Check Mail Feedback

प्रारम्भिक बालसाहित्य र जयपृथ्वीबहादुर सिंह परिचर्चा

जयपृथ्वीबहादुरको १४५ औँ जन्मजयन्तीको अवसरमा

जयपृथ्वीबहादुर सिंहलाई हामी राष्ट्रिय शिक्षाका जनक, शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व, शिक्षासेवी, बालसाहित्यका सूत्रधार, एक मानवतावादी व्यक्तिको रूपमा चिन्दछौँ । उनको योगदान नेपाली समाजका लागि अतुलनीय छ । बेलायतीहरू भन्दथे, ‘जयपृथ्वीबहादुर दोस्रा बुद्ध हुन् ।’ आफ्ना राजकाज छाडेर, सारा सम्पत्ती जनताका नाममा गरिदिई सम्पूर्ण जीवन नै मानवता र शिक्षाका लागि समर्पण गर्ने एक महान् मानव हुन् जयपृथ्वीबहादुर । बालबालिकाहरुलाई कसरी असल शिक्षा दिन सकिन्छ ? कसरी पाठशालाहरुको स्थापना गर्न सकिन्छ ? पाठशालाका लागि आवश्यक पुस्तकहरु कसरी लेख्न र प्रकाशनसमेत गर्न सकिन्छ भनेर सोच्ने मात्र होइन, कार्यान्वयन नै गर्ने एक दूरदर्शी शिक्षासेवी तथा बालपुस्तकहरुका सर्जक बझाङी राजा जयपृथ्वीबहादुरको १४५ औँ जन्मजयन्ती प्रारम्भिक बालसाहित्य र जयपृथ्वीबहादुर सिंह” परिचर्चा गरी मनाइएको छ ।

नेपाल बालसाहित्य समाजको आयोजनामा यही भाद्र ०७ गते वेभिनारमार्फत भएको यस परिचर्चा कार्यक्रममा नेबासासका आजीवन सदस्य एवं सर्जक रामदेव पाण्डे तथा जयपृथ्वीबहादुर क्याम्पसमा प्राध्यापक लालबहादुर बोहोराले आआफ्नातर्फबाट परिचर्चा–पत्र प्रस्तुत गर्नुभएको थियो । नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको सभाध्यक्षमा भएको यस परिचर्चा कार्यक्रममा जयपृथ्वीको योगदान र मूल्याङ्कनको चर्चा गर्दै नेबासासका महासचिव यशु श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । सचिव डा.यादेवी ढकालले संचालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि मानववाद तथा जयपृथ्वीबहादुर फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले ‘अझै पनि हामीले जयपृथ्वीबहादुर सिंहलाई न्याय गर्न सकिरहेका छैनौँ । राष्ट्रिय विभूति घोषणाका लागि प्रयत्न गर्‍यौँ । पाठ्यपुस्तकमा स्थान दिन अनुरोध गर्‍यौँ तर उचित पहलकदमी भएन’ भन्दै उनको योगदान बिर्सन नहुनेमा जोेड दिनुभयो । बझाङीले उनको नाममा क्याम्पसदेखि एफ.एम.सम्म र नगरपालिकाको नामदेखि राजमार्गको नामसम्म जोडेको कुरा पनि उहाँले स्मरण गर्नुभयो । नेबासासका संस्थापक सदस्य प्रा.डा.चूडामणि बन्धुले सिंहको योगदानका चर्चा गर्दै उनको योगदानलाई सम्पूर्ण नेपालीले सम्मान गर्नुपर्ने बताउनुभयो ।

उत्तम निरौला, विकास थापा, प्रविण चन्दा, खोलाघरे साइलालगायतले जयपृथ्वीको बहुआयामिक व्यक्तित्वलाई उचाल्ने गरी हामी नेपालीले उनलाई न्याय गर्नुपर्ने कुरा राख्नुभयो । जयपृथ्वी एफ.एम. ९६.३ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण भएको यस कार्यक्रममा योगदान दिने र उपस्थित सबैलाई नेबासासका उपाध्यक्ष प्रमोद प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।