नयाँ कार्यसमितिलाई स्वागत
नेपाल बालसाहित्य समाजका नवकार्यसमितिलाई बालवाङ्मय तथा अनुसन्धान केन्द्रले स्वागत गरेको छ । केन्द्रले आफ्नो स्थापनाकालदेखि नै नेबासासका हरेक नयाँ कार्यसमितिलाई स्वागत गर्ने परम्परालाई निरन्तरता दिँदै यसपटक पनि यो कार्यक्रम आयोजना गरिएको हो । नेबासासको ०७७ माघ ३ गते सम्पन्न निर्वाचनमा प्रा.डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । नयाँ कार्यसमितिमा उपध्यक्ष प्रमोद प्रधान, महासचिव यशु श्रेष्ठ, सचिव डा. यादेवी ढकाल र कोषाध्यक्ष राजेन्द्रभक्त जोशी रहेका छन् भने कार्यसमिति सदस्यमा उद्धव प्याकुरेल, एकाराम सिं, मन्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे तथा सुशीला प्रधानाङ्ग रहेका छन् । प्रधान केन्द्रका अध्यक्ष पनि हुने भने सिं, ज्ञवाली र सापकोटा केन्द्रका पनि कार्यसमिति सदस्य हुन् । केन्द्रले माघ ०७७ फागुन ८ गते धापाखोल स्थित श्री जुगल मा.वि.मा यस कार्यक्रम आयोजना गरको थियो । कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, उपध्यक्ष प्रमोद प्रधान, सचिव डा. यादेवी ढकाल, कोषाध्यक्ष्य राजेन्द्रभक्त जोशी, सदस्यहरु एकाराम सिं, मन्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे तथा सुशीला प्रधानाङ्गको उपस्थिति रहेको थियो । समाजका नवनिर्वाचित कार्यसमितिलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले टीका लगाएर तथा केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा केन्द्रका उपाध्यक्ष आचार्यले समाजले मातृसंस्थाको भूमिका निभाउन सक्नुपर्ने उल्लेख गर्दै नबाझिने खालका कार्यक्रममा सहकार्य गर्न तयार रहेको वचन दिए । यसै गरी केन्द्रका सदस्य अनन्त वाग्लेले दुवै संस्थासहित अन्य संस्थाहरुसँग पनि सहकार्य गरेर काम गर्न सकिने कुरा बताउनुभएको थियो । सम्मानपछि समाजका अध्यक्ष घिमिरेले आफूहरु केन्द्रसँग सहकार्य गर्न सदैव तयार रहेको बताए। समाजले जिल्लाजिल्लामा कार्य विस्तार गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसमा केन्द्रको पनि सहयोगको जरुरी हुने बताए ।