Check Mail Feedback

घर-घरमा बालसाहित्य

काठमाडौँ, नेपाल बालसाहित्य समाजको आयोजनामा ‘घरघरमा बालसाहित्य’ अवधारणाको एक वेभिनार सम्पन्न भएको छ । बालबालिकाकै एक सक्रिय संस्था ‘नवसर्जक साहित्य चौतारी’, कथावाचन सुन्न सकिने युट्युव च्यानल ‘सहज सिकाइ’, डिजिटल पुस्तकालय ‘साझा शिक्षा ईपाटी’, द एसिया फाउन्डेसनको ‘लेट्स रिड’ तथा बालसाहित्य र शिक्षाको क्षेत्रमा विशेष भूमिका निर्वाह गरिरहेको संस्था रुम टु रिडसँगको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा नवसर्जक साहित्य चौतारीका तर्फबाट उपाध्यक्ष विभूति अधिकारीले आफ्ना धारणा राख्नुभएको थियो । सहज सिकाइका तर्फबाट बालसाहित्य सर्जक शाश्वत पराजुलीले सहज सिकाइ युट्युव च्यानलमा कस्ताकस्ता सामग्रीहरू छन् र यसलाई कसरी बालबालिकालगायतले हेर्न, पढ्न र सुन्न सक्छन् भनेर प्रदर्शन गर्नुभएको थियो । कार्यक्रममा सहज सिकाइ च्यानलबाटै कथावाचन पनि प्रस्तुत गरिएको थियो । यो च्यानलको पहुँचमा पुग्नका लागि युट्युवमा Easy Learning Nepal भनेर खोजियो भने सजिलै प्राप्त गर्न सकिन्छ ।

साझा शिक्षा ईपाटी (OLE Nepal) अर्थात ई-लाइब्रेरीका तर्फबाट गणेश घिमिरेले साझा शिक्षा ईपाटी के हो र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा प्रदर्शन गर्नुभएको थियो । साझा शिक्षा ईपाटीमा विभिन्न उमेर समूहका लागि लेखिएका बालपुस्तकहरूदेखि पाठ्यपुस्तकसम्म र सुन्न अनि हेर्न सकिने अडियो/भिडियोहरूदेखि विभिन्न खेलहरूसम्म तथा विविध साहित्यिक पुस्तकहरूसमेत रहेका छन् भने यसलाई अनलाइन अनि अफलाइन पनि पढ्न सकिन्छ । pustakalaya.org भित्र यी सम्पूर्ण सामग्रीहरू प्राप्त गर्न सकिन्छ । यसैगरी लेट्स रिडका तर्फबाट द एसिया फाउन्डेसनकी कार्यक्रम अधिकृत समीरा श्रेष्ठले लेट्स रिडको विशेषता, यसको प्रयोग र उपयोगिताका बारेमा प्रस्तुत गर्नुभएको थियो । लेट्स रिड एप मोबाइल अनि डेस्कटप वा ल्यापटप सबैबाट प्राप्त गर्न सकिन्छ । ‘लेट्स रिड’ द एसिया फाउन्डेसनको एक प्रमुख परियोजना हो । यसभित्र विभिन्न देशका, विभिन्न भाषाका सिर्जनाहरू हेर्न\सुन्न\पढ्न सकिन्छ । नेपालका कतिपय जातजातिका लोककथाहरू पनि यस एपमा प्राप्त गर्न सकिन्छ । letsreadasia.org भनेर खोजियो भने यसलाई हामी प्राप्त गर्न सकिन्छ ।

कार्यक्रममा रुम टु रिडका तर्फबाट अनन्त वाग्ले तथा विपिन सोडारीले रुम टु रिडले सुरु गरेको literacycloud.org का विशेषता, प्रयोग, उपयोगिता र सामग्रीहरूका बारेमा प्रदर्शन गर्नुभएको थियो । www.literacycloud.org भित्र गएर हामीले विभिन्न बालकथाहरू पढ्न, सुन्न र हेर्न सक्छौँ । लोकप्रिय कथाहरूको सङ्गालोसहित बालबालिकाहरूका लागि विभिन्न सामग्रीहरू रहेको यस डिजिटल लाइब्रेरी अझै परिष्कृत हुँदैछ भन्ने जानकारीसमेत गराइएको थियो ।

कोरोनाका कारण भएको बन्दाबन्दीले बालबालिका/शिक्षक/अभिभावकहरू घरमै थुनिनु परेको र यस बेलामा पढ्नका लागि सामग्रीहरूको अभाव भइरहेको नेबासासले महसुस गरेर यो वेभिनार संचालन गरेको हो । घरमै बसी बसी कसरी पुस्तकहरूमा पहुँच पुर्‍याउँन सकिन्छ त ? यो बेलामा पठन सिप, संस्कार र संस्कृतिको विकासका लागि केही सहयोग गर्न सकिन्छ कि ! भनेर नै यो वेभिनार संचालन गरिएको थियो । वेभिनार यही जेठ २९ गते भएको हो ।

नेबासासका महासचिव यशु श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा श्रेष्ठले डिजिटल पुस्तक मात्रै होइन, यस्तो बेलामा कसरी छापा पुस्तकहरूसमेत लक्षित समूहमाझ पुर्‍याउँन सकिन्छ भनेर आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बालबालिका शीतल मगर, बसन्ती कुँवर, बालसाहित्य सर्जक गङ्गा कसजू, पुस्तकालय विज्ञ इन्दिरा दली, अभिभावक अन्जु लम्सालले विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो । नेबासासका कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रमोद प्रधानले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।