Check Mail Feedback

लुइस ब्रेलको जन्मजयन्ती 

ब्रेल लिपिका जन्मदाता लुइस ब्रेलको जन्मजयन्तीमा मनाइने ‘अन्तराष्ट्रिय ब्रेल दिवस’का अवसरमा ‘पहुँचयुक्त पुस्तक र लुइस ब्रेल’ कार्यक्रम आयोजना गरिएको थियो । भर्चुअल रूपमा भएको उक्त कार्यक्रमको अध्यक्षता रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन रिड नेपालकी सुस्मिता लामाले गर्नुभएको थियो । कार्यक्रममा रिड ग्लोबलको सहयोगमा रिड नेपाल, नेबासास र एड्राडको संयुक्त प्रयासमा तयार भएको ग्लोबल डिजिटल लाइब्रेरीमा भएका १०० पुस्तकको अनुवाद र सोही १०० पुस्तकबाट दृष्टिविहीन बालबालिकाका लागि तयार पारिएका पहुँचयुक्त पुस्तकका बारेमा छलफल पनि भएको थियो । यी पुस्तक कसरी तयार भए र कस्तो भयो भन्ने कुराको प्रदर्शनसमेत गरिएको थियो ।

कार्यक्रममा रिड ग्लोबलका सञ्जना श्रेष्ठ, नेपाल सरकार विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका सहसचिव यादवचन्द्र निरौला, पाठ्यक्रम विकास केन्द्रका अनिल मिश्र, युनेस्को बैङ्कक, राष्ट्रिय अपाङ्ग महासंघ, ग्लोबल डिजिटल लाइब्रेरी, एड्राडलगायताका संस्थाहरूको प्रतिनिधित्व रहेको थियो ।

रिड नेपाल, नेपाल बालसाहित्य समाज तथा एड्राडद्वारा २०७८ पुष २० गते भएको यस कार्यक्रममा नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले रिड नेपाल, नेबासास र एड्राडले तयार पारेका १०० पहुँचयुक्त पुस्तकसहित नेबासासका बारेमा मन्तव्य राख्नुभएको थियो ।