Check Mail Feedback

आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा बालकविता प्रशिक्षण

आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । नेपाल बालसाहित्य समाजले पनि भानुभक्तको जन्मजयन्तीलाई “बालकविता प्रशिक्षण” कार्यकम गरेर मनाएको छ । बालबालिकाको संस्था ‘नवसर्जक साहित्य चौतारी’सँगको सहकार्यमा  भर्चुअलमाध्यमबाट भएको यस प्रशिक्षण कार्यक्रमको सभापतित्व नेबासासका अध्यक्ष प्रा.डा. ध्रवकुमार घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सुन्दर संचालन संस्थाका महासचिव यशु श्रेष्ठले गर्नुभएको थियो । उहाँले अबको एक महिनापछि पुनः यस्तै कार्यक्रम गरी आज प्रशिक्षण गरिएका छन्दहरूबाट भाइबहिनीहरूले लेखेका कविताहरू सुन्ने/सुनाउने कार्यक्रम पनि गरिने छ भन्ने जानकारी पनि दिनुभएको थियो ।

सभाध्यक्षले आदिकवि भानुभक्तको रामायणलाई लाेकले के कस्ता लयमा गाउने गरेका छन् भनी नमुना प्रस्तुत गर्दै सुरुवात गर्नुभएको यस कार्यक्रममा १०० जनाभन्दा बढी बालबालिका, शिक्षक, अभिभावक, बालसाहित्य सर्जक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । प्रशिक्षकहरूमा डा. देवी नेपाल, सीता सुवेदी पन्थी तथा शान्ति सापकोटा रहनुभएको थियो । डा. देवी नेपालले बालोरीलगायतका बाल लोकलय, सीता सुवेदी पन्थीले सेलो र शान्ति सापकोटाले झ्याउरे लयमा बालकविता लेखन प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा बालबालिकाहरूको सहभागिता रहर लाग्दो थियो । बालबालिकाहरू अत्यन्त रोचक र रमाइलो मान्दै सहभागी भएका थिए ।

नवसर्जक साहित्य चौतारीका अध्यक्ष प्रशन्ना अधिकारीले यस्तो सुन्दर कार्यक्रममा आफू पनि सहभागी हुन पाएको र बालबालिकाहरूलाई प्रशिक्षण दिएर उत्साह र हौसला प्रदान गरेकोमा कार्यक्रम आयोजकलाई बधाई दिँदै धन्यवाद ज्ञापनसमेत गर्नुभएको थियो । उहाँले साथी तथा भाइबहिनीहरूलगायत सबैलाई बालकविता लेखनमा निरन्तर लागिरहन सुझाव पनि दिनुभयो । त्यस्तै चौतारीका सदस्य आकृति भण्डारीले आफूले सवाई, झ्याउरे र बालोरी बाल लोकलयको सुत्रमा ढालेर कविता लेख्न/सिक्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै कार्यक्रम अत्यन्त फलदायी र प्रभावकारी रहेको बनाउनुभएको थियो ।

सर्जक सुशीला प्रधानाङ्गले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भानुभक्तका बारेमा लेखिएको कविता वाचन गर्नुभएको थियो भने कवि रमेशचन्द्र घिमिरेले भानुभक्त र घाँसी कविता वाचन गर्नुभएको थियो । कार्यक्रम भव्य र सभ्य भएकोमा सबैप्रति आभार र धन्यवाद व्यक्त गर्दै, सभापति ध्रुवकुमार घिमिरेले ‘भोलाको झोला’ कविता सुनाउँदै कार्यक्रमकलाई विट मार्नुभएको थियो ।