शब्द र चित्र कार्यशाला
नेपाल बालसाहित्य समाज तथा नेदरल्याण्डको संस्था “थाङ फाउन्डेसन”को संयुक्त आयोजनामा काभ्रेको धुलिखेल स्थित धुलिखेल भिलेज रिसोर्टमा “शब्द र चित्र” कार्यशाला सम्पन्न भयो । २०७९ असार १४ र १५ गते बालचित्र पुस्तकका सर्जक÷सम्पादक तथा चित्रकारहरूका लागि यो दुईदिने कार्यशाला आयोजना भएको थियो । उक्त कार्यक्रममा थाङ फाउण्डेसनकी प्रमुख मार्लिन फिसरको पनि उपस्थिति रहेको थियो भने प्रशिक्षकको रूपमा नेदरल्याण्डका सर्जक÷चित्रकार मार्क जेन्सनले प्रमुख भूमिका निर्वाह गरेका थिए । थाङ फाउन्डेसनकी राजदुत अनुराधा शर्मासमेतको सहजीकरणमा चित्रपुस्तक सम्पादन तथा नेबासासका बारेमा नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले प्रकाश पार्नुभएको थियो । नेबासासका महासचिव यशु श्रेष्ठ तथा आजीवन सदस्य अनन्त वाग्लेले चित्रपुस्तक सम्पादन र चित्रकारितका बारेमा आफ्ना विचार राख्नुभएको थियो ।
चित्रकारका तर्फबाट एलिना छन्तेलले साधरणतया चित्र कसरी बन्छ ? चित्रसम्पादनका के कुरा ध्यान दिन सकिन्छ भनेर सहजीकरण गर्नुभएको थियो भने चित्रकार बन्दना तुलाचन र विनिता बुद्धाचार्यले चित्रकारिताका बारेमा आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रममा चित्रकारहरू निभा बज्राचार्य, भावना तुलाचन, शुभ जोशी, पल्पसा मानन्धर, अर्पिता शाक्य र पूर्णिमा राईको उपस्थिति रहेको थियो भने सर्जक÷सम्पादनहरू सुधा ओझा, प्रा.डा. कपिलदेव लामिछाने, तेज प्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, नवराज रिजाल, डा. यादेवी ढकाल, सुशीला प्रधानाङ्ग, शान्ति सापकोटा र सजनी नौबागेको उपस्थिति रहेको थियो । कार्यक्रममा चित्रकारले कथाका बारेमा तथा सर्जक÷सम्पादकले चित्रका बारेमा अभ्याससमेत गरेका थिए ।
यसै कार्यक्रमको समीक्षा तथा भावी योजनाका बारेमा छलफल गर्न २०७९ असार २० गते नेबासास कार्यसमिति र थाङ फाउन्डेसनबिच छलफल भएको थियो । “शब्द र चित्र” कार्यशाला एकदमै सफल रूपमा सम्पन्न भएकोमा आगामी दिनहरूमा पनि थाङले नेबासाससँग मिलेर थुप्रै कार्यक्रमहरू गर्न सक्ने विषयमा पनि छलफल भएको थियो ।