेपाली बालकथा– २‘ दुई ब्रेल पुस्तक प्रकाशन
नेबासासले दृष्टिविहीन बालबालिकाहरूका लागि नेपाली बालकथा – २ शीर्षकका दुई बालकथा सङ्ग्रह २०७९ असोजमा प्रकाशन गरेको छ । सात वर्ष र सोभन्दा मुनिका समूहका लागि एक र सात वर्षदेखि माथिका बालबालिकाका लागि एक गरी दुई बालपुस्तक ब्रेल लिपिमा प्रकाशन गरेको हो । सार्वजनिक सूचनामार्फत् मागिएका बालकथाहरूलाई अनुराधा, डा. जयप्रसाद लम्साल र प्रमोद प्रधानसहितको छनौट समितिले सिफारिस गरेपश्चात यस सङ्ग्रहमा समावेस गरिएको हो । पहिलो पुस्तकमा उद्धव प्याकुरेल, गङ्गा कर्माचार्य पौडेल, छायादत्त न्यौपाने, तेजप्रकाश श्रेष्ठ, धीरकुमार श्रेष्ठ, मधुसूदनप्रसाद घिमिरे, रामदेव पाण्डे, ललिता दोषी, शान्ती सापकोटा, सजनी नौबागे, सुमन ताम्राकार र हरि भण्डारी गरी १२ जना र दोस्रो पुस्तकमा कपिल लामिछाने, कालीबहादुर शाही, मञ्जु ज्ञवाली, यशु श्रेष्ठ, रञ्जुश्री पराजुली, रामविक्रम थापा, विजयराज आचार्य, सीता सुवेदी पन्थी र सुशीला प्रधानाङ्ग गरी ९ जनाका बालकथाहरू समावेश रहेका छन् । यी पुस्तक नेपाल दृष्टिविहीन संघसँगको सहकार्यमा प्रकाशित भएका हुन् । नेबासासका महासचिव यशु श्रेष्ठका डेनिस मित्र भेगन प्लेन्जको आर्थिक सहयोगमा यी पुस्तक प्रकाशन गर्न सम्भव भएको हो । यसका लागि उहाँलाई नेबासास हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
३४. आईबिबिवाई अन्तर्राष्ट्रिय सम्मेलन – २०२२ मा सहभागिता
नेपाल बालसाहित्य समाज लामो समयदेखि इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आईबिबिवाई) को सदस्य रहँदैआएको छ । एउटा देशको एउटा मात्र संस्थालाई प्रतिनिधिको रूपमा सदस्य बनाउने आईबिबिवाईले नेपाल बालसाहित्य समाजलाई आफ्नो प्रतिनिधि बनाएको छ ।
आईबिबिवाईको सदस्य बनेदेखि यता बिचमा केही समय नेबासासमा आन्तरिक रूपमा केही समस्या आयो । त्यसताका आईबिबिवाईसँग केही रूपमा सम्बन्ध टुटेको झैँ हुन पुग्यो । आन्तरिक मामिला मिलाउँदै गर्दा अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्यान दिन सक]न । यसले गर्दा आईबिबिवाईको सदस्यता नवीकरण गर्न पनि ढिलाइ भयो । नेबासासले आफ्नो मामिला मिलाउँदै यसबारे आईबिबिवाईलाई पत्र लेख्यो र आईबिबिवाईको सदस्यता नवीकरण ग¥यो र यसको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लाग्यो ।
