Check Mail Feedback

२३ औँ साधारण सभा सम्पन्न

नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा आफ्नो २३ औँ साधारण सभा गरेको हो । २०७५ भाद्र २३ गते काठमाडौँमा सम्पन्न साधारण सभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रा.डा. चूडामणि बन्धु, सल्लाहकार तथा पूर्व अध्यक्षहरु श्री विश्वम्भर चञ्चल, श्री भिक्टर प्रधान, श्री तेजप्रकाश श्रेष्ठ साथै सल्लाहकार तथा संस्थापक उपाध्यक्ष प्रा. रामकुमार पाँडको न्यानो आथित्यता रहेको थियो ।
नेबासासका अग्रज सदस्यहरुलाई सम्मान गर्ने समाजको उद्देश्यलाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रमको पहिलो सत्रमा नेबासासका अग्रज सदस्यहरु बालसाहित्य सर्जक श्री गोपाल पराजुली, पुस्तकालय विशेषज्ञ श्री भोला श्रेष्ठ र सर्जक श्री हिरण्यकुमारी पाठकलाई सम्मान गरिएको थियो । तर बालसाहित्य सर्जक श्री गोपाल पराजुली देशबाहिर रहनु भएका कारण उहाँलाई प्रत्यक्ष रूपमा सम्पान प्रदान गर्न भने सकिएन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष श्री प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
नेबासासका सदस्यहरुलाई हालसम्म सदस्यताको प्रमाणपत्र र परिचय पत्र प्रदान नगरिएको अवस्थामा यसै साधारण सभाको पहिलो सत्रमा समाजका सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण पत्रसमेत वितरण गरिएको थियो । यस सभामा छुट्नु भएका सदस्य महानुभावहरुका प्रमाण पत्र नेबासासको कार्यालयमा सुरक्षित रहने र उहाँहरुले कार्यालयबाटै आफ्नो प्रमाणपत्र लिन सक्नुहुने जानकारी सभाका संचालक सचिव यशु श्रेष्ठले दिनुभयो । यस सत्रमा नेबासासका महासचिव डा. धु्रवकुमार घिमिरेद्वारा लिखित ‘बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य’ पुस्तक लोकार्पण गरिएको थियो । लोकार्पित पुस्तक बारेमा समाजका कार्यसमिति सदस्य डा. ऋषिराम शर्माले बोल्नुभएको थियो । यसैगरी समाजका आजीवन सदस्य श्री विनय कसजूले नेबासासका लागि ५ बुँदे प्रस्ताव पत्र प्रस्तुत गर्नुभएको थियो ।
सभाको माइन्युटमा प्रमाणीकरण हस्ताक्षरका लागि आजीवन सदस्यद्वय श्री कार्तिकेय घिमिरे र श्री गङ्गा पौडेललाई तोक्दै सभाको दोस्रो सत्र सुरुवात भएको थियो । महासचिव डा. ध्रुवकुमार घिमिरेले तीन बुँदे विशेष प्रस्तावसहित महासचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नेबासासको आ.व. २०७४÷७५ को आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदनमाथि गहन छलफल हुँदै पारित भएको थियो ।
सभामा बोल्दै आजीवन सदस्य सुवर्णराम जोशीले समाज अब राष्ट्रिय योजना आयोगसम्म पुग्नु पर्ने बताउनु भएको थियो भने सम्मानित व्यक्तित्व तथा पुस्तकालय विशेषज्ञ श्री भोला श्रेष्ठले राष्ट्रिय बालपुस्तकालय निर्माणमा पहल कदमी भइरहेको र यसमा बालसाहित्य समाजले पनि चासो लिएर अघि बढ्नु पर्ने सल्लाह दिनुभएको थियो । समाजका संस्थापक अक्ष्यक्ष प्रा.डा. चूडामणि बन्धुले समाजमा धेरै सदस्य भए पनि सदस्यहरु निष्क्रिय रहनाले समाजले जति गति लिनु पर्ने हो, त्यो लिन नसकेको बताउँदै अब सक्रिय सदस्यहरुको छुट्टै सूची बनाएर उनीहरुलाई जिम्मेबारी दिनु पर्ने सुझाव व्यक्त गर्नुभएको थियो ।
सभाको अन्त्यमा कार्यसमिति सदस्य श्री एकाराम सिंले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने सभालाई सम्बोधन गर्दै सभापति डा. शैलेन्दुप्रकाश नेपालले सभा समापन भएको घोषण गर्नु भएको थियो ।