किशोर पाठक र किशोर साहित्य
अन्तरक्रिया कार्यक्रम
श्रीपञ्चमीलाई अक्षराम्भको दिन भनेर लिइन्छ । धेरै बालबालिकाको अक्षर चिनारी वा विद्यालय आरम्भ वा औपचारिक पढाइ यसै दिनबाट सुरुवात गरिन्छ । यस दिनलाई नै “राष्ट्रिय बालपुस्तक दिवस”का रूपमा भव्यताका साथ देशभर मनाउने परम्परा पछिल्लो समय बढेर गएको छ । नेबासासले पनि “राष्ट्रिय बालपुस्तक दिवस”का अवसरमा वर्षेनी केही न केही कार्यक्रमहरू गर्दै आइरहेको छ ।
“राष्ट्रिय बालपुस्तक दिवस” २०७८ का अवसरमा नेबासासले “किशोर पाठक र किशोर साहित्य” विषयक एक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । नवसर्जक साहित्य चौतारी, बालवाङ्मय तथा अनुसन्धान केन्द्र तथा कथावाचक समाजसँगको सहकार्यमा २०७८ माघ २३ गते यस कार्यक्रम सम्पन्न भएको थियो । दुई किशोर पुस्तक “सेकुवा” र “फेक आइ डि” माथिका चर्चासहित किशोर साहित्य बारेमा चर्चापरिचर्चा भएको थियो । “सेकुवा” उपन्यसाका लेखक कृष्णदीप सग्देल र “फेक आइ डि” किशोर कथासङ्ग्रका लेखक मन्जु ज्ञवालीले आआफ्ना पुस्तकका लेखनी उद्देश्य, तरिका र रचनागर्भका बारेमा बताउनुका साथै किशोर साहित्यका बारेमा आफ्ना भनाइहरू राख्नुभएका थिए । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा भएको यस कार्यक्रमलाई कार्यसमिति सदस्य शान्ती सापकोटाले संचालन गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरूलाई नेबासासका कार्यसमिति सदस्य उद्धव प्याकुरेलले स्वागत गर्नुभएको थियो भने नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।