आईबिबिवाईले दुई दुई वर्षमा गर्ने यसखाले अन्तर्राष्ट्रिय सम्मेलनमा यस अघि पनि नेबासासले धेरै पटक सहभागिता जनाइसकेको छ । सन् २०२२ को अन्तर्राष्ट्रिय सम्मेलन सेप्टेम्बर ०५ देखि ०८ सम्म मलेसियाको पुत्रजयामा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा ७० भन्दा बढी देशका २०० भन्दा बढी सर्जक, शिक्षक, बालसाहित्य र शिक्षासँग सम्बन्धित महानुभावहरूको सहभागिता रहेको थियो । धेरै देशबाट एक÷एक जना प्रतिनिधि आएको भए तापनि कतिपय देशबाट ६÷७ जना प्रतिनिधिहरू पनि आएका थिए । नेपालका तर्फबाट नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे तथा महासचिव यशु श्रेष्ठ उक्त सम्मेलनमा प्रतिनिधित्व गर्नुभएको थियो । उक्त सम्मेलनमा नेपालकै तर्फबाट भनेर किरण गौतमले पनि प्रतिनिधित्व गर्नुभएको थियो तर उहाँले नेबासासबाट नभई व्यक्तिगत रूपमा प्रतिनिधित्व गर्नुभएको थियो । “पावर अफ स्टोरी” आदर्श वाक्यका साथ सञ्चालन भएको सम्मेलन कथावाचनबाट सुरुवात गरिएको थियो । मलेसियामा कथावाचनलाई धेरै नै प्राथमिकता दिइएको पनि देखिन्थ्यो ।
यही सम्मेलनमा आइबिबिवाईको साधारणसभा भएको थियो भने नयाँ कार्यसमितिका लागि चुनाव पनि भएको थियो । प्रतिनिधिहरूले गरेको भोटका आधारमा अमेरिकाकी सिल्भिया भर्डेल अध्यक्षमा चुनिनुभएको छ । २५ वर्षदेखि निरन्तर आइबिबिवाइसँग जोडिएर कार्यकारी निर्देशकसम्म बन्नुभएका लिज पेजले यही सम्मेलन सकाउँदै अवकास पाउनुभएको छ भने नयाँ कार्यकारी निर्देशकको जिम्मेवारी कारोलिन बलेस्टरले सम्हाल्नुभएको छ । नेपालको प्रतिनिधिका रूपमा प्रा डा घिमिरे र श्रेष्ठले सम्मेलन उद्घाटनदेखि विभिन्न बहस र कार्यपत्रका सत्रहहरू, सांस्कृतिक प्रदर्शनी र विभिन्न पुस्तकालयको समेत भ्रमण गर्नुभएको थियो । सर्जकहरूलाई मलेसियाका कतिपय स्थानहरूको भ्रमण आयोजकले नै गराएका थिए भने भ्रमणका क्रममा मलेसियन प्रहरीहरूले स्कटिङ गरेर भ्रमण गराउँदाको भव्यता सम्झन लायक थियो । निकै भव्यताका साथ सम्पन्न यसै सम्मेलनमा यशु श्रेष्ठद्वारा लिखित ‘मेरो रातो’ सचित्र बालकथालाई आईबिबिवाईले सम्मानसमेत गरेको थियो ।
३५. दुई दिने बालसाहित्य महोत्सव
नेपाल बालसाहित्य समाज, रुम टु रिड तथा रुडेक नेपालको आयोजनामा नुवाकोट जिल्लाको बट्टारमा दुई दिने बालसाहित्य महोत्सव सम्पन्न भएको छ । बट्टारको आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा ‘किताब पढौँ, अगाडि बढौँ’ भन्ने नाराका साथ २०७९ असोज ४ र ५ गते गरिएको महोत्सवलाई ३ हजार बालबालिका, शिक्षक तथा अभिभावकले अवलोकन गरेका थिए ।
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्रख्यात कलाकार केके कर्मचार्यको प्रमुख आथित्यमा भएको उद्घाटन समारोहमा मुख्य वक्ताको रूपमा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बालबालिकालाई बढ्ने बानीको विकास गराउन महोत्वसवले सघाउने बताउनुभयो । सो समारोहमा रुम टु रिड साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मन्तव्य राख्नुभएको थियो ।
