नेबासासमा तीन बालकृति लोकार्पण
काठमाडौँ, सर्जकहरू वसुश्री पाण्डे, लक्ष्मी उप्रेती तथा निर्मलाकुमारी बरालको क्रमश: बालएकाङ्की ‘प्रभाव’, बालएकाङ्की ‘हजुरआमाको माया’ र सचित्र कथा ‘जङ्गलको कथा’ यही २०७९ पुस ०६ गतेका दिन नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको सभापतित्व तथा सर्जक रञ्जुश्री पराजुलीको प्रमुख आतिथ्यतामा लोकार्पण भएको छ ।
तीन बालसाहित्य सर्जकका तीन बालकृतिहरू नेपाल बालासहित्य समाजको कार्यालयम एक समारोहका बिच लोकार्पण गरिएको हो । नेबासासका पूर्वअध्यक्ष तेजप्रकाश श्रेष्ठ, सर्जक विन्दु सुवेदी, सर्जक छायादत्त न्यौपानेसहितको विशिष्ट आतिथ्य रहेको यस कार्यक्रमलाई नेबासासका महासचिव यशु श्रेष्ठले संचालन गर्नुभएको थियो भने महासचिव श्रेष्ठले तीन कृतिका बारेमा पनि प्रकाश पार्नुभएको थियो । लोकार्पित बालपुस्तकका सर्जक लक्ष्मी उप्रेतीले नेपाली बालसाहित्यको उन्नयन र प्रवर्धन तथा सिर्जनशीलता विकासका लागि समर्पित ऐतिहासिक संस्थामा यसरी आफ्ना बालपुस्तक लोकार्पण गर्न पाउँदा असाध्यै खुसी लागेको कुरा बताउनुभयो । लोकार्पित बालपुस्तकका अर्का सर्जक निर्मलाकुमारी बरालले आफ्ना लेखनीका बारेमा पनि बताउनुभएको थियो । लोकार्पित पुस्तकका एक सर्जक वसुश्री पाण्डे भने अस्वस्थताका कारण उपस्थित हुन सक्नुभएको थिएन ।
प्रमुख अतिथि रञ्जुश्री पराजुलीले नेबासाससँगको आफ्ना पुरानो सम्बन्ध सम्झदै आजीवन सदस्य बन्दाको घटनासमेत सुनाउनुभएको थियो । यसरी तीन बालकृति प्रकाशन गरी नेपाली बालसाहित्यको भन्डार ठुलो बनाउन लागिपरेका सर्जक तथा प्रकाशकलाई धन्यवाद दिँदै बालसाहित्यको कृति लोकार्पण गर्न पाउँदा असाध्यै गर्व महसुस भएको कुरा व्यक्त गर्नुभएको थियो । सभाका सभापति नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले बालसाहित्यमा गुणस्तरलाई ध्यान दिनु जरूरी छ भन्दै नेबासासको कार्यालयमा यसरी तीन कृति लोकार्पण गर्न पाउनु खुसीको कुरा रहेको र यसअघि यसरी लोकार्पण भएको स्मरण नभएको भन्दै नेबासासको इतिहास पनि सम्झनुभयो ।
नेबासासका सचिव डा. यादेवी ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा नेबासासका कार्यसमिति सदस्यहरू उद्धव प्याकुरेल, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे तथा सुशीला प्रधानाङ्गसहित बालसाहित्य सर्जकहरू ललिता दोषी, रश्मि रिमाल,शान्ता तिम्सिना, प्रदीप बराल, सरिता मोक्तान, दीपककिरण श्रेष्ठ, लालबहादुर भुजेललगायतको सहभागिता रहेको थियो ।