Check Mail Feedback

मेरो रातो : संसारको अस्तित्व

नेपाली कतिपय संकारमा महिनावारी हुनुलाई असाध्यै नराम्रो दृष्टिकोणबाट हेरिन्छ । नछुनी भएको, पर सरेको, पन्छेको भन्ने जस्ता शब्दहरूले नै यसलाई कसरी हेरिन्छ भन्ने कुरा प्रष्ट हुन्छ । अझ पहिलो पटक महिनावारी हुँदा त किशोरीहरूले अनेक तनाव बेहोर्नुपर्छ । यही विषयलाई उठान गर्दै नेपाल बालसाहित्य समाजले युनएडिपीको आर्थिक सहयोगमा सातै प्रदेशका किशोरीहरूलाई काठमाडौँमा आमन्त्रण गरेर एक कार्यशाला आयोजना गरेको थियो । एक प्रदेशबाट दुई जना किशोरीहरू समावेशीताको आधारमा एक जिल्लाबाट एक जना हुने गरी प्रतिनिधित्व गराइएको थियो ।

महिनावारी बारेमा जानकारी दिनु, सिर्जनशीलताको विकास गर्दै यसका लागि स्थानीय स्तरमा  एक संवाहक प्रतिनिधि तयार गर्नु, समाजमा भएका कुरीतिहरू विरुद्ध बोल्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने किशोरी तयार गर्नु यस कार्यक्रमको मूख्य उद्देश्य थियो । यस उद्देश्यलाई पूरा गर्न प्रदेश १ बाट प्रमिला पुर्कुटी (उदयपुर) र विनिता सतार (मोरङ), मधेस प्रदेशबाट निशा जयसवाल (रौतहट) र विद्य झा (धनुषा), बाग्मती प्रदेशबाट आँचल श्रेष्ठ (ललितपुर) र निर्मला माझी (सिन्धुली), गण्डकी प्रदेशबाट तैवा बानु (स्याङ्जा) र इभान (कास्की), लुम्बिनी प्रदेशबाट सीता हरिजन (रुपन्देही) र सक्रुन निशा (कपिलवस्तु), कर्णाली प्रदेशबाट कामना शाही (हुम्ला) र पार्वती देवकोटा (कालिकोट) तथा सुदूर पश्चिम प्रदेशबाट बसन्ती कुँवर (दार्चुला) र  (आयुष्मा पन्त) कन्चनपुरलाई प्रतिनिधिका रूपमा काठमाडौँ बोलाइएको थियो । काठमाडौँको एअरपोर्टस्थित एअरपोर्ट होटलमा मिति २०७८ फागुन १९ देखि २१ सम्म भएको यस कार्यशालामा ध्रुव घिमिरे, सुमनराज ताम्राकार, राधा पौडेल, सुधा घिमिरे, लक्ष्मी अर्याल, सुनिता मैनाली र कृष्णदीप सिग्देलले प्रशिक्षण दिनुभएको थियो । आवासीय यस कार्यशालामा १४ जना किशोरीहरूले पहिलो महिनावारीसँग सम्बन्धित रहेर १४ वटा संस्मराणात्मक कथा लेखेका थिए । नेबासासका महासचिव यशु श्रेष्ठको संयोजनमा भएको यस कार्यशालाको आर्थिक संयोजन नेबासासका कोषाध्यक्ष राजेन्द्रभक्त जोशीले गर्नुभएको थियो ।

नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको नेबासासको स्थापना र उद्देश्यसहितको मन्तव्यबाट साधारण औपचारिक कार्यक्रमबाट प्रारम्भ भएको कार्यशालामा किशोरीहरूले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्दै अनुभवहरू आदानप्रदान गरेका थिए । उनीहरूले स्थानीय साधन र स्रोतबाट महिनावारी प्याड बनाउन सिक्नेदेखि महिनावारीले आफूमा आएका स्वास्थ्य समस्याहरूमाथि पनि छलफल गरेका थिए । समापन समारोहमा युनएडिपीका प्रतिनिधि इल्भिस लन्डवर्गले यस्तो समावेशीतासहितको उत्साहजनक कार्यक्रममा भाग लिन पाउँदा खुसी लागेको र आगामी दिनहरूमा सहयोग गर्न सधैँ तयार भएको कुरा राख्नुभएको थियो । कार्यक्रममा प्रमोद प्रधान, उद्दव प्याकुरेल, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे र सुशीला प्रधानाङ्गको पनि उपस्थिति रहेको थियो ।

यसै कार्यक्रममा १४ किशोरीहरूले लेखेका १४ वटा कथालाई सम्पादन गर्दै ‘पहिलो महिना’ पुस्तक प्रकाशन गरियो । प्रा. डा. ध्रुवकुमार घिमिरे तथा यशु श्रेष्ठको संयोजन/सम्पादन, प्रमोद प्रधानको भाषा सम्पादन, उद्दव प्याकुरेल, मञ्जु ज्ञवाली, शान्तिराजेन्द्रभक्त जोशी, सापकोटा, सजनी नौबागे र सुशीला प्रधानाङ्ग रहेको सम्पादन समूहको प्रयासमा ‘पहिलो महिना’ तयार भएको थियो । यी १४ वटा कथामा प्रज्वल थापा मगर, विनिता बुद्धाचार्य, सुनिता रोक्का, प्रकाश रञ्जित, सुनिल थापा, राजकुमार प्रजापति, रमिला महर्जन, रमेश डंगोल, उजेली सुनार, अनामिका गौतम, नम्रता सिं, देव महर्जन, ध्रुव प्रजापति र देव कोइमीले चित्र बनाउनुभएको थियो । यस पुस्तकलाई २०७९ जेठ १४ गते भर्चुअल रूपमा विमोचन गरिएको थियो ।