Check Mail Feedback

ब्रेल पुस्तकको लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ, नेपाल नेत्रहीन संघसँगको सहकार्यमा नेपाल बालसाहित्य समाजले ‘मेरो गाउँको कथा’ शीर्षकको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन बालबालिकाहरूका ‘सुन्दर आशाहरू’का बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । साउन ९ गते गुरुपूर्णिमाका अवसरमा आयोजित वेभिनारमा विशेषत: दृष्टिविहीन बालबालिकाका लागि तयार पारिएको ब्रेल पुस्तक लोकार्पण तथा दृष्टिविहीन र दृष्टियुक्तबिच एकअर्कामा कस्ता आशाहरू रहेका हुन्छन् ? उनीहरूले समाजलाई कसरी हेरेका हुन्छन् भन्ने विषयमा अन्तरक्रिया भएको थियो ।

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बुको प्रमुख आथित्यमा सम्पन्न यस कार्यक्रममा विशेष व्यक्तित्वका रूपमा समाजका संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धु रहनुभएको थियो । समाजका कार्यसमिति सदस्य उद्‌धव प्याकुरेलले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यसमिति सदस्य सजनी नौबागेले लोकार्पित पुस्तकका बारेमा प्रकाश पार्नुभएको थियो । यशु श्रेष्ठले संयोजन तथा सम्पादन गरी नेबासासबाट प्रकाशित यस पुस्तकका प्रधान सम्पादक प्रा.डा. चूडामणि बन्धु तथा प्रा.डा. ध्रुवकुमार घिमिरे रहनुभएको छ भने ब्रेल लिपि सम्पादक नीरकुमार मगर रहनुभएको छ । यामदा परियोजनाअन्तर्गत प्रकाशित यस पुस्तकमा बाँके जिल्लाका चिडिमार, दोलखा जिल्लाका थामी र चितवन जिल्लाका चेपाङ जातिका लोककथा, लोकसंस्कार, लोकजीवन र आफ्ना कथाहरू रहेका छन् । प्रमुख अतिथि, सभाध्यक्ष तथा संस्थापक अध्यक्षले यस पुस्तकको लोकार्पण गर्नुभएपछि अन्तरक्रिया सुरु भएको थियो ।

अन्तरक्रियामा आफ्नो धारणा राख्नु हुँदै अल्पदृष्टियुक्त किशोरी मुना भट्टराईले गाउँघरका कथा यसरी ब्रेलमा पढ्न पाउनु ठुलो अवसर भएको बताउनुभयो । उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “सानो छँदा कथाहरू पढ्न मन लाग्थ्यो तर अक्षर देखिँदैन थियो । यस्ता ब्रेल पुस्तक एकदमै सिमित थिए अनि कताबाट पढ्न पाउनु ! आज यसरी कथा नै ब्रेल लिपिमा प्रकाशन भएको देखेर असाध्यै खुसी लागेको छ । अझै धेरै यस्ता पुस्तकहरू प्रकाशन हुँदै जाओस् । अब आउने पिँढीहरूलाई सजिलो हुँदै जाने छ ।”

त्यसैगरी मोरङ नेत्रहीन संघका निवर्तमान अध्यक्ष सावित्रा कोइरालाले नेबासासबाट यस्तो सराहनीय कार्य भएको थाहा पाउँदा असाध्यै खुसी लागेको र आउँदा दिनमा अझै फरक कथाहरूको पनि यस्ता पुस्तकहरू प्रकाशन होस् भन्ने चाहना राख्नुभयो । दृष्टिविहीन बालिका साहित्यकार कुसुम घिमिरेले साहित्य के हो, कसरी लेखिन्छ, कसरी प्रकाशन हुन्छ भनेर ब्रेल लिपिमा अध्ययन गर्न नपाएकोमा दु:ख लागेको, हचुवाको भरमा अलिअलि साहित्य लेख्दै प्रकाशनका लागि कोसिस गर्नु परेको, प्रकाशन गर्ने व्यवस्था पनि कसरी हुन्छ थाहा नपाएको भन्दै यस्ता विविध विषयहरूमा पनि दृष्टिविहीनहरूले पढ्न सक्ने सामग्री बन्नु पर्‍यो, प्रकाशन गर्ने बाटो बताइदिनु पर्‍यो र समान अवसर दिनुपर्‍यो भन्ने धारणा राख्नुभयो ।

संस्थापक अध्यक्ष प्रा. डा. ‌चूडामणि बन्धुले नेपालको संस्कृति र मिथकीय कथाहरू दृष्टिविहीन बालबालिकाहरूका लागि यसरी प्रकाशन हुनु अत्यन्त्यै महत्वपूर्ण र एउटा ऐतिहासिक काम भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा यसको निरन्तरताको शुभकामना दिनुभयो ।

प्रमुख अतिथि नरबहादुर लिम्बुले सरकारले दिने पाठ्यपुस्तक नै दृष्टिविहीन बालबालिकामा माझ पुग्न नसकेको, यसका लागि सङ्घर्ष गरिरहनु परेकोमा यसरी दुर्गम स्थान र विभिन्न जिल्लामै पुगेर स्थालगत अवलोकन गरी विभिन्न जातजातिका संस्कृति, लोकजीवनलाई कथा बनाई ब्रेल पुस्तक प्रकाशन हुनु असाध्यै सुखद पक्ष रहेको र यसले दृष्टिविहीन बालबालिकाहरू असाध्यै खुसी हुने कुरा बताउनुभयो । यस्ता सामग्रीहरूको असाध्यै खाँचो रहेको र यसतर्फ सबैले सोच्नु पर्ने कुरामा जोड दिनुभयो । नेबासासका महासचिव यशु श्रेष्ठले कार्यक्रम संचालन गर्दै भित्री मनले देख्नेहरूका लागि यस्ता धेरै कामहरू गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. कपिलदेव लामिछाने, ललिता दोषी, भुवन राईलगायतले आफ्ना धारणा राख्नुभएको थियो । समाजका कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो भने नेबासासले यस्ता योजनाहरू सोचिरहेको, ब्रेल र यसका विविध आयामहरूमा केही कामहरू पनि भइरहेको जानकारी दिँदै सभाध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले विसर्जन गर्नुभएको थियो ।