बालबालिकामा पठन संस्कृति बढाउने; आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवमा बालसाहित्य पुस्तकको प्रदर्शनी, बालबालिकालाई कस्तो शिक्षा दिने भन्नेबारे बहस, कथा, कविता लेखन, कथावाचन, निबन्ध, चित्रकला, अभिनय र भित्तेपात्रिका निर्माणसहित सात विधामा विषय विज्ञहरूबाट सिर्जनात्मक कार्यशालाहरू सञ्चालन गरिएको थियो । विषय विशेषज्ञका रूपमा सुशीला प्रधानाङ्ग, प्रभा भट्टराई, सजनी नौबागे, डा. यादेवी ढकाल, उद्दव प्याकुरेल, विवेक लामा, उजेली सुनार, पुरु लम्साल, केदार श्रेष्ठ, प्रमोद प्रधान र यशु श्रेष्ठ रहनुभएको थियो । नेपाल बालसाहित्य समाज, कथालय प्रकाशन, परिचय प्रकाशन, बालसंसार प्रा.लि. लगायतका प्रकाशन गृहहरूले बालपुस्तकका प्रदर्शनीसमेत गरेका थिए । महोत्सवको प्रत्येक दिन बिहान हिँडाइ पढाइसमेत गरिएको थियो भने महोत्सवमा dear (Drop every things and read ) सत्र पनि सञ्चालन भएको थियो । यसको संयोजन राजन सापकोटा, विपिन सोडारी तथा केशव गुरागाईं, रुम टु रिड, काठमाडौँले गर्नुभएको थियो ।
महोत्सव सञ्चालन गर्न विभिन्न उपसमितिहरू निर्माण गरी विभिन्न चरणमा बैठक, कार्यक्षेत्र भ्रमण आदि गर्दै कार्यक्रमको खाका तयार गरिएको थियो । महोत्सवका संयोजन रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले गर्नुभएको थियो भने मूल आयोजक समितिमा संयोजकलगायतसंयोजक सदस्यहरूमा प्रमोद प्रधान, यशु श्रेष्ठ, उद्धव प्याकुरेल र शान्ति सापकोटा नेपालबालसाहित्य समाज, दिनेश सञ्जेल र अनन्तवाग्ले, रुम टु काठमाडौं तथा एकराज कोइराला र सुशील तिमल्सिना, रुम टु नुवाकोट रहनुभएको थियो । त्यस्तै सल्लाहकार समितिमा प्रा. डा. ध्रुव घिमिरे, अध्यक्ष, नेपालबालसाहित्य समाज, रामश्रेष्ठ, अध्यक्ष, नुवाकोट आदर्श क्याम्पस, नेत्र दाहाल, साक्षरता कार्यक्रम निर्देशक, रुम टु रिड, राजेन्द्रविक्रम सिंह , संयोजक, जिल्ला समन्वय समिति, नुवाकोट रहनुभएको थियो भने भोजन तथा आवास व्यवस्थापन उपसमितिमा फुर्वा घले, केशव पौडेल तथा बटुराम भण्डारी, अर्थ तथा व्यवस्थापन उपसमितिमा मिनकुमार केसी, डा. यादेवी ढकाल,सुशील तिमल्सिना, एकराज कोइराला तथा दिनेश सञ्जेल, प्रचारप्रसार उपसमिति एकराज कोइराला, प्रमोद प्रधान, फुर्वा घले, निष्ठा श्रेष्ठ तथा शान्ति सापकोटा रहनुभएको थियो ।
महोत्सवमा समाजका पूर्वअध्यक्ष रामबाबु सुवेदी, तेजप्रकाश श्रेष्ठ तगा शैलेन्दुप्रकाश नेपाल, आजीवन सदस्य ललिता दोषी, रुम टु रिडका पवन सिं कार्की, नगरपालिकाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।
३६. नेबासास बालसाहित्य सर्जक परिचय कोशको प्रकाशन
