Check Mail Feedback

कार्यक्रम-अनलाइन बालसाहित्य- कहाँ र कसरी

राष्ट्रिय बालपुस्तक दिवसका अवसरमा

श्रीपञ्चमीलाई अक्षराम्भको दिन भनेर लिइन्छ । धेरै बालबालिकाको अक्षर चिनारी वा विद्यालय आरम्भ वा औपचारिक पढाइ यसै दिनबाट सुरुवात गरिन्छ । यस दिनलाई नै “राष्ट्रिय बालपुस्तक दिवस”का रूपमा भव्यताका साथ देशभर मनाउने परम्परा पछिल्लो समय बढेर गएको छ । नेबासासले पनि “राष्ट्रिय बालपुस्तक दिवस”का अवसरमा वर्षेनी केही न केही कार्यक्रमहरू गर्दै आइरहेको छ ।

“राष्ट्रिय बालपुस्तक दिवस” २०७९ का अवसरमा नेबासासले “अनलाइन बालसाहित्य –कहाँ र कसरी” विषयक एक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । नवसर्जक साहित्य चौतारीसँगको सहकार्यमा भएको यस कार्यक्रममा रुम टु रिड, द एसिया फाउन्डेन तथा एड्राडका प्रतिनिधिहरू क्रमश: विपिन सोडारी, समिरा राजभण्डारी र वीरेन्द्रराज पोखरेलले अनलाइन बालसाहित्यका कहाँ कहाँ पढ्न पाइन्छ ? कसरी कसरी पढ्ने ? यसको आवश्यकता किन जस्ता विषयमा जानकारी गराउँदै प्रस्तुति गर्नुभएको थियो । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेबासासका संस्थापक अध्यक्ष प्रा. डा. चूडामणि बन्धु विशेष व्यक्तित्व रहनुभएको यस कार्यक्रमलाई अनलाइन बालसाहित्यका बारेमा बताउँदै समाजका महासचिव यशु श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

२०७९ माघ १३ गते शुक्रबार भएको यस कार्यक्रमका नेबासास कार्यसमिति सदस्यहरू मञ्जु ज्ञवाली, शान्ति सापकोटा र सुशीला प्रधानाङ्गले बालकविता सुनाउनुभएको थियो भने सजनी नौवागेले बालकथा वाचन गर्नुभएको थियो । सहभागी बालबालिकाहरूमध्ये साकार नेपाल, अनुष्का ज्ञवाली, प्रेरक गौतम, आँचल अधिकारी, जोशिका कँडेल, रुविकुमारी गुप्तालगायतले बालरचनाहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नवसर्जक साहित्य चौतारीका परिकल्पनाकार/संरक्षक दीपक गौतम र चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँले मन्तव्य राख्नुभएको थियो ।