कोरोना अनुभव सङ्कलन कार्यक्रम
कोरोना महामारीका कारण विश्व त्राहिमाम् छ । २०१९ मा सुरु भएको यो महामारी कहिले मत्थर हुँदै त कहिले बेस्सरी फैलिने क्रम छाडेको छैन । यसले जनजीवनलाई असाध्यै नराम्रोसँग प्रभावित पारिरहेको छ । विद्यालयहरू बन्द छन् । बजार, यातायात, कार्यालयहरू बन्द छन् । यसले गर्दा देशको आर्थिक, समाजिक, शैक्षिक अवस्थहरू प्रभावित भएका छन् । कोरोना… कोरोना भन्दै यसै बसिरहेर पनि भएन । समयअनुसार चल्नु मानवीय हितको कुरा हो । यसैले वैज्ञानिकहरू यसको निराकरणमा लागिरहेका छन् । खोपको खोज र उत्पादन भइरहेको छ ।
नेपाल बालसाहित्य समाजले पनि अभिभावक, शिक्षक र बालबालिकाहरूमा कोरोना महामारीको कस्तो प्रभाव रह्यो । कसरी उनीहरूले यसलाई भोगे र कसरी सुरक्षित रहन सके वा कसरी सुरक्षित रहन सकिने रहेछ वा सुरक्षित रहन नसकेको अवस्थामा केकस्तो परिस्थिति आयो र आउँदोरहेछ भन्ने अनुभव सङ्कलन गरी यसलाई पुस्तकको रूपमा प्रकाशन गर्ने लक्ष्य राखी कोरोना अनुभव सङ्कलन गर्ने कार्य गरेको छ । हिमाल, पहाड, तराई, गाउँ र सहरका पाँच स्थानमा गएर त्यस स्थानका बालबालिका, शिक्षक र अभिभावकका अनुभवहरू सङ्कलन गर्ने कार्य सम्पन्न गरेको छ ।
आइबिबिवाईको यामदापरियोजनाअन्तर्गत गरिएको यो कार्यक्रमबाट महामारीमा शिक्षक, अभिभावक र बालबालिकासमक्ष पुगेर उनीहरूका कुराहरू सुनिने, अनुभव सङ्कलन पनि हुने, सकेसम्मका सचेतनाका सुझावहरू पस्कन सकिने र सङ्कलित अनुभवलाई पुस्तकका रूपमा प्रकाशित गर्दा पछिल्लो पिँढीलाईसमेत उपयोगी हुने आशा राखिएको छ । महामारी केही हदसम्म कमी भएको अवसरलाई प्रयोग गरी नेबासासका प्रतिनिधिहरू कोरोनाबाट बच्न सकिने मास्क, स्यानिटाइजर, सरसरफाइ र भौतिक दुरी जस्ता सुरक्षाका उपायहरूलाई अवलम्बन गर्दै कार्यक्षेत्रमा जानुभएको थियो । यसरी जानु हुने प्रतिनिधिहरूलाई नेबासासले धन्यवादसमेत व्यक्त गरेको छ ।
हिमाली जिल्लाअन्तर्गत रसुवा, पहाडी जिल्लाअन्तर्गत काभ्रे, तरायली जिल्लाअन्तर्गत कञ्चनपुर र रुपन्देही (कपिलवस्तु पनि) तथा सहरी जिल्लाअन्गर्तग ललितपुर जिल्लाका बालबालिका, शिक्षक र अभिभावकहरूसँग भेटेर अनुभव सङ्कलन कार्य गरिएको हो ।
२०७८ असार ३० र ३१ गते रुपन्देही (कपिलवस्तु पनि) जिल्ला भ्रमण गरी मञ्जु ज्ञवालीले अनुभव सङ्कलन गर्नुभएको थियो भने साउन ११ र ३२ गते ललितपुर जिल्ला भ्रमण गरी यशु श्रेष्ठले अनुभव सङ्कलन गर्नुभएको थियो । यसैगरी भदौ ४ गते काभ्रे जिल्ला भ्रमण गरी उद्धव प्याकुरेल, सुशीला प्रधानाङ्ग र सरिता मोक्तानले अनुभव सङ्कलन गर्नुभएको थियो भने भदौ २५ गते यशु श्रेष्ठ, सुशीला प्रधानाङ्ग र सजनी नौबागेले रसुवा जिल्ला भ्रमण गरी तथा भदौ २९, ३० र ३१ गते कञ्चनपुर जिल्ला भ्रमण गरी प्रा. डा. ध्रुवकुमार घिमिरे र यशु श्रेष्ठले अनुभव सङ्कलन कार्य गर्नुभएको थियो । विभिन्न विद्यालय र अभिभावकहरूसमक्ष पुगेर नेबासासले तयार गरेको प्रश्नावलीलाई आधार बनाई यी अनुभवहरू सङ्कलन गरिएको हो ।
कार्यक्षेत्रबाट फर्कनुभएका सङ्कलनकर्ताहरूले ती अनुभवहरू लेखी नेबासासलाई बुझाउने क्रम रहेको छ । सम्पादित अनुभवहरूलाई पाका र बालबालिकाका गरी दुई छुट्टाछुट्टै पुस्तक प्रकाशन गरिने छ । नेबासासले कोरोनाबाट सङ्क्रमित हुनुभएका आफ्ना सदस्यहरूको अनुवभ पनि सङ्कलन कार्य जारी राखेको र यी अनुभवलाई पनि यसै पुस्तकमा समावेश गरी प्रकाशन गर्ने छ ।