हिजो अर्थात् २०७९ साल कार्तिक १८ गतेमात्र नेबासासले आफ्ना सदस्यहरूको परिचयलाई समेटेर पुस्तक प्रकाशन गर्ने काम सम्पन्न गरेको छ । निकै लामो प्रयासपछि यो सम्भव भएको छ । पटक पटकको सूचना, जानकारी र अनुरोधलाई स्वीकार गर्दै आआफ्ना परिचय पठाउनु हुने सबै जनाप्रति कृतज्ञ छौँ । यसका लागि सबै जना धन्यवादको पात्र हुनुहुन्छ । यस पुस्तकमा नेबासासका सदस्यहरूले बालसाहित्यिक क्षेत्रमा गरेका कार्यहरूलाई मात्र समेट्ने प्रयास गरिएको छ ।
३७. सात प्रदेश विशेष जर्नल प्रकाशनको तयारी
नेबासासले सातै प्रदेशका बालसाहित्यिक गतिविधिहरूलाई समेटेर यी लेखहरूसहितका एक जर्नल (सात प्रदेश विशेष )प्रकाशन गर्ने तयारी गरेको छ । लेखका योगदानकर्ताहरू प्रादेश प्रतिनिधिका रूपमा प्रदेश १ बाट डा. यादेवी ढकाल र रामविक्रम थापा, मधेस प्रदेशबाट नवराज रिजाल, प्रदेश बाग्मतीबाट प्रा. डा. ऋषिराम शर्मा, प्रदेश गण्डकीबाट गङ्गा पौडेल कर्माचार्य, प्रदेश लुम्बिनीबाट प्रा.डा. कपिलदेव लामिछाने, प्रदेश कर्णालीबाट कालीबहादुर शाही सिम्पल र सुदूरपश्चिम प्रदेशबाट पुष्कराज भट्ट रहनुभएको छ ।
३८. नेबासास बालसाहित्य सर्जक राहत कोश तथा अक्षय कोशको स्थापना
दैवी या अन्य आकस्मिक दुर्घटनामा पर्दा नेबासासका सदस्यहरूलाई केही आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ रु १,००,०००।– को यस (नेबासराको) कोशको स्थापना गरिएको छ । यस कोशमा नेबासास वर्तमान कार्यसमितिको कार्यकालमा बनेका तथा अब बन्ने आजीवन सदस्यका पचास प्रतिशत रकमका साथै पुराना सदस्य तथा अन्य शुभेच्छुकबाट प्राप्त चन्दास्वरूपको आर्थिक सहयोग जम्मा हुनेछ । यी रकमहरू आर्थिक वर्षको अन्तयमा अक्षय कोशका रूपमा तोकिएको ब्याङ्कमा जम्मा गरिनेछ र सोको ब्याज रकमबाट मात्र खर्च गरिनेछ । यसमा सहयोग उपलब्ध गराउने, खर्च गरिने विधिलगायतका अन्य आवश्यक सन्दर्भलाई नियमावली बनाई व्यवस्थित गरिनेछ । कार्यसमितिले यस्तो निर्णय गरेलगत्तै यस कोशमा क्रमश रू. दशहजार (१०,०००) र पाँचहजार (५०००) सहयोग गर्नु हुने अध्यक्ष प्रा. डा. ध्रुव घिमिरे तथा सदस्य शान्ति सापकोटाप्रति धन्यवाद ज्ञापन गर्दै यसैगरी आर्थिक सहयोग गर्न सदस्य महानुभावमा अनुरोध गरिन्छ । प्राप्त सहयोगको अभिलेखीकरणका अतिरिक्त समाजको समाजिक सञ्जालमा राखी साधारणसभामा सार्वजनिकीकरण गरिनुका साथै दातालाई प्रमाणपत्रसहित सम्मान गरिने छ ।
यस कोशका सहयोगी दाताहरूले नेबासासको कार्यलयमा स्वयं उपस्थित भएर वा नेपाल बालासाहित्य समाजको कृषि विकास बैँक, रत्नपार्क शाखाको खाता नम्बर (नेपाल बालसाहित्य समाज, बचत खाता नम्बर ०२०९५ ००१५५१७४ ०२१) लाई प्रयोग गर्न सक्नुहुने छ ।