Check Mail Feedback

सात शब्दविहीन चित्रकथा प्रकाशन

साना उमेर समूहका बालबालिकाहरू जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । चित्रमा रमाउँदै कल्पनामा हराउँछन् । कलम समाउने सिप सिक्न खोज्दै हुन्छन् । ती बालबालिकाहरू जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् तथा ती अभिभावकहरू जसले बालबालिकाहरूका लागि सिर्जना गरिदिन, कथावाचन गरिदिन मन पराउनु हुन्छ, उनीहरूका लागि लक्षित गरेर इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आइबिबिवाइ) को नेपाल सेक्सन र  नेपाल बालसाहित्य समाजको तत्त्वावधानमा शब्दविहीन चित्रकथा लेखनको दुई दिने कार्यशाला आयोजना गरिएको थियो । २०७४ भाद्र २२ र २३ गते संचालित उक्त कार्यशालामा नेपालका वरिष्ठ चित्रकार एवं बालसाहित्य सर्जकहरूका साथै नवोदित चित्रकारहरूको सहभागिता रहेको थियो । समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रा.डा. चूडामणि बन्धु, वरिष्ठ चित्रकार श्री के.के. कर्माचार्य एवं समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठको अगुवाइमा उक्त कार्यशाला सम्पन्न भएको थियो । कार्यशालामा वरिष्ठ चित्रकार अशोकमान सिंह एवं एकाराम सिंले चित्राङ्कनका पक्षमा सहभागीहरूलाई प्रशिक्षण दिनु भएको थियो भने समाजका कार्यसमिति सदस्य डा. ध्रुवकुमार घिमिरे, सचिव श्री यशु श्रेष्ठले शब्दविहीन चित्रकथा लेखनका अनुभव र प्रकृया बारेमा प्रकाश पार्नुभएको थियो । कार्यशालामा नेबासासका सल्लाहकार प्रा. रामकुमार पाँडे, उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, कोषाध्यक्ष राजेन्द्रभक्त जोशी, कार्यसमिति सदस्य श्री विजयराज आचार्यसमेतको सव्रिmय सहभागिता रहेको थियो ।

सहभागीहरूबाट तयार पारिएका करिब एक दर्जन शब्दविहीन चित्रकथाका पुस्तकहरू आवश्यक परिमार्जन र साजसज्जासहित २०७४ साल माघ महिनाभित्र प्रकाशन गरिसक्ने योजना रहेको थियो । तर, यसको प्रकृया अघि बढ्न सकिरहेको थिएन । विविध कारणले अघि बढ्न नसकेको यस परियोजनालाई डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षता रहेको कार्यसमितिले पूरा गरी सातवटा शब्दविहीन चित्रकथालाई प्रकाशनमा ल्याएको छ ।

यी पुस्तकहरूमा शब्द छैनन् । सम्पूर्ण कथालाई चित्रका माध्यमबाट भनिएको छ । जुनसुकै भाषाभाषीका बालबालिका÷शिक्षक÷अभिभावकहरूले यसलाई आफ्नै भाषामा बुझ्न, अर्थ लगाउने, कथा भन्न सक्दछन् । नेपाली बालसाहित्यमा शब्दविहीन चित्रकथाका पुस्तकहरू कमै छापिएका छन् । यही कमीलाई दृष्टिगत गरी नेबासासले प्रकाशनमा ल्याएका सात चित्रपुस्तकका सर्जक र सम्पादहरू यसप्रकार रहेका छन्ः

 

 क्र.सं. – पुस्तकको नाम  – चित्र – कथा – सम्पादक

१.     खुसी खरायो- ध्रुव प्रजापति -जयप्रसाद लम्साल – यशु श्रेष्ठ

२.      चङ्गा- रमेश डंगोल- तेजप्रकाश श्रेष्ठ- डा. शैलेन्दुप्रकाश नेपाल

३.    टायर -अनामिका गौतम-यशु श्रेष्ठ-तेजप्रकाश श्रेष्ठ

४.  नेपाल र यती-   देव कोइमी- रामकुमार पाँडे-   प्रा.डा. ध्रुवकुमार घिमिरे

५.  माया सबैमा-    एकाराम सिं -एकाराम सिं-डा. शैलेन्दुप्रकाश नेपाल

६.  मास्क     – देव कोइमी-    प्रा.डा. ध्रुवकुमार घिमिरे-प्रमोद प्रधान

७.  मेलामा मिलन-  विनिता बुद्धाचार्य- राजेन्द्रभक्त जोशी-यशु श्रेष्ठ