Check Mail Feedback

२४ औँ साधारणसभा सम्पन्न

२४ औँ साधारणसभा सम्पन्न
नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा आफ्नो २४ औँ साधारण सभा गरेको हो । २०७५ भाद्र २८ गते काठमाडौँमा सम्पन्न साधारणसभाको पहिलो सत्र ‘सम्मान समारोह’मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री के.के. कर्मचार्य प्रमुख व्यक्तित्वमा रहनुभएको थियो । संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रा.डा. चूडामणि बन्धु, सल्लाहकार तथा पूर्व अध्यक्षहरु श्री विश्वम्भर चञ्चल र श्री तेजप्रकाश श्रेष्ठको न्यानो आथित्यता रहेको थियो ।
नेबासासका अग्रज सदस्यहरुलाई सम्मान गर्ने समाजको उद्देश्यलाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रमको पहिलो सत्रमा नेबासासका अग्रज सदस्यहरु बालसाहित्य सर्जक प्रा. गोपिकृष्ण शर्मा, डा. तीर्थबहादुर श्रेष्ठ र सर्जक श्री रञ्जुश्री पराजुलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष श्री प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरुका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालक सचिव यशु श्रेष्ठले गर्नुभएको थियो ।
सभाको माइन्युटमा प्रमाणीकरण हस्ताक्षरका लागि आजीवन सदस्यद्वय श्री छायादत्त न्यौपाने र श्री सीता सुवेदी पन्थीलाई तोक्दै सभाको दोस्रो सत्र सुरुवात भएको थियो । महासचिव प्रा. डा. ध्रुवकुमार घिमिरेले आर्थिक सबलीकरणको विशेष प्रस्तावसहित महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेबासासको आ.व. २०७५÷७६ को आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदनमाथि गहन छलफल हुँदै पारित भएको थियो ।
सभामा बोल्दै आजीवन सदस्य श्री रामदेव पाण्डेले नेपाल बालसाहित्य समाजले बालपुस्तक मेलातर्फ पनि ध्यानु दिनुपर्ने कुरा राख्नुभयो भने श्री कृष्णदीप सिग्देलले संस्था सोचेअनुरूप सक्रिय हुन नसकेको गुनासो राख्नुभएको थियो । सभामा श्री भोला श्रेष्ठ, श्री कार्तिकेय घिमिरे, श्री छायादत्त न्यौपाने, श्री ज्ञाननिष्ठ ज्ञवाली, श्री आनन्दप्रकाश नेपाल, श्री जयराम लम्साललगायतले बोल्दै संस्थालाई सुझाव दिनुभएको थियो । उपस्थित सदस्यहरुले संस्थाको अक्षय कोष हुनु पर्ने, सुरु गरेका प्रोफाइल पुस्तक, विभिन्न विधाका बालपुस्तकहरुको योजनालाई छिटै मूर्त रूप दिनुपर्ने सुझाउ भएको थियो । सभा श्री मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय श्री कार्तिकेय घिमिरे र श्री प्रभा भट्टराईको तीन सदस्यीय निर्वाचन सभाको समेत गठन भएको थियो । अन्त्यमा सभालाई सम्बोधन गर्दै सभापति डा. शैलेन्दुप्रकाश नेपालले सभा समापन भएको घोषण गर्नुभएको थियो ।