Check Mail Feedback

ब्रेल लिपिका दुई बालपुस्तक लोकार्पण तथा अन्तरक्रिया

‘सबैको पहुँचमा पुस्तक’ आदर्श वाक्यका साथ नेपाल बालसाहित्य समाजको आयोजना तथा नेपाल नेत्रहीन संघ र ल्याब्रोटरी स्कुल, कीर्तिपुरसँगको सहकार्यमा नेबासासद्वारा ब्रेल लिपिमा प्रकाशित बालकथाका दुई पुस्तक लोकार्पणसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा ल्याब्रोटरी स्कुल वार्डेन दालमु शेर्पा र खगेन्द्रप्रसाद कँडेलको पनि आतिथ्यता रहेको थियो । जुम तथा फेसबुक लाइभ पनि गरिएको यस कार्यक्रममा नेबासासका आजीवन सदस्यद्वय अमरकुमार प्रधान तथा रामदेव पाण्डे अतिथिका रूपमा जुममार्फत सहभागी हुनुभएको थियो ।

२०७९ पुस २७ गते कीर्तिपुर, काठमाडौँस्थित ल्याब्रोटरी स्कुलको सभाकक्षमा सम्पन्न यस कार्यक्रममा दृष्टिविहीनसहितका बालबालिकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेबासासका कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले कथावाचन गर्नुभएको थियो भने शान्ति सापकोटा तथा सजनी नौबागेले कवितावाचन गर्नुभएको थियो ।

सभाध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले बालकविता वाचनसहित पठनको महत्त्व र आवश्यकता बारेमा प्रकाश पार्नुभएको थियो । नेबासासका महासचिव यशु श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै बालकथावाचन तथा गीतहरू प्रस्तुत गर्नुभएको थियो ।

नेपाल बालसाहित्य समाजले दृष्टिविहीन बालबालिकाहरूका लागि नेपाली बालकथा – २ शीर्षकका दुई बालकथा सङ्ग्रह २०७९ असोजमा प्रकाशन गरेको थियो । सात वर्ष र सोभन्दा मुनिका समूहका लागि एक र सात वर्षदेखि माथिका बालबालिकाका लागि एक गरी दुई बालपुस्तक ब्रेल लिपिमा प्रकाशन गरेको हो । सार्वजनिक सूचनामार्फत् मागिएका बालकथाहरूलाई अनुराधा, डा. जयप्रसाद लम्साल र प्रमोद प्रधानसहितको छनौट समितिले सिफारिस गरेपश्चात यस सङ्ग्रहमा समावेस गरिएको हो । पहिलो पुस्तकमा  उद्धव प्याकुरेल, गङ्गा कर्माचार्य पौडेल, छायादत्त न्यौपाने, तेजप्रकाश श्रेष्ठ, धीरकुमार श्रेष्ठ, मधुसूदनप्रसाद घिमिरे, रामदेव पाण्डे, ललिता दोषी, शान्ती सापकोटा, सजनी नौबागे, सुमन ताम्राकार र हरि भण्डारी गरी १२ जना र दोस्रो पुस्तकमा कपिल लामिछाने, कालीबहादुर शाही, मञ्जु ज्ञवाली, यशु श्रेष्ठ, रञ्जुश्री पराजुली, रामविक्रम थापा, विजयराज आचार्य, सीता सुवेदी पन्थी र सुशीला प्रधानाङ्ग गरी ९ जनाका बालकथाहरू समावेश रहेका छन् । प्रा. डा. ध्रुवकुमार घिमिरे तथा यशु श्रेष्ठको संयोजन/सम्पादन रहेको यी बालपुस्तक नेपाल दृष्टिविहीन संघसँगको सहकार्यमा प्रकाशित भएका हुन् । नेबासासका महासचिव यशु श्रेष्ठका डेनिस मित्र भेगन प्लेन्जको आर्थिक सहयोगमा यी पुस्तक प्रकाशन गर्न सम्भव भएको हो ।

यिनै दुई बालपुस्तक लोकार्पण तथा अन्तरक्रिया समारोहमा दृष्टिविहीन बालक प्रोसेस पाण्डेले गीत तथा क्यारिकेचर गरेर आफ्नो कला प्रदर्शन गर्नुभएको थियो भने दृष्टिविहीन बालक शिव माझीले प्रायजसो कार्यक्रममा कि त दृष्टिविहीनलाई मात्र राखिने कि त दृष्टि भएकाहरूलाई मात्र राखेर कार्यक्रम गरिने भए पनि यसरी सबैलाई समान मानेर एकअर्कामा सहयोग गर्दै सबैसँग मिलेर एउटै कार्यक्रममा सहभागी हुन पाउँदा साह्रै खुसी लागेको कुरा बताउनुभएको थियो । ब्रेल लिपि मात्र पढ्न सक्ने बालबालिकाका लागि यसरी पुस्तकहरू प्रकाशन गरिदिएको र बालबालिकामाझ नै आएर यसको प्रयोग र आवश्यकतालाई प्रस्ट्याइदिएकोमा आभार प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा छात्रा सुनमाया मोक्तानले गीत प्रस्तुत गर्नुभएको थियो भने रुवस तामाङले मुखले नै विविध सङ्गीतका तालहरू बजाउनुभएको थियो । सबैसँग बसेर आफ्ना प्रतिभा प्रस्तुत गर्दै पाठ्यक्रमबाहेकका पुस्तकमाथिको चर्चा, महत्त्व र आवश्यकता बारेमा जान्न पाउनु, आफ्ना कुरा राख्न पाउनु, कथाकविता वाचनका स्वाद लिन पाउनुले आफूहरूलाई छुट्टै मजा र अनुभव दिएको कुरा सुनाउँदै यस्ता कार्यक्रम बारम्बार हुनुपर्ने राय सहभागीहरूले व्यक्त गरेका थिए ।

प्रमुख अतिथि नरबहादुर लिम्बुले सरकारले दिने पाठ्यपुस्तक नै दृष्टिविहीन बालबालिकामा माझ पुग्न नसकेको, यसका लागि सङ्घर्ष गरिरहनु परेकोमा यसरी कथा बनाई ब्रेल पुस्तक प्रकाशन हुनु असाध्यै सुखद पक्ष रहेको र यसले दृष्टिविहीन बालबालिकाहरू असाध्यै खुसी हुने कुरा बताउनुभयो । उहाँले यस्ता सामग्रीहरूको असाध्यै खाँचो रहेको र यसतर्फ सबैले सोच्नु पर्ने कुरामा जोड दिनुभयो । नेपाल नेत्रहीन संघ दृष्टिविहीन बालबालिकालाई सघाउन सधैँ तयार रहेको भन्दै संघसँग आशा रहेका कुराहरू विद्यालयमार्फत संघसम्म पुर्‍याउन पनि आग्रह गर्नुभएको थियो ।

नेबासासबाट प्रकाशित चारवटा ब्रेल लिपिका पुस्तकहरूसहित ‘पहिलो महिना’ र  ‘सम्झनामा कोरोना’ पुस्तकहरू पनि बालबालिका तथा स्कुल पुस्तकालयका लागि हस्तान्तरण गरिएको थियो । सहभागी बालसाहित्य सर्जकहरूले बालसाहित्यका पुस्तकहरू पनि प्रदान गर्नुभएको थियो ।